बुटवल । भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारत(पाकिस्तानबीच जारी द्वन्द्व रोक्न अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भ्यान्सले विगत ४८ घण्टा भारतीय र पाकिस्तानी शीर्ष नेतृत्वसँग निरन्तर छलफल गरेका थिए ।
त्यसपछि दुवै देशले युद्धविरामको निर्णयसँगै तटस्थ स्थानमा विस्तृत वार्ता गर्न सहमति जनाएको अमेरिकी विदेशमन्त्री रुबियोले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत रुबियोले लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शान्तिपूर्ण बाटो रोजेका छन्, यो दूरदर्शिताको प्रमाण हो ।’
पाकिस्तानका उपप्रधानमन्त्री इस्हाक डारले शनिबार दिउँसो पाकिस्तान र भारतबीच युद्धविरामको सहमति भएको घोषणा गरेका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘पाकिस्तानले आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता नगरी सधैं क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ ।’
यसअघि शनिबार नै उनीभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत् भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’मा सहमत भएको दाबी गरेका थिए ।
‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु’, ट्रम्पले लेखेका छन् । उनले दुवै देशलाई ‘सामान्य बुद्धि र उच्च सुझबुझ प्रयोग गरेको’ भन्दै बधाई समेत दिएका छन् ।
भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
प्रतिक्रिया