ताजा अपडेट »

राईड टु रानीमहल : देशभरका १५० बढी खेलाडी सहभागी हुँदै

सोमबार, ०६ पुस २०७७, १८ : ०२
4 Shares

बुटवल । राईड टु रानीमहल सिजन २ को तयारी पूरा भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैंक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघ-संस्थाहरुको सहयोगमा आगामी पुस १० र ११ गते हुने कार्यक्रमको तयारी पूरा भएको हो ।

सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, मन्त्रालयका सचिव डा.राजन केसी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे, साईन रेसुङा विकास बैंकका डिपुटी सिइओ प्रकाश गुरुङले सामुहिक रुपमा टिर्सट तथा ज्याकेट लन्च गरी तयारी पुरा भएको जानकारी गराइएको छ ।

कार्यक्रममा मन्त्री गिरीले खेलकुदबाट व्यक्तिमा अनुशासनसँगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकीय रानीमहलको प्रवद्र्धन गर्ने पवित्र उद्देश्यका साथ हुन गइरहेको साईक्लिङको कार्यक्रममा प्रदेश सरकारको साथ रहेको उनले बताए । पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनको सुझाब छ ।

रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साईक्लिङ कार्यक्रम गर्न लागेको बताए । कार्यक्रम पुस १० गते बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट बिहान शुभारम्भ हुनेछ । कार्यक्रममा काठमाण्डौ, पोखरा, नेपालगंज, नारायणगढ लगायत स्थानबाट करिब १ सय ५० खेलाडी सहभागी हुने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।