ताजा अपडेट »

तिलोत्तमामा जारी मणिमुकुन्द रनिङ शिल्ड भलिबल कपमा दर्शकको थामी नसक्नु भिड

विहीबार, २६ माघ २०७९, ०८ : ५१
16 Shares

बुटवल । नेपालका विभागीय टिमपछिकै उत्कृष्ट मानिएको रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबलमा दर्शकको उत्साहजनक उपस्थिती देखिएको छ । मँगलबारदेखि तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामा दर्शकको भिड लागेपछि आयोजकले प्याराफिट नै थप गर्नु परेको छ ।

१ हजार क्षमताको प्याराफिटले बुधबार दर्शक थाम्न नसकेपछि विहिबारका लागि थप गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । लामो समयपछि सञ्चालनमा आएको खेल गतिविधि तथा यस क्षेत्रमा कोरोना महामारीपछि आयोजना गरिएको राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता भएका कारण पनि दर्शकको भिड लागेको अध्यक्ष भण्डारीले बताए ।

राष्ट्रिय स्तरका खेलाडीलाई हुटिङको ओइरो
बुधबार भएको समूह चरणको खेलमा जब जिल्ला भलिबल संघ गुल्मीको तर्फबाट कुलबहादुर थापा हरी र चन्द्र कुंवर मैदान प्रवेश गरे दर्शक दिर्घमा एकाएक माहोल तात्यो । दर्शकहरु उत्साहित हुँदै अन्तर्राष्ट्रिय खेलाडीको कौशलता हेर्न आतुर भएको जनाउन थाले । दर्शकहरुले उत्कृष्ट प्रदर्शनका लागि खेलाडीहरुलाई हौसला प्रदान गर्दै प्रतियोगिता स्थल गुञ्जियो । समूह चरणको खेल अन्तरगत गुल्मीसँग प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएको जिल्ला भलिबल संघ नवलपरासीसँग पनि यस्तै अब्बल राष्ट्रिय खेलाडीहरु सहभागी छन् । बुधबारको खेलमा सबै खेलाडी सहभागी नभएको भए पनि नवलपरासीसँग महेन्द्र चौधरी तथा बलिराम चौधरी जस्ता अनुभवी राष्ट्रिय स्तरका खेलाडी सहभागी छन् ।

राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीसँगै नवोदित खेलाडीहरुको प्रर्दशन पनि लोभलाग्दो हुँदै गएको छ । लिक कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजाबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलीसकेका सञ्जु विक्रम शाह, विजय थापा, महेन्द्र श्रेष्ठ तथा राष्ट्रिय खेलाडीहरु हरि पाण्डे (गण्डकी प्रदेश भबिलका क्याप्टेन), राजेन्द्र दर्लामी, सन्तोष थापा लगायतका खेलाडीहरु सहभागी भएका छन् । यसैगरी पर्वतबाट राष्ट्रिय खेलाडीहरु सुवास कुंवर, रुपेन्द्र गैरे, संजय परियार लगायतका खेलाडी सहभागी छन् भने पाल्पाबाट विजय परियार, नवलपुरबाट अन्तर्राष्ट्रिय खेलाडी दुर्गा महतसँगै राष्ट्रिय खेलाडीहरु घनश्याम चौधरी, हिमाल सुनारी, किरण गुराउँ लगायतको सहभागिता छ ।

अधिकांश नयाँ खेलाडीहरु लिएर मैदानमा उत्रिएको रुपन्देही जिल्लासँग पनि थमन खत्री तथा जीबन रसाइली लगायतका राष्ट्रिय स्तरका अनुभवी खेलाडी सम्मिलित छन् । राष्ट्रिय स्तरका खेलाडीहरुलाई नै टक्कर दिने गरी आएका नवोदित खेलाडीहरुको प्रदर्शनले प्रतियोगिता थप रोचक बनेको आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्द बताउँछन् । ७ औं संस्करण आयोजना पछि कोरोना महामारीले ३ वर्ष रोकिएको ८ औं संस्करणको प्रतियोगितामा दर्शकको उपस्थितीले उत्साह थपिएको उनले बताए । लामो हरेक वर्ष प्रतियोगिता गर्दै आएको क्लबले कोरोना महामारीका कारण पछिल्लो ३ वर्ष प्रतियोगिता गर्न नपाएको वरिष्ठ उपाध्यक्ष चन्दले बताए ।

राष्ट्रिय स्तरका प्रतियोगिताहरुले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने बताउँछन् अन्तर्राष्ट्रिय भबिल रेफ्री बिकास गुरुङ । प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका निभाइरहेका उनले खेलकूदमै भविष्य खोज्नेहरुका लागि यस्ता प्रतियोगिताले नयाँ ढोका खोलिदिने विश्वास गर्छन् । खेलाडीहरुका लागि यातायात, खाने बस्ने सुविधासहित आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न २५ लाख बढी खर्च अनुमान गरिएको खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।

विभिन्न प्रदेशका १० जिल्लाका टिम सहभागी प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद राशी १ लाख ५० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तेस्रो र चौथोले क्रमशः ५० हजार र ३० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।