ताजा अपडेट »

रुपन्देहीमा जनगणनाको तयारी पूरा, १ हजार १ सय २१ गणक घर-दैलोमा पुग्दै

बुधबार, २४ कार्तिक २०७८, २० : २४
4 Shares

बुटवल । बिहीबारदेखि देशभर ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणना अन्तर्गत १२औं राष्ट्रिय जनगणना बिहीबारबाट सुरु भएर ९ मंसिरमा सकिनेछ। रुपन्देहीमा राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको छ । जिल्लामा लुम्बिनी प्रदेश जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालय रुपन्देहीबाट गरि १ हजार एक सय २१ जना गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्नेछन्।

लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही ‘क’ ले जिल्लाका ७ स्थानीय तहको गणनाको लागि ५२० जना गणक खटाएको जनजणना अधिकारी कृष्णराज पाण्डेले बताए । उनका अनुसार लुम्बिनी प्रदेश जनगणना कार्यालय, रुपन्देहीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिकाको गणना संकलन गर्नेछ ।

जनजणना अधिकारी कृष्णराज पाण्डेले गणकहरुलाई ४ दिने तालिम प्रदान गरि आ–आफ्नो कार्यक्रममा खटाईएको बताए । उनले भने, ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर आ–आफ्नो कार्यक्षेत्रमा पठाएका छौँ । उनीहरूले भोलिदेखि आफ्नो काम गर्नेछन् ।’ लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही ‘क’ले जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरेको थियो । घर सूचीकरण गर्न १३० जना सुपरिवेक्षक खटिएका थिए।

उक्त ‘क’ कार्यालय अन्तर्गत बुटवल उपमहानगरपालिकमा २ वटा, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ वटा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको उनले बताए ।

यता, जिल्ला जनगणना कार्यालय रुपन्देही ‘ख’ ले जिल्लाका अन्य ९ स्थानीय तहको गणनाको लागि ६०१ जना गणक खटाएको जनजणना अधिकारी अवधेश कुमार शुक्लाले बताए । जनगणना कार्यालय रुपन्देही ‘ख’ अन्तर्गतका गणकहरुले सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका गरी ९ स्थानीय तहमा गणना गर्नेछन् ।

उनका अनुसार सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र सम्मरीमाई गाउँपालिकामा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । जनजणना अधिकारी शुक्लाले गणकहरुलाई तालिम प्रदान गरि आवश्यक साम्रगीहरु सहित आ–आफ्नो कार्यक्रममा खटाइएको बताए । गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे