ताजा अपडेट »

छोटो दुरीको सवारीमा कोचाकोच यात्रु, संक्रमणको जोखिम

शनिबार, ०३ असोज २०७७, १८ : ००
6 Shares

दाङ । सरकारले लामो दुरीका सवारीका साधन असोज १ गतेबाट मात्रै सञ्चालन गर्न दिए पनि छोटोदुरीका सार्वजनिक सवारीका साधन गत गत साउन ८ गतेदेखि पचास प्रतिशत बढि भाडा लिन पाउने गरी सन्चालन गर्न दिएको हो । साथै सवारी साधनको सिट क्षमताको आधा यात्रु राख्ने, सामाजिक दुरी कायम गर्ने र मास्क प्रयोग गर्ने सर्तमा गाडी सन्चालन गर्न दिईएको थियो ।

तर छोटो दुरीमा चल्ने सवारी साधनले भने दाङमा कुनै स्वास्थ्य मापदण्ड पूरा गरेको देखिदैन । असोज १ गते सन्चालनमा आएका लामो दुरीका सार्वजनिक सवारीका साधनले स्वास्थ्य मापदण्ड पालना गरे पनि छोटो दुरीका सवारी साधनले स्वास्थ्य मापदण्ड उल्लङ्घन गदै आएको पाइएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले दुई जनाको सिटमा एकजना मात्रै यात्रु राखेर सवारी चलाउन भने पनि व्यवहारमा त्यसो भएको पाइदैन ।

छोटो दुरीका सवारीका साधनमा यात्रा गर्दा भौतिक दुरी र भाडा लिने विषयमा सरकारको निर्णय कार्यन्वयन नभएको भन्दै गुनासो गर्ने यात्रुहरुको संख्या बढ्दो छ । दाङमा पछिल्लो पटक २ साताको निषेधाज्ञा खुकुलो भएसँगै छोटो दुरीका सवारी साधन जोर बिजोर नम्बरका अधारमा सञ्चालनमा आए, तर पनि स्वास्थ्य सजकता भने शुन्य देखिएको छ । यसको नियमक निकायहरुको मौनताले गर्दा अहिले आधिकांश यात्रुले कोरोनाको जोखिम मोल्दै महङ्गो भाडा तिर्न बाध्य भएका छन् ।

यस्तै तुलसीपुरबाट घोराहीसम्मको यात्रा गरेर बसबाट ओर्लिदै गरेकी श्रृजना घर्ति मगरले निकै जोखिमपूर्ण यात्रा भएको बताइन् । ‘बसमा नागरिकको निकै घुइचो छ, दोब्वर सिटमा १ जना बस्ने नियम बने पनि कुनै सिटमा ३ जनासम्म बसेका हुन्छन् ।’–उनले भनीन् । बसको कन्ट्याक्टरलाई भाडा बढि लिएर पनि किन कोचाकोच यात्रु हालेको भनेर प्रश्न गर्दा खासै जिम्मेवार जवाफ नपाएपछि आफू जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको श्रृजना घर्ति मगरले बताइन् ।

यात्रुहरुको खचाखच भीडका कारण कोरोना संक्रमणको जोखिम बढेको छ भने कोचिएरै यात्रा गर्ने यात्रुहरुले अनावश्यक रुपमा महङ्गो भाडा तिर्न बाध्य छन् । शुक्रबार घोराही चोकको दृष्य हेर्दा यात्रुको पर्खाईमा रहेका बसका चालक तथा सहचालक यात्रु खोज्न तुलसीपुर–तुलसीपुर भन्दै यात्रु बलाइरहेका थिए । बसमा यात्रुहरु ५० प्रतिशतभन्दा धेरै देखिन्थे तर सहचालक भने यात्रु खोज्ने काममा लागीरहेका थिए ।

यस्तै अर्का यात्रु सुनिल श्रेष्ठको पनि दुःखेसो यस्तै छ । यात्रु किन धेरै छन्, यसले कोरोनाको जोखिम बढाउने भयो भन्दा उनलाई सहचालकबाट जोरबिजोर अनुसार गाडी चलेकाले थोरै गाडीमात्र सञ्चालनमा आउँदा धेरै यात्रु राख्नु परेको जबाफ मिल्यो । गाडीमा खचाखच यात्रु कोच्दा संक्रमणको जोखिममात्रै होइन, ओभरलोडका कारण सवारी दुर्घटनाको सम्भावना पनि बढेको छ । त्यसैले सरकारको नियम लागू नगर्ने सवारी साधनका चालकलाई कडा कारवाही गर्नुपर्ने श्रेष्ठको माग छ ।

सरकारले जिल्ला भित्र चल्ने सार्वजनिक सवारीका साधन सञ्चालनका लागि तोकेको मापदण्ड घोराही तुलसीपुरमा चल्ने सवारी साधन मात्रै हैन, घोराही-लमहीसँगै अन्य रुटमा चल्ने छोटो दुरीका सवारी साधनहरुले पनि उल्लंघन गरिरहेकै छन् ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले यातायातका साधनहरुले मनोमानी रुपमा यात्रुहरु चढाउने गरेको र त्यसको नियन्त्रणका लागि आँफूहरु लागि परेको बताए । भदौमा मात्रै धेरै यात्रु बोक्ने ६८ वटा बसका चालकलाई नियन्त्रणमा लिएर कार्वाही गर्दा ४१ हजार ५ सय रुपैया जरिवाना स्वरुप राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिकको तर्फबाट यातायात सञ्चालनका लागि सरकारले लागू गरेको मापदण्ड पूरा भए नभएको बारेमा जाँँचलाई प्रभाकारी रुपमा अगाडी बढाएको रेग्मीको दाबी छ । खचाखच यात्रु भरिनुमा सवारी साधनका सञ्चालकको मात्रै दोष छैन्, यसमा यात्रुहरु पनि स्वयम जिम्मेवार हुनुपर्छ । यात्रुहरुले पनि सरकारले निर्धारण गरेको मापदण्डसँगै संक्रमणलाई ध्यान नदिई आँफै कोचिएरै यात्रा गर्न राजी देखिने गरेकाले पनि यस्को कार्यान्वयनमा समस्या देखिएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए । प्रत्येक नागरिक स्वविवेकी बन्दै खवरदारी गर्न सक्ने हो भने नियमको पालनामात्रै होईन, सवारी दुर्घटनाका घटनामा पनि कमी आउने उनको धारणा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।