ताजा अपडेट »

रुपन्देहीमा मतदानको सम्पूर्ण तयारी पूरा, सुरक्षा ब्यवस्था कडा

विहीबार, २९ बैशाख २०७९, १४ : ४८
8 Shares


भैरहवा । स्थानीय तहको निर्वाचनका लागी रुपन्देहीमा सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देहीमा रहेका २ सय ८ मतदान स्थलमा ७ सय मतदान केन्द्रहरु मतदानको लागी तयार रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहयताले मतदान केन्द्रहरु तयार गरिएको छ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाईन लाग्ने गरि ब्यवस्था मिलाईएको छ भने अपाङ्ग, अशक्त तथा जेष्ठ नागरिकलाई लाईन लाग्न नपर्ने गरि छुट्टै ब्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको निर्वाचनका लागि भोली बिहान ७ बजे देखी नै मतदान सुरु गर्ने गरि तयारी थालेको थियो । आगामी बैशाख ३० गते नेपालमा ६ महानगर पालिका, ११ उपमहानगर पालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० वटा गाउँपालिकामा एक साथ मतदान हुँदैछ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीका अनुसार रुपन्देही जिल्लामा ३ लाख ८ हजार ५ सय ७४ महिला, ३ लाख २३ हजार ७ सय ७८ जना पुरुष ८ जना अन्य गरि कुल ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् ।

रुपन्देहीमा मतदानलाई सफल एवम सुरक्षित बनाउन सुरक्षा घेरालाई ३ तहमा परिचालन गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक रेविन्द्र रेग्मीले जानकारी दिएका छन् । जिल्लामा सुरक्षित तरिकाले मतदान गराउन म्यादी प्रहरी सहित ३ हजार ८ सय प्रहरी भित्रि सुरक्षामा रहने छन् । यसै गरि मतदान स्थलको बाहिरी सुरक्षामा शसस्त्र प्रहरी र त्यस पछि नेपाली सेना खटिने छ । यस बाहेक प्रहरी अधिकृत सहितको नेपाल प्रहरीको गस्ती टोली, शसस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्ती मार्फत सुरक्षा दिनेछन् ।

सिद्धार्थनगर नगर पालिकाको हकमा मतगणना भैरहवा नमूना माध्यमिक बिद्यालयमा हुने भएको छ । यसको लागी मतगणना स्थलको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यस अघि स्थानिय निर्वाचनमा भएको मतगणना स्थललाई यस पटक पनि प्रयोग गरिने भएको छ । तर गतबर्ष भन्दा भिन्दै रुपमा । मतगणना स्थललाई तारबारले घेरिने भएको छ । यसै गरि सिसिटीभीको प्रत्यक्षम निगरानीमा मतगणना हुने भएको छ ।
भैरहवा नमूना माध्यमिक बिद्यालयको सभाहल अर्को एक कोठा गरि २ वटा कोठामा मतगणना गरिनेछ । त्यसै गरि एक कोठालाई कन्ट्रोल रुम र अर्कोलाई मतपेटिका राख्नको लागि प्रयोग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।