ताजा अपडेट »

भारतीय वायु सेनाको बेपत्ता विमानको टुक्रा भेटियो

मंगलबार, २८ जेठ २०७६, १७ : २०
6 Shares

आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो ।

भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ । विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । यसमा रहेका यात्रुको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ । यो जहाजले गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाजको खोजी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसनको सहयोगमा भारतीय वायु सेनाको विमान सी–१३०, एएन–३२ एस, एमआई–१७ लगायत भारतीय स्थल सेनाको आधुनिक हेलिकप्टरमार्फत गरिएको थियो । 

यसअघि तीन वर्ष पहिले भारतीय वायु सेनाको एएन ३२ विमान पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए । त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन ।  त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।

-एजेन्सी

एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।