ताजा अपडेट »

धान उत्पादनमा जोड देऊ

बुधबार, १५ असार २०७९, १५ : ०९
6 Shares

आज असार पन्ध्र, अर्थात् धान दिवस । यस दिनलाई मानो रोपेर, मुरी उव्जाउने दिनका रुपमा पनि लिइन्छ । धान नेपालको मुख्यबाली हो । विश्वका एकतिहाई मुलुकमै धानखेती गरिन्छ । ती मध्ये नेपालपनि धान उत्पादन गर्ने देशका रुपमा परिचित छ । नेपालमा धानबाली केवल बालीका रुपमा मात्रै नभई संस्कृतिका रुपमा परिचित छ । रोपाइँ संस्कृति र असार परिपूरक हुन् । त्यसैले पनि असार महिना र १५ गते निकै महत्वपूर्ण छन् । त्यसैले तत्कालिन सरकारले विं.सं.२०६१ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज देशभर १७औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

राष्ट्रिय धान दिवसका अवसरमा आज किसानहरु बिहानै खेतमा रोपाइँ गरी मनाउँदै छन् । त्यसैगरी आजको दिनलाई दही–चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । दही–चिउरा खाएर धान रोप्ने प्रचलन तथा संस्कृति पनि हो । पछिल्ला वर्षहरु सरकार,सरकारी निकाय लगाएत विभिन्न संघ–संस्थाले पनिऔपचारिक तथा सामुहिक रुपमा धान रोपेर यो दिवस मनाउन चलन बनेको छ । असार १५ किसान र उत्पादनका लागि निर्क महत्वपूर्ण दिन भएतापनि रोपाइमा भने हस हुँदै गरेको छ । यस वर्ष मध्य असारसम्म रोपाइमा गत वर्षको भन्दा कमी छ । लुम्बिनी प्रदेशकै हकमा पनि गतवर्षभन्दा करिब १५ प्रतिशत कमले रोपाइँ सम्पन्न भएको छ ।

कृषिप्रधान देश, कृषिनै मुख्य बाली, करिब ६५ प्रतिशत जनता कृषिमै आश्रित, कुलग्रास्थ उत्पादनमा पनि एकतिहाई योग्दान भएको कृषि अन्तर्गत रहेको धानबाली उत्पादनका लागि मल भने अभाव छ । हर्षोल्लासका साथ असार १५ मनाउने अधिकांश किसानहरु मल नपाएकोमा दुखी मात्रै होइन, निरास छन् । बिऊ राख्ने बेलादेखि धान रोप्ने समयमा पनि मल नपाउँदा किसानले समयमै खेती लगाउन सकेका छैनन्। खेत छ, बालीको सिजन छ तर, मल छैन । कस्तो विडम्बना होला ? तर, अहिलेको मात्रै समस्या,पीडा होइन । वर्षौंदेखि यहि समस्याबाट नेपाली किसानहरु पीडित हुँदै आएका छन् ।

वर्षभरीका लागि छाक जुटाउने धान खेतीका लागि किसान उत्साहित हुने दिन हो । रोपाइँमा व्यस्त हुने दिन हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु–छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने दिन हो । तर,यस्तो महत्वपूर्ण समय र खेतीका लागि आवश्यक मल लगाएतका आवश्व सामग्री नुहँदा धेरै किसान समस्यामा रहेका छन् ।

वर्षेनी मुलुकमा अरबौंको धान, चामल आयात हुन्छ । मुलुकमा प्रशस्त सम्भावना हुँदाहुँदैपनि सोहीअनुसार उत्पादन हुन सकेको छैन । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

त्यस्तै, मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।

कृषियोग्य जमिन छ, धान उत्पादन हुने उव्जनी माटो र वातावरण छ। जनशक्ति पनि छ । तर, उत्पादन निकै कम छ, आयात उच्च छ । आँफै उत्पादन नगरेर अन्य मुलुकबाट खरिद गरेर खानुपर्ने बाध्यता छ । आखिर किन ? यसको अर्थ राज्य विकसित भएर,समृद्ध भएर,प्रतिव्यक्ति आय उच्च भएर भने पक्कै होइन । कृषिसम्बन्धी सरकारको स्पष्ट नीति र कार्यान्वयनको अभाव,कृषिमा लागत बढी उत्पादिन वस्तुको मूल्य कम, खेतीयोग्य जमिनमा कृषकको पहुँच कम भएर,खेतीयोग्य जमिनमा प्लटिङ गरेर आदि हो । तसर्थ कम्तीमा मुलुकको मुख्यबाली धानबालीमा आत्मनिर्भर हुन, अरबौं विदेशिन र निर्यात रोक्नका लागि धान उत्पादनमा सरोकारवालो प्राथमिकता र जोड दिन आवश्यक छ । अनि मात्रै राष्ट्रिय धान दिवस मनाउनु र शुभकामना दिनुको सार्थकता होला ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।