ताजा अपडेट »

नेपाल-चीन उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज बस्दै

आइतबार, २६ असोज २०७६, १० : ४९
4 Shares

नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज काठमाडौंमा बस्दैछ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् भने चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्। बैठक ११ बजे सुरु हुने जनाइएको छ। बैठकमा नेपाल–चीन बहुआयामिक सम्बन्धका सबै पक्षहरूमा छलफल हुनेछ। विगतमा नेपाल र चीनबीच भएका सम्झौता र तीनको कार्यान्वयनका सम्बन्धमा पनि दुई मुलुकका नेताबीच छलफल हुने जनाइएको छ।

बैठकमा केही सम्झौताहरूलाई अन्तिम रूप दिई तीनमा हस्ताक्षरसमेत गरिने कार्यक्रम रहेको छ। बैठकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा करिब एक दर्जन सम्झौता तथा समझदारीपत्र (एमओयु)मा दुई मुलुकका सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने जनाइएको छ। केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), नेपाल–चीन सुपुर्दगी सन्धि, काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङमार्ग, रसुवागढी–काठमाडौं सडक, किमाथाङ्का–हिले सडक, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर–नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, फुकाट–कर्णाली हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, औद्योगिक पार्क निर्माणलगायत विषयमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपतिले काठमाडौं आएकै दिन शनिबार केरुङ–काठामडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन र काठमाडौं–केरुङ सुरङमार्गको काम अघि बढाउने प्रतिबद्धता जनाइसकेका छन्। उनले शनिबार नै नेपाललाई सन् २०२० देखि २०२२ सम्म दुई वर्षको अवधिमा ५६ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।