November 27, 2020, Friday
२०७७ मंसिर १३, शनिबार

अझै प्रचलनमा छन् शुद्ध तेलका लागि परम्परागत कोल

231

डोटी । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलको प्रयोग हुने गरेको छ । कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ ।

पछिल्लो समय तोरी पेल्न जताततै आधुनिक मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परम्परागत कोलको प्रयोग हुँदै आएको छ ।काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोल लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए । उनले भने, “आधुनिक मिलका कारण कोल अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ । आधुनिक मिल भन्दा कोलमा पेलेको तेल सफा, शुद्ध र राम्रो हुन्छ ।”

नयाँ पुस्ताले कोललाई बिर्षदै गएको भए पनि कोलबाट पेलिने तेल निकै अर्गानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका लागि प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। उनले कोललाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिए । ठूलो काठ तथा ढुङ्गामा ठाडो काठलाई त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासीहरु बताउँछन् । पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोलमा पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताइन् ।

स्थानीयवासीका अनुसार कोलमा दिनमा कम्तीमा पनि १० देखि २० लिटर सम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ । पछिल्लो समय कोरोना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोल पुनः सञ्चालन गर्न थालेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–४ का हर्कबहादुर बमले गाउँमा पुराना कोल, पानी घट्ट जस्ता सामानमा रुची बढेको बताए । जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताए।

पछिल्लो अपडेट