ताजा अपडेट »

वर्षको पहिलो दिन तिलोत्तमा अशान्त, अमृताको हत्या आरोपसहित कारबाही माग

विहीबार, ०१ बैशाख २०७९, १४ : २१
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वर्ष २०७९ को पहिलो दिननै अशान्त बनेको छ । तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री)को शंकास्पद मृत्यु भएपछि नाराबाजी चलेको छ ।

अमृताको बुधबार राती आफ्नै घरमा मृत्यु भएको हो । बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएको माइती पक्षको आरोप छ । अस्पताल पु¥याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे । ‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।

घटनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् । मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै माईती पक्ष जाहेरी लिएर ईलाका प्रहरी कार्यालय बुटवलमा पुगेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।