ताजा अपडेट »

साउदीमा कार्यरत नेपालीलाई कम्पनी नछाड्न दूतावासको अनुरोध

मंगलबार, २८ असोज २०७६, १६ : ४६
4 Shares

असोज २८,
काठमाडौँ / साउदीमा कार्यरत नेपालीलाई आफूखुसी कम्पनी नछाड्न त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्ला दिनमा भने अनुसारको काम र सुविधा नपाउँदा कम्पनी छाड्नेको संख्या बढेको भन्दै रियादस्थित दूतावासले सचेत गराएको हो।

यसरी काम छाड्दा समस्या थपिने र मालिकलाई मात्रै बलियो बनाउने भएकाले काम नछाडि वास्तविक समस्या दूतावासमा राख्न आग्रह गरेको छ। समस्या पर्दा नेपालमा म्यानपावरका प्रतिनिधिले भनेको कुरा नभई सम्झौतापत्र आधिकारिक हुने भएकाले सम्झौतापत्र राम्रोसँग हेर्न दूतावासले भनेको छ। गत वर्षको तुलनामा चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्ने र ठूलो धनराशी कम्पनीलाई बुझाउनु परेका घटना बढिरहेको दूतावासको सूचनामा उल्लेख छ। यस्ता कार्यमा संलग्न नहुन र एटिएम वरपर लामो समय नबस्न जानकारी गराइएको छ।

लामो समयसम्म कार्यरत नेपालीलाई केही कम्पनीले स्वदेश फर्किने बेलामा सेवा सुविधा नदिने, महिनौसम्मको तलब नदिने, अकमा(परिचयपत्र) नवीकरण नगरिदिने लगायतका समस्या परे साउदीको श्रम कार्यालयमा निवेदन दिन र त्यसको जानकारी दूतावासमा गराउन भनिएको छ।यस्तो सुविधा दिलाउन समय लागे पनि सुविधा प्राप्त हुने बताएको छ। साउदीमा रहँदा त्यहाँको कानुनको पालना, धर्म संस्कृति र परम्पराको सम्मान गर्न आग्रह गर्दै आलोचना गरेर सामाजिक सञ्जालमा नराख्न भनिएको छ। - नेपालन्युज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।