ताजा अपडेट »

‘बोधी रेडशन होटललाई नेपाली ब्राण्ड बनाउँछौं ’

मंगलबार, १७ बैशाख २०७६, २१ : ०१
8 Shares


संघीयता कार्यान्वयनका साथै बुटवललाई प्रदेश ५को राजधानी कायम गरेपछि यस क्षेत्रमा उत्पादनमूलक उद्योग तथा पर्यटन लक्षित व्यवसायहरु फस्टाएका छन् । यसै अवसरलाई ध्यानमा राखेर पछिल्लो समय रुपन्देहीको बुटवल र भैरहवामा ठूला तथा पर्यटक लक्षित होटलहरु स्थापना हुने क्रम जारी छ भने केही होटलहरु स्तरोन्नती एवम् नयाँ व्यवस्थापनमा सञ्चालनमा आएका छन् । यस्तै होटलहरु मध्ये एक हो भैरहवा स्थित ‘बोधी रेडशन’ ।

वर्षौदेखि सञ्चालनमा आएको सो होटल पछिल्लो समय नयाँ व्यवस्थापनमा सञ्चालित छ । उक्त होटल हाल ‘द पिक हस्पिटालिटी’ ले सञ्चालन गरिरहेको छ । विदेशमा गएर अध्ययन गरी कामको अनुुभव लिएका युवाहरुको उक्त समूहले नयाँ व्यवस्थापन, जोस, जाँगर र उत्साहका साथ होटललाई अगाडि बढाएको छ । यसै सन्दर्भमा रहेर ‘ पिक हस्पिटालिटी म्यानेजमेण्टका अध्यक्ष दिपक लेखकसँग ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी :


पिक हस्पिटालिटी म्यानेजमेण्ट कस्तो संस्था/समूह हो र यसका कार्य क्षेत्रहरु कस्ता रहेका छन् ?
– द पिक हस्पिटालिटी एउटा कम्पनी हो जसमा ४ जना युवाहरु सदस्य छौं । हामी ४ जना नै विदेशमा गएर अध्ययनसँगै कामको अनुभव लिएर स्वदेश फर्केका हौं । र, यसले विशेषगरी ४ क्षेत्र वा किसिममा लगानी तथा सहभागिता जनाउँदछ । जस अनुसार होटलम्यानेजमेण्ट,कन्सलटेन्सी,व्यवस्थापन मात्र र पार्टिएल्ली वा आंशिक स्वामित्व रहेका छन् । हाल यसले काठमाण्डौंमा एअरपोर्ट होटल र भैरहवामा बोधी रेडशन होटल सञ्चालन गरेको छ ।

युवाहरु विदेशिने लहर नै छ । अझै अष्ट्रेलिया जानेको त ठूलो संख्या छ । तपाइँहरु कमाउने समयमा नेपाल फर्कन के ले प्रेरित गर्यो ?
–युवाहरु विदेशिने कारणहरु धेरै छन् । तर,नेपालमा सम्भावना नै छैन भनेर जानु गलत हो । यहाँ सम्भावना धेरै छन् । तर, ति सम्भावनाहरु पूरा गर्न सिप,अनुभव,प्रविधि,लगानी आवश्यक पर्दछ । हामीहरु पनि त्यही सीप, अनुभव र लगानीका लागि विदेश गएका थियौं । नेपालमा केही गर्न सकिन्छ भनेर फर्केका हौं ।

विशेषगरी हस्पिटालिटीभन्दा अन्य क्षेत्रमा युवाहरुको आकर्षण बढी देखिन्छ । तपाइहरु यस क्षेत्रमै लाग्नुको कारण ?
–मानिसको पहिलो आवश्यकता र महत्वपूर्ण चीज नै उसको खाद्यान्न र उसको स्वास्थ्य हो । अत्यावश्यक खाद्यान्न र स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा काम गर्ने हाम्रो रुचि, अध्ययन र उद्देश्य अनुसार हामी यस क्षेत्रमा प्रवेश गरेका हौं ।


यसभन्दा अघि तपाइँले के–कस्तो अध्ययन र अनुभव हासिल गर्नुभएको छ ?
-म ५ वर्ष अष्ट्रेलियामा अध्ययनसँगै काम सिके । त्यसपछि होटल हायातमा ५ वर्ष काम गरे । अन्नपूर्ण ग्रुप अफ होटलमा सेल्स मार्केटिङ्ग डाइरेक्टरको जिम्मेवारीमा काम गरेँ ।


वर्तमान अवस्थामा नेपालको हस्पिटालिटी कस्तो छ र कस्तो हुनुपर्दछ ?
–नेपालमा पनि यस क्षेत्रमा आकर्षणसँगै सहभागिता बढ्दो छ । तर,प्राय पुरानै वा अयातित (नक्कल) गर्ने परिपाटी रहेको देखिन्छ । अन्तराष्ट्रिय ब्राण्डहरु आएको आइछन् । नेपालकै छुट्टै ब्राण्ड बनेका हस्पिटालिटी निकै कम छन् । नेपालका छुट्टै स्वाद,परिचय,पहिचान सहित काठमाण्डौंमा मात्र होइन नेपालका सबै शहर र पर्यटकिय सम्भावना भएका स्थानमा नेपाली ब्राण्डका होटल स्थापना हुनुपर्दछ ।


पिक हस्पिटालिटी म्यानेजमेण्टद्वारा सञ्चालित तपाइँ नेतृत्वको होटल ‘बोधी रेडशन’ कस्तो अवस्थामा छ त ?
– प्रारम्भिक लगानीमा नयाँ व्यवस्थापनमा सुरु गरेका छौं । जसमा हामी ४ जना यादव प्रसाद पाण्डे(सिंगापुर),निशान शाह(स्विटरजरल्याण्ड),विवेक विष्ट (सिंगापुर) र म दिपक लेखक(अष्ट्रेलिया) बाट फर्केका ३४देखि ३८ वर्षका युवाहरुको लगानी रहेको छ । हामीले नेतृत्व र सञ्चालन गरेपछिको अवस्थाको कुरा गर्नुपर्दा हाल सुरुवाती अवस्थामा छौं । हामीले विदेशमा र यस अघि सिकेका कुराहरु व्यवहारमा र प्रयोगमा उतार्दै यहाँको जनजीवन र माहौलको पनि अध्ययन गर्दैछौं ।


बोधी रेडशन होटलका मुख्य तथा फरक विशेष्ताहरु के–के रहेका छन् ?
–यो शहरी कोलाहल भन्दा केही पर शान्त वातावरणमा अवस्थित होटल हो । एक सय कोठा,दुुई ओटा रेष्टुरेष्ट,३ ओटा बेन्कुइट,मिनि क्यासिनो,वाटर पार्क लगाएतका प्रशष्त सुविधा भएको यस होटलमा मुख्य विशेष्ता हस्पिटालिटी,गुणस्तर र अतिथि देव भवः अनुसारको सेवा हुन् । यहाँ आउने ग्राहकवर्गले शुद्ध ,सफा र गुणस्तरीय विभिन्न देशका खाना/नास्ताका परिकारहरुको स्वाद र सेवा प्राप्त गर्नु हुनेछ । द पिकले सञ्चालन गरेको यस होटलले यहाँ ८४ जनालाई रोजगार बनाएको छ भने काठमाण्डौंको एअरपोर्ट होटलमा ६० जना रोजगार हुनुहुन्छ ।


तपाइँ विदेश र काठमाण्डौंमा काम गर्नुभएको त्यहाँ र यहाँको होटल क्षेत्रको अवस्था र कस्तो फरक छ ?
–विदेशमा पूूर्ण पूूर्वाधार,व्यवस्थापन र नीति नियममा व्यवसाय चलेका हुुन्छन् , जुन हामीकहाँ कमजोर अवस्था छ । काठमाण्डौं केन्द्रनै पर्यो । त्यहाँ विदेशी शैलीमा लगानी पूर्वाधार र पर्यटक संख्या बढी छ । यहाँ भैरहवामा धेरै फरक छ । तर, सम्भावना यहाँ धेरै छ । अन्तराष्ट्रिय एअरपोर्ट,बुद्ध जन्मस्थल लुम्बिनी,धेरै जनसंख्या भएको छिमेकी राष्ट्रसँग सिमाना , अर्को महत्वपूर्ण नजिकको शहर बुटवल,अन्तराष्ट्रिय सम्म्ेलन केन्द्र ,त्यसैगरी नजिकै रमणि पहाडी जिल्ला पाल्पा लगाएतका स्थान हुनाले यहाँ सम्भावना धेरै छ ।


तपाइँहरु बस्न,खाना र खेल्न बाहेक अन्य कस्ता गतिविधि र कुन तहका ग्राहकलाई लक्षित गर्नुभएको छ ?
–हामीले हाम्रा धार्मिक तथा सांस्कृतिक पर्वलाई सोही अनुसार कार्यक्रम गरी विभिन्न गतिविधि गर्दछौं । हालै नयाँ वर्ष २०७६को अवसरमा पूर्वसन्ध्यामा स्थानीय र राष्ट्रिय कलाकार सहित वृहत कार्यक्रम सम्पन्न गरेका छौं । अन्य अवसरमा पनि हामी पर्वको महत्व र शैली अनुसार कार्यक्रम गर्छौ । त्यसैगरी हाम्रो होटल देखेर ठूलो भनेर विदेशीको लागि वा उच्च आय भएकाहरुका लागि केन्द्रित जस्तो लागेपनि मध्यमवर्गिय नेपालीहरुले सहजरुपमा उपस्थित भई सेवा लिनसक्नुहुन्छ ।

प्रायः युवाहरु नेपालमा केही गर्न गार्हो छ, यहाँ राम्रो वातावरणनै छैन भन्दै विदेशिने क्रम रोकिएको छैन । अर्कोतर्फ सरकारलाई दोष दिने बानी पनि छ । तपाइँको विचारमा सरकारले यस क्षेत्रलाई कसरी सम्बोधन र व्यवस्थित गरोस् जस्तो लाग्छ ?
– पछिल्लो समय युवाहरु स्वदेश फर्कने क्रम पनि बढ्दो छ । हामी पनि यही केही गर्न आएका हौं । यस विषयमा सरकारले पनि सोँचेर उचित योजना र कार्यान्वयन गर्न आवश्यक छ । सरकारले विशेषगरी विकास निर्माणका काम राम्रोसँग गरोस्,पूर्वाधार निर्माण निर्माण गरोस्,स्पष्ट र वैधानिक नीति बनाओस् ,पर्यटनमा जोड दिओस् र पर्यटन लगाएत सबै व्यवसायलाई जोखिम र त्रासमुक्त बनाओस् ।


पिक हस्पिटालिटी म्यानेजमेण्टका आगामी योजनाहरु के–के छन् र तपाइँ लगाएत युवाहरुकोतर्फबाट नयाँ युवालाई के सल्लाह/सुझाव दिन चाहानुहुन्छ ?
–हामी पहिला स्थापना र सञ्चालनमा रहेका एअरपोर्ट होटल र बोधी रेडशन होटललाई व्यस्थित र गुणस्तरीय रुपमा अघि बढाउने त्यसपछि अन्य क्षेत्र र होटलमा पनि सहभागी हुुने योजना रहेको छ । नयाँ लगाएत हामी जस्ता युवालाई ‘यही नेपालमा प्रशस्त सम्भावना छ, विदेश गएपनि अध्ययन,अनéव र सिक्नका लागि जाऔं , श्रम गर्न नलजाऔं , आफ्नै देशमा मिहिनेत,लगनशिलता र त्यागको भावनाले काम गरौं ।’ भन्न चाहान्छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।