ताजा अपडेट »

लुम्बिनी एक्स्पोः सार्वजनिक बिदामा दर्शकको चाप

मंगलबार, १० पुस २०८०, २० : ०२
54 Shares

बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको छैटौं दिन दर्शकको अत्यधिक चाप बढेको छ । मंगलबार मात्रै ८० हजार बढीले मेला अवलोकन गरेको मेला आयोजक रुपन्देही ब्यापार संघ बुटवलले दाबी गरेको छ । उधौली पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले दर्शकहरुको भीड बढेको थियो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ पुस ५ गतेदेखि सञ्चालित मेलाको छैटौं दिन हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । मंगलबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका महासचिव दयानिधी भण्डारीले बताए । मंगलबार मात्रै मेलामा रहेका ६ सय ६० स्टलहरु तथा बाल उद्यानबाट १० करोड हाराहारीमा ब्यापार भएको अनुमान गरिएको भण्डारीले बताए ।

मंगलबार मेलामा डान्स आइडलको टप टेन प्रतिष्पर्धा सुरु भएको सांस्कृतिक कार्यक्रमका संयोजक प्रकाशराज पौडेलले जानकारी दिए । त्यस्तै मंगलबार चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएकी थिइन् । बुधबार गायक तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका सपना गाहा मगर, गायक दामोदर बस्याल, डान्सर बबिता बोहोरा र गायिका बिन्दु परियारको प्रस्तुती रहने छ । त्यस्तै बुधबार नै लोक भजन प्रतियोगिता, लोकदोहोरी प्रतियोगिवताको सेमिफाइनल, डान्स आइडल र अन्य विविध सांस्कृतिक कार्यक्रम हुने छ । बुटवल मण्डपस्थित निर्माणाधीन प्रदर्शनी केन्द्रमा ब्यापार मेला पुस १८ गतेसम्म चल्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।