ताजा अपडेट »

युवालाई ‘विकास निर्माण’ मा सहभागि गराउँदै बुटवल उपमहानगर

आइतबार, १३ जेठ २०८१, १७ : २३
516 Shares
आइतबार, १३ जेठ २०८१
516 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको बैशाख २० गते बसेको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका २०७४ को पाँचौ संसोधन गर्यो ।

नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न भन्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नै टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन सम्बन्धी सो प्रस्ताव कार्यपालिका बैठकमा राखेका थिए । 

प्रमुख पाण्डेयले राखेको सो प्रस्ताव कार्यपालिकाबाट सर्वसम्मत रुपमा पारित भयो । टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन भएसँगै अब टोल विकास संस्थाको कार्यसमितिमा ३० प्रतिशत १६ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेको थियो । तर, टोल विकास संस्था गठन तथा परिचालन निर्देशिकामा युवाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था थिएन् । 

टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संसोधन गरिएको बताए। ’युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उदेश्य हो ।’– उनले भने। 

‘नीतिगत निर्णय गरेर युवालाई सहभागि गराउनु स्वागतयोग्य ’
टोल विकास संस्थामा युवाहरुको प्रतिनिधित्व सुनिश्तिताको लागि नीतिगत रुपमा निर्णयलाई सकारात्मक रुपमा लिनु पर्ने यहाँका राजनीतिक दलहरु बताउँछन् । टोल विकास स्थानीय सरकारले सबै भन्दा बलियो एकाई भएकाले युवाहरुलाई समेट्दा उनीहरुले त्यहाँबाट सिक्ने अवसर पनि पाउने उनीहरु बताउँछन् । 

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले टोल विकास संस्थामा युवाहरुको प्रतिनिधित्व सुनिश्तिताको लागि बुटवल उपमहानगरपालिकाले गरेको नीतिगत निर्णय स्वागतयोग्य रहेको बताउँछन् । युवाहरुलाई आफ्नो समुदाय, आफ्नै टोल समुदाय र छरछिमेकबाट नै जवाफदेही वनाउँदा उनीहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

‘टोल विकास संस्थामा युवाहरुको प्रतिनिधित्व सुनिश्तिताको लागि नीतिगत रुपमा गरिएको निर्णय स्वागत योग्य छ ।’–उनले भने ‘युवाहरुलाई आफ्नो समुदाय आफ्नै टोल समुदाय र छरछिमेकबाट नै जवाफदेही वनाउँदा उनीहरुले महत्वपूर्ण भूमिका खेल्छन् । युवाहरुको सुनिश्तितालाई नीतिगत रुपबाट अगाडी लिएर जानु स्वागयोग्य विषय हो ।’

यस्तै नेकपा एमाले बुटवल उपमहानगरपालिका अध्यक्ष किशन ज्ञावलीले युवाहरुलाई सहभागि गराउनु सकारात्मक भएको बताए । ‘विकास निर्माणदेखि हरेक काममा युवाहरुलाई सहभागि गराउनु पर्छ । टोल विकासमा युवाहरुलाई सहभागि गराउने कामलाई सकारात्मक रुपमा नै लिन्छु ।’–अध्यक्ष ज्ञावलीले भने ।   

यस्तै नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका कमिटीका सचिव छाँया पोखरेलले पनि युवाहरुलाई सबै क्षेत्रमा सहभागि गराउनु पर्ने बताउँछन् । टोल विकास संस्था स्थानीय सरकारको सबै भन्दा बलियो एकाई भएकाले युवाको सुनिश्च्तिा काम गर्नु राम्रो पक्ष भएको बताए । 

‘युवाहरुलाई टोल विकासको कार्यसमितिमा राख्नुलाई त राम्रै हो ।’–सचिव पोखरेलले भने ‘टोल विकास संस्था स्थानीय सरकारको सबै भन्दा बलियो एकाई पनि हो ।’ यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेयले पनि टोल विकास संस्थामा ३० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नु सकारात्मक नै भएको बताए । 

साथै टोल विकास संस्थामा युवाको प्रतिनिधित्व सुनिश्च्ति भयो भने आफै योजना पनि बनाउने र बजेट विनियोजन कसरी हुन्छ भन्ने कुरा थाहा पाउने बताउँछन् । साथै युवाहरुले योजनाको छनौट, काम गर्ने सबै प्रक्रिया सिक्ने अवसर पनि मिल्ने केन्द्रिय सदस्य पाण्डेयले बताए । 

‘युवाको प्रतिनिधित्व सुनिश्चिता भयो भने आफै योजना पनि बनाउँछन् । बजेट विनियोजन कसरी हुने रहेछ त्याृ पनि थाहा पाउँछन् । विनियोजन भएको बजेटलाई कसरी खर्च गर्नु पर्ने रहेछ युवाको पक्षमा भन्ने अभ्यास पनि गर्छन् ।’– पाण्डेयले भने ‘यसले गर्दा आफ्ना लागि विनियोजन भएको बजेट कसरी योजना माग्ने, कसरी प्रक्रियामा जाने भन्ने लगायतका सबै कुरामा युवालार्ई ज्ञान हुन्छ ।’ 

कसरी हुन्छ टोल विकास संस्थाको गठन ?

राष्ट्रिय जनगणना अनुसार बुटवल उपमहानगरपालिकामा १ लाख ९४ हजार ३३५ जना संख्या रहेको छ भने ५० हजार ५६५ घरधुरी रहेका छन् । बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सहकारी तथा समन्वय शाखाका प्रमुुख दामोदर ज्ञावलीका अनुसार बुटवलमा ३०० टोल विकास संस्थाहरु छन् ।

‘अहिले बुटवल उपमहानगरपालिकामा दर्ता भएका टोल विकास संस्थाको संख्या ३०० छ । बुटवल उपमहानगरपालिकाले अब नयाँ तरिकारले टोल विकास संस्था दर्ताको तयारी गरेको छ । नयाँ तरिकाबाट अहिले १५८ टोल विकास संस्था दर्ता भएका छन् । अन्य दर्ता गर्न आउने प्रक्रियामा छन् ।’– उनले भने ।  

बुटवल उपमहानगरपालिकाको टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालान समबन्धी निर्देशिका, २०७४ अनुसार वडा नं. १ देखि १३ सम्म कम्तिमा १०० देखि बढीमा ३०० घरधुरीसम्म तथा वडा न. १४ देखि १९ सम्ममा कम्तिमा ५० देखि बढिमा १०० घरधुरीसम्म को एक टोल विकास सस्था गठन गर्न सक्ने व्यवस्था रहेको छ ।  ल विकास गठनका गर्नका लागि भौगोलिक अवस्था र घरपूरी समेटिन नसक्ने कारण भएमा मापदण्दको संस्था बाहेक पनि कार्यपालिकाको निर्णय अनुसार टोल विकास संस्थाहरु गर्ने तथा दर्ता गर्न सकिने निर्देशिकामा उल्लेख छ । 

टोल विकास संस्था गठन गर्नका लागि तोकिएको भौगोलिक क्षेत्रभित्र वसोवास गर्ने घरधुरीको नामावली सहित कम्तीमा ५ जना व्यक्तिले उपमहानगरपालिकामा निवेदन प्रस्ताव पेश गर्न गर्नु पर्ने र निवेदन पेश गर्ने व्यक्तिहरूलाई उक्त क्षेत्र भित्र रहेका टोलवासीहरुलाई खवर गर्न र भेला आयोजना गर्न उपमहानगरपालिकाले  जिम्मेवारी प्रदान गर्छ । उक्त भेलामा उपमहानगरपालिकाको प्रतिनिधिको उपस्थिती हुनु पर्ने व्यवस्था छ ।

टोल विकास संस्था नयाँ गठन गर्दा उक्त सिमाना भित्र पर्ने घरधुरीक मध्ये कम्तीमा ८० प्रतिशतको उपस्थितीमा सम्भव भएसम्म सर्वसम्मत निर्णयका आधारमा समिति गठन हुन्छ । टोल विकास संस्थामा अध्यक्ष, उपाध्यक्ष सचिव, कोषाध्यक्ष, सहसचिवगरी बढीमा ११ जनाको कार्यसमिति हुन्छ भने कार्यकाल २ को हुने छ । समितिको वार्षिक रुपमा साधारणसभा, लेखापरीक्षण तथा हरेक २÷२ बर्षमा अधिवेशन गर्नु पर्ने निदेर्शिकाले व्यवस्था गरेको छ । 

के–के काम गर्छन् टोल विकास संस्था ?
बुटवल उपमहानगरपालिकाले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका २०७४ ले टोल विकास संस्थाहरुले गर्न पाउने विभिन्न २२ वटा कार्य तोकिदिएको छ । टोल विकास संस्थाले सदस्यहरुबट नियमित रुपमा बचत संकलन तथा परिचालन गर्नेदेखि वार्षिक रुपमा टोल विकास संस्थाको घरधुरी सर्वेक्षण अद्यावधिक अभिलेन गर्नेसम्मको काम गर्न पाउने निर्देशिकामा उल्लेख छ । 
१) टोल विकास संस्थाहरु मूलतः टोल बासिहरु र उपमहानगरपालिका प्रति उत्तरदायी हूनेछन् ।

२) टोल विकास संस्थाहरु वुटवल उपमहानगरपालिकामा सूचिकृत भएको हुनुपर्नेछ ।

३) टोल विकास संस्थाको बैठक मासिक रुपमा नियमित वस्नूपर्नेछ । बैठकमा गणपुरक संख्या ५१% रहनेछ ।

४) सदस्यहरुवाट नियमित रुपमा बचत संकलन तथा परिचालन गर्न सकिने छ ।

५) सत्त्थाले सदस्यहरुलाई उद्यमशिलता तर्फ अग्रसर गराउन आफ्नो स्वालगानी तथा विभिन्न सहकारी तथा वित्तीय संस्थाहरुसंग सम्वन्वय गरी उद्यम् संचालन गर्न आवश्यक ऋण तथा तालिमको लागि समन्वय गर्नेछ ।

६) टोल विकास संस्थाले सदस्यहरुलाई राहत हुने सामाजिक तथा नार्थिक विकासका कयाकलापहरु सहभागितात्मक ढंगबाट संचालन गर्नुपर्नेछ

७) टोल विकास संस्थाको बैठकमा विषयहरु प्रस्तुत गर्ने र सबै विषयहरुमा छलफल गरी सर्वसम्मत निर्णय गर्ने प्रयास गर्नुपर्नेछ । निर्णय प्रक्रिया पारदर्शी र मजबूत हुनुपर्नेछ ।

८) सस्थाले सदस्यहरुको हित व्यक्तित्व विकास, जमता अभिवृद्धि आर्थिक सशक्तिकरण र संस्थाको सस्थागत विकासका लागि सस्थाका पदाधिकारी तथा सदस्यहरुलाई समयानुकूल तालिम, प्रविधि तथा सीप विकासका लागि सम्वन्धित निकायसंग समन्वय र सहयोग लिन सक्नेछ ।

९) समुदायमा रहेका महिला बालबालिका, पिछडीएका वर्ग, विपन्न, दलित, मधेसी मुश्लिम जनजातीहरुको विकासको लागि सम्बन्धित क्षेत्र तथा निकायबाट सहयोगका लागि सम्बन्ध विस्तार तथा समन्वय कायम गर्नुपर्नेछ ।

१०) टोलमा आइपर्ने समस्या त्या चूनौतिहरुको समाधान गर्न एक अकांको सहयोग लिइनेछ।
११ ) न.पा.को सहभागितात्मक योजना तर्जुमा पद्धतिलाई सहयोग गर्नु पर्नेछ ।

१२ ) वार्षिक रुपमा टोलविकास संस्थाको घरघूरी सर्वेक्षण अद्यावधिक अभिलेख राख्नुपर्नेछ ।

१३ ) नगरपालिकाको अवधारणा बमोजिम टोल विकास संस्थाले आफ्नो टोलको दीर्घकालिन विकासको अवधारणा, निर्माण गर्न सक्नेछ ।

१४ ) टोल विकास संस्थाले विविध क्रियाकलापहरु संचालन गर्न विभिन्न उपसमितिहरु गठन गर्न सक्नेछ ।

१५ ) वडास्तरीय टोल विकास संस्था समन्वय समिति तथा नगर स्तरीय टोल विकास संस्था समन्वय समितिवाट भए गरेका निर्णयहरु टोल विकास संस्थाले कार्यान्वयन गर्नुपर्नेछ।

१६ ) टोल विकास संस्थाले प्रत्येक निर्णयको प्रतिलिपि वडा स्तरीय टोल विकास संस्था समन्वय समितिको बैठकमा पेश गर्नुपर्नेछ ।

१७ ) टोल विकास संस्थाले वडा समितिको सहयोगी संस्थाको रुपमा कार्यगर्नुपर्नेछ ।

१८ ) नगरपालिकाबाट टोल विकास सस्थाले सिफारिस गर्नुभनि निर्णय गरेका विभिन्न विषयमा तोकिएको परिधि भित्र रही सिफारिस दिनुपर्नेछ

१९ ) टोल विकास संस्थाको क्षेत्रभित्र पर्ने स्थानीय श्रोत साधनहरू आदि उपयोग गर्नुपरेमा उप.म.न.पा.बाट अनुमति लिनुपर्नेछ ।

२०) टोल विकास संस्थाले वचत तथा ऋण परिचालन सम्वन्धी आवश्यक विनियमावली बनाई लागू गर्न सक्नेछ ।

२१) बडा समिति, समन्वय समिति र उमनपाले दिएका निर्देशनहरु पालना गर्नुपर्नेछ ।

२२) बडामा संचालन हुने कार्यक्रममा सहकार्य र समन्वय गरी आफ्नो टोलका समूदायका सदस्यहरुलाई सहभागी गराउनुपर्नेछ ।
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।