ताजा अपडेट »

हेटौंडामा गठबन्धनको भागबण्डा अझै मिलेन

शनिबार, १० बैशाख २०७९, १२ : ५८
4 Shares

हेटौंडा । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ-आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारको नाम सिफारिस गरेको छ । तर, सत्ता गठबन्धनका दलहरूले अझैसम्म पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । भागबन्डा नमिल्दा अहिलेसम्म उम्मेदवार टुंङ्गो नलागेको हो ।

गठबन्धनले हेटौंडा उपमहानगरको मेयर भने नेकपा एकिकृत समाजवादीलाई दिएको छ । तर, कांग्रेसका जिल्ला तथा नगरका अधिकांश पदाधिकारीले हेटौंडाको मेयर पाउनु पर्ने दावीसहित असन्तुष्टि जनाइरहेका छन् । नेकपा एसको भागमा परे पनि मेयरको उम्मेदवार को बन्ने हो अझै टुंङ्गो लागेको छैन । नेकपा एसबाट हालकी उपमेयर मिनाकुमारी लामा र मकवानपुर अध्यक्ष श्रीधर पोखरेलेको मेयरमा चर्चा चल्न थालेको छ ।

यसैगरी, नेकपा एमालेले पनि मेयर तथा उपमेयरमा तीन तीन जनाको नाम सिफारिस गरेको छ । तर, अझैसम्म पनि को उम्मेदवार बन्ने भन्ने निश्चित हुन सकेको छैन ।

गत मंगलबार सम्पन्न गठबन्धनको बैठकले हेटौंडा उमपहानगरको मेयर नेकपा एसलाई दिने निर्णय गरेलगत्तै हेटौंडास्थित कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा केही कार्यकर्ताले तालाबन्दी गरेका थिए । हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने पदाधिकारी तथा कार्यकर्ताको माग छ ।
कांग्रेस मकवानपुरले विज्ञप्ति जारी गर्दै मित्रवत प्रतिस्पर्धा गर्ने समेत जनाइसेको थियो । दलहरूको विभिन्न चरणको बैठक बसे पनि उम्मेदवार टुंङ्गो लगाउन भने अझै सकस परिरहेको छ । १२ वैशाखसम्म मनोनयनको लागि समय रहे पनि अझैसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । 

मकवानपुरमा नेकपा एस कति बलियो ?
अन्य जिल्लाको तुलनामा नेकपा एसको मकवानपुर अलि बलियो देखिएको छ । यसैकारण नेकपा एसले हेटौंडामा मेयरको टिकट दावी गरेको हो । 
संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा र बागमती प्रदेशमा समाजवादी दलबाट प्रमुख सचेतक मुनु सिग्देल मकवानपुर जिल्लाकै नेता हुन् । हेटौंडाको उपमेयर मिनाकुमारी लामा पनि एमालेबाट नेकपा एसतिर लागेकी छिन् । अहिले उनी मेयरको टिकटको लागि दौडधुपमा छिन् । यसो हुँदा जिल्लामा समाजवादीको प्रभाव तुलनात्मक रुपमा राम्रो मान्न सकिन्छ ।

गठबन्धनको निर्णयले हौसला मिलेको नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले बताए । उनी गठबन्धनका कार्यकर्ताहरूको समर्थन हुने र हेटौंडामा सहजै जित्ने दावी गर्छन् । 

मतदाता शिक्षा अभियान कमजोर
दलहरूले चुनावी अभियानलाई तीव्र बनाए पनि यसको मतदातासम्म प्रभाव भने निकै कमजोर देखिएको छ । उनीहरूले आम मतदातालाई मतदाता शिक्षा प्रदान गर्न सकिरहेका छैनन् ।

कुन पदमा कुन चिन्हमा कसरी छाप लगाउने भनेर आम मतदातालाई बुझाउन नसकेको अवस्था छ । नेपाली कांग्रेसका नेता तथा हेटौंडाको मेयरका आकांक्षी आनन्दराम पराजुलीले मतदाता शिक्षा अति नै आवश्यक रहेको भए पनि अहिलेसम्म प्रदान गर्न नसकिएको बताए । गठबन्धनले आम मतदातालाई अलमलमा पारिरहेको उनी बताउँछन् । 

हेटौंडा उपमहानगरकी उपमेयर तथा मेयरकी आकांक्षी मिनाकुमारी लामाले पनि मतदाता शिक्षा प्रदान गर्नु ढिला भइसकेको बताइन । अहिलेसम्म उम्मेदवार टुंङ्गो लगाउन नसक्दा घरदैलोमा जान नसकेको उनले बताइन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रसँग कांग्रेसको गठबन्धन भएको थियो । तर, कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली ६सय १५ मतले पराजित भएका थिए । यद्यपि, बदर मतको संख्या सात हजारभन्दा बढी थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।