ताजा अपडेट »

कविता-डाहा

विहीबार, २२ माघ २०७७, १३ : ०४
86 Shares

छिमेकीको ठूलो घर, मनमा गड्यो ताजै
सयकडा तीन तिर्छु बरु, तला थप्छु आजै
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाईमात्रै, भन्ने गर आहा ।

उसका गाडी आंगनभरी, मेरो आगन रित्तै
पोल्छ मन लिफ्ट दिंदानी, जान्न भन्छु सित्तै
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाईमात्रै, भन्ने गर आहा ।

हिजो मात्रै मिल्ने साथी, राम्रो पोष्टमा गाको
मन थामेर हेरें मैलै, उसले सपथ खाको
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै, भन्ने गर आहा ।

ओहो तिम्रो कती धेरै, चल्ने व्यापार भाको
सबको देख्छु राम्रो मात्रै, मेरै चौपट भाको
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाईमात्रै, भन्ने गर आहा ।

ठूलो घरको छोरीसंग, उसको लगन जुर्यो
मेरो भागमा ससुराली, उही झुपडी पर्याे
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै, भन्ने गर आहा ।

डिस्टिनसनमा पास भयो रे, पल्लाघरको छोरो
तीन वर्ष भो दश कक्षामै, अल्झ्यो मेरो छारो
सक्दिन म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै, भन्ने गर आहा ।

मै राम्रो छु भन्ने पार्न, के के गरें सारा
म रैछुकी गलत भन्थे, सबको उही पारा
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा
सिको गर राम्रो कामको, भो नगर डाहा ।

दाजु–भाई नि सकिएन, संगै बस्न आज
मनमा विगार पलाईदिने, सम्पत्ति हो राज
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा
सिको गर राम्रो कामको, भो नगर डाहा ।

एउटै छाना, एउटै छाता ओत राम्रै थियो
दुष्ट मनको अहङ्कारले, दूरी बढाई दियो
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा
सिको गर राम्रो कामको,भो नगर डाहा ।

संगै मिली टेकेका ती, माटो फरक भयो
घुम्तीहरु नमिलेर, बाटो फरक भयो
तुस पालेर अरुमाथि,बन्नै पर्ने आहा
सिको गर राम्रो कामको, भो नगर डाहा।

एउटै थिए खेतका गरा, झुल्थ्यो रामै्र धान
एक आपसमा लडी मेट्यौ, आफ्नै शीरको शान
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा
सिको गर राम्रो कामको, भो नगर डाहा ।

निशान पनि फेल हुन्छ, आफ्नै ताक्न खोज्दा
फलपनि तितो हुन्छ, बे–मौसमी रोज्दा
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा
सिको गर राम्रो कामको, भो नगर डाहा ।

आत्मा शरीर बेग्लै हुन्छ, नपत्याए जांच
रीस राग त्यागी अब, सादा जीवन बाँच ।

https://www.globalaawaj.com/archives/72957
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।