ताजा अपडेट »

अलपत्र परेका ७५ जनालाई स्वास्थ्य परिक्षणपछि सैनामैनाले घर पठायो

आइतबार, ३० चैत्र २०७६, १७ : ११
4 Shares

सैनामैना । रुपन्देहीको सैनामैना क्वारेन्टिनमा राखिएका मजदुरहरु घरतर्फ लागेका छन् । रुपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रुपमा काम गरिरहेका प्रदेश नं ५ को बर्दिया, कपिलवस्तु तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरुलाई यातायातको व्यवस्था मिलाइ ७५ जनालाई घर पठाइएको सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले बताए । उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरहरुलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको जानकारी गराए ।

कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलबस्तु बाणगँगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाईएको हो । शनिबार सैनामैनाको मुर्गियामा समुहमा पैदल हिडिरहेको देखेपछी सोधपुछ गरी उनीहरुलाई सैनामैना वडा नं १ बनकट्टामा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित चिकित्सालयको छुट्टै भवनमा बस्ने व्यवस्था मिलाइएको थियो । चिकित्सालयमा प्रवेश गर्नु पुर्व उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी गराए ।

विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् । प्रदेश सरकार तथा संघीय सरकारले लकडाउनको अवधिमा अत्यावश्यक बाहेक एक ठाउँबाट अर्को ठाउँ आवतजावत नगर्न तथा समस्या परेको अवस्थामा स्थानीय सरकार, सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनीधिलाई सम्पर्क गर्न सकिने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।