ताजा अपडेट »

सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना

सोमबार, ११ असोज २०७८, २० : १७
4 Shares

गुल्मी । ‘स्वर्गद्वारीले चुँडेको सपना,अधुरै रह्यो लगनको महिना’- नयाँ वर्ष २०७८ कै पहिलो दिन अर्थात् बैशाख १ गते दिउँसो गाडी भित्रै हाँस्दै नाच्दै–गाउँदै नयाँ वर्ष मनाउन हिँडिरहेका एक टोली क्षणभर मै गाडी खसेर कोही मृत्युवरण गरे,कोही मृत्युसँग जुद्धै भिरमा छट्पटाइरहे ।

ती थिए,जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी , उनका आफन्त र गाडी चालक । घर–घर,टोल र चोकमा सबैले धुमधाम खुशीयालीका साथ नयाँ वर्ष मनाइरहेको बेला प्यूठानको स्वर्गद्वारीमा गुल्मी जिल्ला प्रशासन कार्यालयबाट घुम्न गएका कर्मचारीहरु दुर्घटनामा परे, फलानो– फलानोले ज्यान गुमाए’रे भन्ने सुन्न साथ सारा गुल्मेलीहरु भावविहिल भए । नयाँ वर्ष कालो दिनमा परिणत भयो । लाउँ-लाउँ ,खाउँ-खाउँ भन्ने उमेरका ती कलिला मुनाहरु गुमाउनु पर्यो ।

ती थिए स्याङ्गजा घर हुने गुल्मी जिल्ला प्रशासनका प्रशासकीय अधिकृत श्याम न्यौपाने , रेसुङ्गा नगरपालिका- ७ वेदुखर्क निवासी सुर्य पन्थी, गुल्मीकै धुर्कोट गाउँपालिका- ७ वाग्ला घर भएका ईश्वरी भण्डारी, मालिका गाउँपालिका–७ घमिरका यमलाल पन्थी र दुर्घटना भएको लु १ ज १६५५ नम्वरको जिप चालक मुसिकोट नगरपालिका–३ ठूलापोखरा निवासी केशव कार्की ।

५ जना मध्ये कार्की बाहेक अन्य चार जना सोही प्रशासनका कर्मचारी थिए । सबै भन्दा कम उमेर कार्कीको २२ वर्ष र अन्य २८ देखि ३० वर्ष सम्मका थिए । १२ जना घाइते भएका थिए । मृतक न्यौपानेका ४ वर्षीय छोरा र श्रीमतीको पेटमा ६ महिनाको गर्भ थियो । श्रीमती इस्मा गाउँपालिकाकै कर्मचारी हुन् । नयाँ वर्षको दिन श्रीमती र छोरालाई ‘ह्याप्पी न्यू इअर’ भन्दै बाई बाईको हात हल्लाउँदै हिँडेका न्यौपाने सँधैका लागि बिदा भए । भण्डारीकी ९ महिनाकी छोरी छन् । पन्थीको यसै वर्ष विवाह गर्ने तयारी थियो ।

। ‘विवाहको तयारी भएको घरमा उनैको काजकिरिया’ हो, यस घटनामा मृत्यु हुने घमिरका घिमिरेको केटी मागेर विवाहका लागि ठिक्क पारिएको थियो । विवाह मण्डपका लागि सिङ्गार्न लागिएको घर उनै हुनेवाला बेहुलाको काज–किरियाको कुनोमा परिणत भएको थियो । चालक कार्कीको पनि विवाह भएको थिएन । त्यस दुःखद घटना घटेको अहिले ६ महिना हुँदैछ ।

‘प्रतिभाको मृत्यु : बाकसमा उनी,आकाशमा बाबू-आमा’

लगत्तै यस्तो दुःखद खबर लेख्नु पर्याे । बैशाख–१ को त्यो दर्दनाक घटनाले गुल्मेलीहरुको आँखा ओभाउन नपाउँदैं बैशाख ९ गते बिहीबारको दिन गुल्मीको चन्द्रकोट गाउँपालिका ८ साविक तुराङ्ग गाविसको झुर्मुगाउँ पुर्ख्यौली घर भई रूपन्देहीको तिलोत्तमा –१ नयाँमिल बस्ने र सोही स्थानको प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको होस्टेलमा अचानक बेहोस भई उपचार गर्न लैजाने क्रममा १५ वर्षिया प्रतिभा सापकोटाको मृत्युको खबर आयो । उनका बाबु बाबू डोलनाथ सापकोटा र आमा लक्ष्मी सापकोटा जापानमा थिए ।

एसईई परिक्षाको तयारीका लागि भन्दै घर नजिकैका ६ जना छात्राहरूलाई समेत दुई महिना अघिदेखि जबर्जस्ती होस्टेलमा बस्न भनिएको र मृत्यु घटना रहश्यम भएको भन्दै परिवारले त्यति बेला आवाज उठाएका थिए ।

‘विवाहको एक महिना नपुग्दै होटलमा मृत फेला परिन् रुपा’

जेठ-२ २०७८ आइतारको घटना हो यो । त्यसदिन बिहान ६ बजेको समयमा पाल्पास्थित आफ्नै होटलमा मृत फेला परेकी २२ वर्षिया रुपा पराजुली घिमिरेको विवाह भएको एक महिना पनि पुगेको थिएन । अर्घाखाँचीको पाणेनी गाउँपालिका–३ खिदिम अम्बावोट माईती घर भएकी उनको तानसेनका सुन्दर घिमिरेसँग बैशाख ११ गते विवाह भएको थियो । विवाह गरेदेखि श्रीमानले मादक पदार्थ र लागु पदार्थ समेत सेवन गरेर आफू माथि हिंसा गर्दै आएको माइतीजनलाई सुनाएको र छोरीको हत्या नै गरिएको दाबी गर्दै उनका बाबु न्यायको खोजीमा भौतारिँदै र अहिले सम्म तड्पिँदै आएका छन् । तर ,यस घटना पनि प्रहरीले आत्माहत्या कै फाइलमा राखेको छ ।

विवाहको २७ दिनमा महिलाको रहश्यमय मृत्यु

रुपन्देही मै जेठ १४ गते दिउँसो घर मै एक युवतीको रहश्यमय मृत्यु भयो । जिल्लाको सैनामैना नगरपालिका बर्माचोकदेखि २३ बर्षीया बिष्णु बराल भट्टराईको झुण्डिएको अवस्थामा रहश्यमय मृत्यु भएको हो । उनले त्यसको २७ दिन अघि मात्र ३० वर्षिय प्रदिप भट्टराईसँग विवाह गरेकी थिइन् । कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी बिष्णु बराल ( क्षेत्री ) लाई रुपन्देही मै घर हुने एक जना आफन्तले दुई वर्ष अघिनै मगनी गरि भट्टराइसँग विवाह गराई दिएकी थिइन्।

रुपन्देही मै पोखराबाट माइतीजन आएर १५ लाख रुपैयाँ खर्चेर छोरीको भब्य विवाह गरि दिएका थिए । धुर्पाइलो फर्काउन समेत माईती घर जान नपाएकी बिष्णुलाई आउने बाटो हेरे बसिरहेका बेला माइतीजन उनको शव बुझ्न आउनु पर्याे । विवाह भएको केहि दिनदेखि दाइँजो कम दिएको भन्दै घरमा कच–कच सुरु भएको माइतीजनले बताउँदै उनको हत्या नै भएको भन्दै प्रहरीमा हारगुहार गरेका थिए । तर,यस घटनाको पनि बुटवल प्रहरीले सत्य तथ्य बाहिर ल्याउन अथवा माइतीजनलाई सन्तुष्ट बनाउन सकेको छैन् ।

विवाहको १४ महिनामै मृत्यु

यो घटना गत असार २८ गते साँझ पाल्पाको हो । प्रहरीका अनुसार असार २८ गते साँझ करिब ८ बजेको समयमा तानसेन नगरपालिक–५ शिवपोखरीकी १९ वर्षिया सरस्वती नेपाली आफ्नै घरको माथिल्लो तल्लाको बलोमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको माईती घर तानसेन नगरपालिका–११ बन्दिपोखरा भएको र १४ महिनाअघि त्यस शिवपोखरीका सुशिल नेपालीसँग प्रेम विवाह भएको उनका दाजु सागर थडराईले जानकारी दिए । यो घटना पनि रहश्यमय रहेको भन्दै माईतीजनले छानिवनको माग गरेका थिए ।

अन्तरजातिय विवाहले चुड्यो सिर्जनाको जापान उड्ने सपना

यो घटना २१ साउन २०७८ को हो । जापान उड्ने सपना बोकेर अर्घाखाँचीको सितापुरबाट गत वर्ष बुटवलमा झरेकी २१ वर्षीया सिर्जना सुनारको जापान उड्ने सपना अन्तरजातिय प्रेम सम्बन्धले चुँडि दियो । नेपाली सेनाको कपिलवस्तु ब्यारेकमा कार्यरत गाउँकै सुमन क्षेत्रीले प्रेम जालमा फसाएका थिए उनलाई । विवाह गर्छु ,भन्दै बुटवलको पुरानो बसपार्क पछाडि डेरा गरि राखेका उनले अघिल्लो पटक पेटमा ८ महिनाको गर्भपतन गराए । पछि तीन महिनाको गर्वधारण गराएको र विवाह गरौं भन्दा नमानेपछि कुटपिट गाली–गलौज गर्दै राख्ने गरेको अवस्थामा उक्त दिन कोठा मै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सेनाका जवान क्षेत्रीलाई प्रक्राउ गरी आत्माहत्या दुरुसाहन मुद्दामा अनुसन्धान गर्ने क्रममा अदालतले उनलाई धरौटीमा छाडेको र सेनाबाट निलम्वनमा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रंकज चुँदालीले बताए ।

रहश्यमय सिता भण्डारी मृत्यु प्रकरण

२० भदौ २०७८ को घटना हो यो । रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ मणिग्राम ४ नम्बर टोल माइती घर भएकी २७ वर्षीया सिता भण्डारी पौड्याल भदौ १९ गते दिउँसो सम्म माइती घर मै थिइन्। त्यसदिन दिउँसो तानेसनमा ‘दि दरवार कटेज एण्ड रिर्सोट’ सञ्चालन गरेर बसेका उनका श्रीमान टीका पौड्यालले घरमा भतिजीको वर्थडे मनाउनु छ , तिमी आज घर जाउँ म साँझ आउँछु भनेर पठाए । उनी तिलोत्तमा ५ , कफी टोल स्थित घर गइन् । तर अर्कोदिन उनको मृत्यु भएको खबर माइतीमा पुग्यो । बिहान मुखबाट रगत बगेको , शरिरका विभिन्न ठाउँमा निलो डाम भएको ,सिरानी लगाइएको र गलामा डोरी कसिएको अवस्थामा सिताको शव फेला पर्यो ।

घटना स्थलको पृकृति देख्दा र त्यस रात त्यस घरमा मानिस आवत–जावतको अवस्था , श्रीमान विहानै ५ तिर बाहिर निस्केको दृश्य सिसिटीभीमा हेर्दा माइतीजनले छोरीकको हत्या भएको माइतीजनले ठहर गरे । तर, झुण्डिएर मृत्यु भएको मेडिकल रिर्पोट आएपछि माइतीजन थप आक्रोशित भए । बुटवल इलाका प्रहरी कार्यालयले कर्तब्य ज्यान मुद्दाको जाहेरी लिन नमानेपछि धेरै दिनसम्म आन्दोलनहरु पनि भए । पछि उक्त मुद्दा प्रहरीले लियो । सुरुमा दिएको आत्माहत्या दुरुत्साहनको मुद्दा सहित दुबै पाटोबाट अनुसन्धान भइरहेको र सिआइबीको टोली समेत अनुसन्धानमा खटिएको बुटवलका प्रहरी निरीक्षक पंकज चुँदादी बताउँछन् ।

उनका अनुसार सिता भण्डारी मृत्यु घटनाको आज २३ दिन पुग्दा समेत उनको शव उठन सकेको छैन । दुई वर्ष अघि ४१ बर्षीय टीका पौड्लाले २५ बर्षीया सिता भण्डारी संग दोश्रो विवाह गरेका थिए । प्रहरी निरीक्षक चुँदालीका अनुसार पक्राउ परेका उनका श्रीमान टीका पौड्याल , दिदी बिष्णु पौड्याल र वडा सदस्य रहेका उनका दाजु हरि पौड्याल प्रहरी हिरासत मै रहेका छन्।

पहिरोले पुरेर एकै परिवारका तीन दिदी-बहिनीको मृत्यु

यहि असोज ५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका-८ थुम्का टोलमा पहिरोले घर पुरिएर एकै परिवारका तीन दिदी बहिनीहरुको मृत्यु घटना पनि कम दर्दनाक छैन् । त्यस टोलका तिलक परियारकी २१ वर्षीया छोरी भावना परियार , १४ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको ज्यान गयो । परियारका ५ छोरी मध्ये साइँली छोरी सुजतालाई पहिरोबाट बाबुले थुतेर बचाए । जेठी छोरी सुष्मा विवाहित भएकोले त्यस घरमा थिइनन् । परियार दम्पत्ती सुतेको कोठामा पहिरोले कम क्षति पुराएकोले भागेर बाँच्न सफल भए । साँझ खान खाई गफ गर्दा गर्दै अब बत्ति निभाएर सुत नानी हो भनेको केही बेरमै परियार दम्पत्तीका खुशीको बत्ती नै सदाका लागि निभ्यो ।

माथि उल्लेखित प्राकृतिक र दैविक घटना बाहेक महिलाहरुको मृत्यु घटना पुरुषद्वारा क्षणिक यौन शोषणबाट महिलाहरुलाई माया जालमा फसाइएको , कतै अनमेल प्रेम सम्वन्ध वा झुक्काएर विवाह बाटै उत्पन्न भएको पाइन्छ । ती मध्ये कतिपय मृत्यु घटना माइतीजनले आशंका गरे झैं सुनियोजित नै हुनकी भन्ने घटना क्रमले देखाउँछ । यी घटना क्रमलाई सरोकारवालाहरुले गहिरिएर अध्ययन गर्दै चेतना अभिवृद्धि गर्न र प्रहरीले सुक्षम अनुसन्धान गर्न पनि जरुरी देखिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार