ताजा अपडेट »

तिलोत्तमामा बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताको आक्रमण प्रयास

शनिबार, २४ बैशाख २०७९, २० : २४
6 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् ।

वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सिमानगरमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण प्रयास गरेका हुन । त्यसक्रममा केही बालिकाहरुमाथि दुव्र्ययवहार समेत गरेको पीडित बालिकाहरुले बताएका छन् ।

घटनामा पीडित एक बालिकाले आफूलाई लछारपछार गर्दै दुव्यर्ववहार गरेको र कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभरटोलमा कारवाहीको माग गर्दै निवेदन दिएकी छन् । बालसञ्जालकी सदस्य रहेकी ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिंदै २५/३० जनाको समूहले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताइन् ।
प्रहरी कार्यालयमा निवेदन लिएर गएकी उनले चेतनामुलक कार्यक्रम गर्दा आफुहरुलाई राजनीतिक रंग दिइएको भन्दै नेपाली कांग्रेस समर्थकहरुबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले आफुहरुले न्याय पाउनुपर्ने बताईन् ।

प्रहरी चौकी ड्राईभरका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले आफूमाथि हातपात र लछारपछार गरिएको भन्दै उजुरी आएको. र प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले २५ गते सम्म बाल सञ्जाललाई नियमित कार्यक्रम गर्न पाईने सूचना दिएपछि सञ्जालका बालबालिकाहरु सिमानगरमा कार्यक्रम गर्न पुगेका थिए ।

तर कार्यक्रम सकिदै गर्दा निर्वाचन आचारसंहिता विपरित राजनीति गरेको भन्दै आफुहरुमाथि लक्ष्मण मल्ल सहितको टोलीले आक्रमणको प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आईस्मा खरेलले बताईन् ।

बाल सञ्जालले यस अघि पनि तिलोत्तमा ४ मा सिमानगरमा न्यायो कपडा वितरण, सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र त्यहाँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले भर्ना गराउन सचेतनामुलक कार्यक्रमका साथै जन्मदर्ता गर्न छुटेकाहरुलाई जन्मदर्ता गराउन भन्दै सिमानगरमा सञ्जालका बालबालिकाहरु सहजकर्ता लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापा सहित त्यहाँ पुगेका थिए ।

बाल सञ्जालका नगर सचिव सचेत बस्नेतले कार्यक्रममा आफुहरुलाई नबोलाएको, अरु कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशव्द प्रयोग गरी गालीगलोजका साथै हातपातको प्रयास गरेको बताए । त्यस्तै सञ्जालका सदस्य सचिन क्षेत्रीले साईकलमा निस्कदै गर्दा कुटपिट गर्ने धम्की उनीहरुले दिएको बताए ।

सहजकर्ता लक्ष्मी ज्ञवालीले मासिक एउटा अतिरिक्त कार्यक्रम बाल सञ्जालले गर्नुपर्ने भएकोले त्यही कार्यक्रम अनुसार विद्यालय भर्ना तथा जन्मदर्ता कार्यक्रमका लागि सिमानगरमा पुग्दा आफुहरुमाथि आक्रमणको प्रयास भएको बताईन् ।

त्यस्तै बाल फोकल पर्सन मञ्जु थापाले बालबालिकाको कार्यक्रमलाई राजनितिक विषय बनाइएको भन्दै यो कार्यक्रम राजनीतिक नभई बालबालिकाहरुको भएको बताईन् । उनले १८ बर्ष नपुगेका बालबालिकाको कार्यक्रममा त्यसरी कांग्रेस कार्यकर्ताले धम्काउँदा मस्तिष्कमा नराम्रो असर परेको बताईन् ।

नेपाली कांग्रेसका कार्यकर्ताले बालबालिका र सहजकर्तालाई आक्रमण र हातपातको प्रयास गरेपछि उनीहरु भागेर वडा नं. ४ को वडा कार्यालयमा शरणका लागि पुगेका थिए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले घटना बारे आफुले प्रहरीलाई जानकारी गराइसकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।