ताजा अपडेट »

अनुशासन र सृजनात्मक क्षमता

शनिबार, १३ जेठ २०८०, १६ : ४४
46 Shares
शनिबार, १३ जेठ २०८०
46 Shares

गुणस्तरीय शिक्षा भन्दा बित्तिकै हामी राम्रो र व्यवहारिक शिक्षा भनेर बुझ्छौँ अनि यस्तो शिक्षा प्रदान गर्न सक्ने विद्यालयलाई राम्रो विद्यालय भनेर बुझ्दछौ । हुन त सम्पूर्ण रुपले राम्रो हुनका लागि के कस्ता वातावरण पुग्न पर्छ भन्ने पनि छलफलकै विषय होलान तर समय र परिवेश अनुसार समय सुहाउँदो शिक्षा दिन सक्नेलाई राम्रो मान्नु पर्ला । विद्यालय भनेको हाम्रा बाबु नानीले पाठ्य पुस्तकमा भएको विषयवस्तु पनि मात्र जान्ने भन्ने होइन बरु आफूलाई अनुशासित बनाउँदै दैनिक जीवनयापनको आवश्यक ज्ञान सीप अनि भोली आफू समाज र देशलाई कसरी विश्वमा एउटा फरक परिवेशमा चिनाउन सकिन्छ भनेर ज्ञान पनि बटुल्दै जाने हो ।

एउटा विद्यार्थीले राम्रो गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि विभिन्न व्यवस्थापकीय पक्षले गहन भूमिका खेलेका हुन्छन् । साना नानीबाबुहरु जो खासगरी आफ्ना अभिभावक अनि गुरु गुरुआमाको निगरानीमा मात्र आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्छन, उनीहरुको सन्दर्भमा व्यवस्थापकीय पक्ष अति नै महत्वपूर्ण हुन्छ । एउटा विद्यार्थीलाई वातानुकुलित पढ्ने अवस्थाको सिर्जना घरबाटै शुरु गराउनु पर्छ । किनकी विद्यार्थीको लागि पहिलो पाठशाला भनेकै उसको घर र परिवार हो । उसले विद्यालयमा हुँदा त्यही आचरण देखाउने गर्छ जुन कुरा उसले घर, परिवार र आफ्नो समाजबाट सिकेको हुन्छ ।

घरका आफूभन्दा माथिका सदस्यले गरेको हरेक व्यवहारको प्रभाव त्यो स्कुल जाने तोते बोली बोल्ने नानीबाबुमा पर्ने गर्छ । तसर्थ घरमा रहँदा उसको सरसफाई, पढ्ने तालिका, आवश्यक मनोञ्जन, खेलकूद, मान–सम्मान तथा अनुशासनको कुरामा अति सुक्ष्म तरिकाले सोचेर योजना बनाउन सक्यौं भने उसले विद्यालयबाट सिकेको कुरालाई पनि एउटा सार्थक परिणाम दिन सक्छ । हामीले देख्ने भोग्ने गरेका पनि छौँ कि एउटा विद्यार्थीको क्षमता राम्रो भएपनि घरमा अभिभावकको कारणले उसले पढ्ने वातावरण पाएको छैन भने नतिजा हामीले सोचेभन्दा धेरै फरक आउन सक्छ । तसर्थ एउटा राम्रो विद्यार्थी हुनका लागि उसको आफ्नो घर परिवार पनि त्यति नै अनुशासित र समय सापेक्ष चल्न सक्ने खालको हुनुपर्छ ।

आफ्नो घर बाहेक एउटा विद्यार्थीले सबैभन्दा बढी समय विताउने विद्यालयको वातावरण सबैभन्दा बढी विद्यार्थीमैत्री हुनु आवश्यक छ । विद्यालयका हरेक पूर्वाधारहरु सबै विद्यार्थीलाई पुग्ने गरी र सजिलो पहुँच हुने गरी बनाउन आवश्यक छ । खासगरी कक्षा कोठा, शौचालय, खानेपानी, लाइव्रेरी, खेलकूद मैदान, खाजा घर सम्पूर्ण विद्यार्थीहरुको सजिलै पहुचमा हुने गरी बनाउनु पर्छ । यी संरचनाहरु सकेसम्म अपाङ्ग मैत्री पनि बनाउनु पर्छ । माथि उल्लेखित कुराहरुको उचित व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समिति एकदमै क्रियाशिल र विद्यालय सुधारको पक्षमा हुन आवश्यक देखिन्छ ।

विद्यालयलाई शैक्षिक जगतमा कति समयको उचाईमा पुर्याउने भन्ने कुराको मुख्य पात्र भनेको चाहि शिक्षक नै हो । तिनै शिक्षकको मेहनत र लगनशिलताका कारण अहिले आएर देशका अधिकांश सरकारी विद्यालयले गुणस्तरमा फड्को मार्न थालेका छन् । खासगरी सरकारी विद्यालयमा पढाई हुँदैन, राजनीति मात्र हुन्छ, शिक्षकहरु नियमित हुदैनन् भन्ने कुरालाई पछिल्लो समयमा सरकारी विद्यालयको सुदृढीकरण र प्राप्त नतिजाले देखाएको छ । यसैको कारण देशमा केही सामुदायिक विद्यालयहरुमा भर्नाको लागि ठूलो दवाव पर्ने गरेको देखिन्छ ।

रुपन्देहीको हकमा मात्र कुरा गर्ने हो भने पनि यहाँको कान्ति, कालिका मानवज्ञान, शान्ति नमुना तथा नविन औद्योगिक जस्ता विद्यालयले भर्नाको समयमा भर्ना गर्न नसकेर सयौ विद्यार्थीलाई फिर्ता पठाउनु परेको अवस्था छ । तर पनि विद्यार्थीको संख्या बढेसंगै व्यवस्थापनको पाटो पनि त्यतिकै चुनौतीपूर्ण छ । धेरै विद्यार्थीहरु हुदाँ सबै विद्यार्थीलाई निगरानीमा राख्न सकिएको छ कि छैन, नोट कपी, होमवर्क, क्लासवर्कका कुराहरुलाई व्यक्तिगत तरिकाले हेर्न सकिएको छ कि छैन भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण हो । शिक्षक त्यस्तो व्यक्ति हो जो हरेक वर्ष आफूलाई अपडेट गरी खरो तुल्याउनु पर्छ । शिक्षकले गर्ने हरेक क्रियाकलापलाई विद्यार्थीले अति सुक्ष्म तरिकाले हेरिरहका हुन्छन् र राम्रा कुराहरुलाई अनुशरण गर्न खोजेका हुन्छन् । तर कहिलेकाही हामी शिक्षकले अपडेट नभईदिँदा आफू मर्यादामा नवसिदिँदा त्यसले धेरै विद्यार्थी र अभिभावकको आशा अनि भरोसामा तुषारोपात भइराखेको हुन्छ । यस प्रति हामी अत्यन्तै सजग र इमान्दार रहन आवश्यक छ ।

खासगरी पछिल्लो समयमा मानिसमा घट्दै गईरहेको आर्थिक आयआर्जनको कारणले गर्दा पनि नीजि तथा आवासीय विद्यालयमा अध्ययन गरिरहेका सयौँ–हजारौँ विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित हुने गरेका छन् । तर पनि देशमा भएका सीमित सामुदायिक विद्यालयहरुले मात्र पूर्वाधार संरचना तथा दक्ष जनशक्तिको हिसाबले आफूलाई अगाडि बढाउने प्रयास गरेका छन् । सीमित दरबन्दी र सरकारी अनुदानको आधारमा पनि केही सामुदायिक विद्यालयले गरेको यो प्रयासलाई मान्नै पर्छ । तर पनि कान्ती, कालिका मानवज्ञान जस्ता देशका केही सामुदायिक विद्यालयले मात्र गरेको प्रयासले विद्यार्थीको चापलाई थेग्न सक्ने अवस्था हुँदैन । यसको लागि शिक्षामा एकार नीति बनाउनु आवश्यक छ अनि सम्पूर्ण सामुदायिक विद्यालयलाई उत्तिकै जिम्मेवारी र सक्षम बनाउन आवश्यक छ, अनि मात्र यो समस्या हल गर्न सकिन्छ ।

वास्तवमा एउटा विद्यालयलाई सबै पक्षबाट राम्रो र नमुना विद्यालयको रुपमा अगाडि बढाउनमा मियोको रुपमा रहने प्राधानाध्यापकको ठूलो भूमिका रहन्छ । एउटा प्राधानाध्यापकले समय दियो र दृढ संकल्प लिएर अगाडि बढ्यो भने सामुदायिक विद्यालयले पनि कति छिटो फड्को मार्न सक्छन् भन्ने कुरालाई हेर्न बुटवलका कान्ती, कालिका–मानवज्ञान जस्ता विद्यालयलाई हेरे पुग्छ । एउटा प्राधानाध्यापकको समय र योजना अनि त्यसमा साथ दिदै दत्तचित्त भएर खटिने शिक्षक, कर्मचारीको राम्रो समूह भयो भने साच्चिकै विद्यालयलाई विद्यालय जस्तै बनाउन सकिन्छ र तब मात्र विद्यार्थी र अभिभावकले खोजेजस्तो गुणस्तरीय शिक्षा प्राप्त हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।