ताजा अपडेट »

२५६९औं बुद्ध जयन्ती तीन दिन मनाइने

शनिबार, २७ बैशाख २०८२, १९ : ०९
18 Shares
शनिबार, २७ बैशाख २०८२
18 Shares

बुटवल । भगवान् गौतम बुद्धको २५६९ औँ जन्म जयन्ती तथा लुम्बिनी दिवस–२०८२ विशेष कार्यक्रम गरी मनाइने भएको छ । शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती वैशाख २८, २९ र ३० गते तीन दिन विशेष उत्सवको रूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जानकारी गराएको छ । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) समेत वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले पनि यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति पूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

पत्रकार सम्मेलनमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ मनाउँदै आएको र यसै दिन लुम्बिनी दिवसका रूपमा समेत मनाउने गरिएको बताएका छन् । २५६९ औँ जन्म जयन्ती तथा लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष बद्री प्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन समेत गठन गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । 
 
त्यस्तै अन्य समितिहरूमा  कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र रामग्राम समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा स्वयंसेवक उपसमिति र कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यवस्था उपसमिति गठन तथा ३० सदस्यीय सल्लाहकार समिति गठन गरिएको बत्ताइएको छ। 

त्यस्तै परिषद् सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभा यात्रा, प्रसाद वितरण तथा भोजन व्यवस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मञ्च साजसज्जा तथा सरसफाइ व्यवस्था उपसमिति र वरिष्ठ निर्देशक ज्ञानि राईको संयोजकत्वमा प्रसाद वितरण तथा कार्यक्रम व्यवस्था उपसमिति समेत गठन गरिएको छ ।
 
वैशाख २९  गते बुद्ध पूर्णिमाका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा २५६९ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको  विशेष समारोह आयोजना  हुने कोषाध्यक्ष भट्टराईले जानकारी दिएका छन्  ।
 
विशेष समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेश सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूकाे समेत सहभागिता रहने बत्ताइएको छ ।
 
तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गरीने छ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा हुनेछ । त्यस्तै बिहान  ७ः३०  बजे ५ नम्बर गेटबाट शोभा यात्राकाे आयोजना गरिनेछ ।
 
यस्तै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्ध पूर्णिमाका अवसरमा कोष र स्थानीय तहहरूसँगको समन्वयमा विविध कार्यक्रम गरी मनाइने बतइएको  भने बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाइ कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रसूति उत्सव लगायतका विविध कार्यक्रमहरू समेत आयोजना गरिने छ।
 
बुद्धको ज्ञानको महत्त्व दर्साउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्ध जयन्तीका अवसरमा घर घरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले अपिल समेत गरेको छ ।
 
बुद्ध जयन्तीको भोलीपल्ट वैशाख ३० गते हरेक बर्ष गरीदै आएको बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम समेत राखिएको छ । जसमा लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी उक्त शोभा यात्रा गरिने बताइएकाे छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।