ताजा अपडेट »

बुटवलका ९२ घरमा चल्यो डोजर, ‘अटेर गरे अन्य घरमा पनि डोजर चलाइने’

आइतबार, २६ पुस २०७७, १२ : २२
4 Shares

बुटवल । बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडक अन्र्तगत रहेका ९२ घरमा सडक विभागले डोजर चलाएको छ । चौराहादेखि चिडियाखोलासम्मका सडक मापदण्ड विपरितका ९२ घर–टहराहरुमा आइतबार बिहान डोजर लगाएर भत्काइको व्यापारीक सडक विस्तार आयोजना कार्यालय, मणिग्रामका प्रमुख जयलाल मरासिनीले बताए ।

‘चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनेका २५० घरहरु भत्काउनु पर्ने हो । आज भत्काइएका बाहेक अन्य ठाउँमा घर धनी स्वयम्ले नै भत्काउन लागेको हुनाले आजका लागि डोजर रोकेका छौँ ।’–मरासिनीले भने ।‘ यदि उहाँहरुले पनि मापदण्ड विपरीत रहेका घरहरु तत्काल नभत्काए ती घरहरुमा पनि डोजर चलाउछौँ ।’ लामो समयदेखि जग्गा विवादका कारण रोकिएको सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि विहिबार कार्यालयले सम्बन्धीत घरधनीहरुलाई २४ घण्टे अल्टीमेटमको समय दिएको थियो । सो अवधीमा सकिएपछि शनिबार बिहानै ती घरमा डोजर चलाइएको हो ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा, विरुवा जेभीले निर्माणको जिम्मा पाएको भए पनि जग्गा विवादले काम रोकिएको थियो । गत जेठमा नै समयावधी सकिएको योजनाका लागि सोही कम्पनीले काम गर्ने गरी म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यालयले जनाएको छ । रुपन्देहीको सुनौली नाकादेखि बुटवलको चिडियाखोलासम्मको सडक विस्तारको काम हेर्दै आएको कार्यालयको जानकारी अनुसार सुनौलीतर्फ ७५० मिटर र भैरहवामा पनि २८ सय मिटर काम बाँकी रहेको छ ।

कूल २७ दशमलव ५ किलोमिटरको सडक विस्तार हुनु पर्नेमा हालसम्म २० दशमलव ४५ किलोमिटर सडकमा मात्रै विस्तारको काम सकिएको छ ।

https://www.globalaawaj.com/archives/73041
बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।