ताजा अपडेट »

गैंडा मृत्यु प्रकरण : घटनाको छानबिन गर्न कार्यदल गठन, १० दिनमा प्रतिवेदन दिने

मंगलबार, ११ माघ २०७८, १८ : १०

चितवन । निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ । टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

मंगलबारको मन्त्रिस्तरिय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।

कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।

कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ । त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।