ताजा अपडेट »

बुटवलको दशैं सस्तो बजार सकियो : ५१ लाखको कारोबार,९२ लाख बढी नयाँ नोट साटिए

सोमबार, २५ असोज २०७८, १८ : ४८
6 Shares


बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । दशैंको घटस्थापनाबाट सुरु गरिएको दशैं लक्षित सस्तो बजार सोमबार सकिएको हो । दशैं सस्तो बजारमा करिव ११ हजार उपभोक्ता आएको र बजार भित्र सरदर ५१ लाखको कारोवार भएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले जानकारी गराए ।

दशैं सस्तो बजार सकिएसंगै बजारमा सहभागि स्टल धनीलाई संघले सम्मान पत्र प्रदान गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहितको टोलीले स्टल धनीलाई प्रशंसा पत्र प्रदान गर्दै संघको कार्यक्रममा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।

सस्तो बजारमा नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट सटही गरिएको थियो । दशैं सस्तो बजारमा ९२ लाख ५० हजार रुपैंया बराबरको नयाँ नोट सटही गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीमा ग्लोबल आईएमई बैंकले सहयोग गरेको थियो । साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थान सहितका ३० वटा स्टल राखिएको थियो ।

त्यस्तैगरी दशैं सस्तो बजारमा खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, मसला, माछा मासु लगायतका दैनिक उपभोग्य सामाग्रिहरु राखिएको थियो । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराएको संघका अध्यक्ष कसजूले बताए। संघले प्रत्येक दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको थियो । यद्यपी कोरोना महामारीका कारण अघिल्लो वर्ष भने दशैं सस्तो बजार हुन सकेन । यो २० औं संस्करणको हो । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।