ताजा अपडेट »
बजेट

यी हुन बजेटमा रुपन्देहीले पाएका प्राथमिकता

मंगलबार, १५ जेठ २०८१, १७ : ४४
1.03K Shares
मंगलबार, १५ जेठ २०८१
1.03K Shares

बुटवल । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मंगलबार सार्वजनिक गरेको बजेटमा पुरानै योजनाहरुले निरन्तरता पाएका छन् । रुपन्देहीका केही ठूला योजनाहरुलाई अर्थमन्त्रीले निरन्तरता दिएका छन् भने र केही केही नयाँ योजनालाई बजेटमा  समावेश गरेका छन् । 

न्यू बुटवल–गोरखपुर ४०० सय के.भी.अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गर्ने, बुटवलमा मेडिकल कलेज संचालन गर्नेदेखि भैरहवाको एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गर्नेसम्मका कुरा बजेटमा समावेश भएका छन् ।  यद्यपी, आज प्रस्तुत बजेटले यहाँकालागि अन्य महत्वपूर्ण योजनाहरु सिद्धार्थ रंगशाला निर्माण, ज्योतिनगर पहिरो नियन्त्रण, बुटवलका लागि झुम्साखोला खानेपानी लगायतका जनचासोसँग जोडिएका योजना प्राथमिकता परेका छैन्।  

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु। ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ। 
 
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३०  करोड र वैदेशिक अनुदानबाट रु ५२ अर्ब ३३ करोड व्यहोर्दा रु ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

यी हुन् सरकारको बजेटमा परेका रुपन्देहीका प्राथमिकता

  • न्यू बुटवल–गोरखपुर४०० सय के.भी.अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिनेछ। 
  • न्यू बुटवल–लमही ४ सय के.भी. प्रशारण लाइनको निर्माण कार्य शुरू गरिनेछ।
  • बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधार सहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइनेछ। यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलव्ध गराइनेछ।
  • आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्चालनगर्न भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ्ग)भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको छु। यस परियोजना अन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ।
  • त्रिभुज परियोजना अन्तर्गत नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्रको रुपमा विकास गरिने छ । 
  • बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिनेछ।
  • रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरू गरिनेछ।
  • कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय अन्तर जलाधार जलपथान्तरण आयोजनाको सम्भाव्यता अध्ययन गरी क्रमशः  कार्यान्वयनमा लगिनेछ।
  • भैरहवाको एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गरिनेछ ।
  • बुटवलमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाइनेछ।
  • नारायणघाट–बुटवल सडक खण्ड र बुटवल–गोरुसिंगे  सडक खण्ड स्तरोन्नति कार्य शुरू गरिनेछ।
बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।