ताजा अपडेट »

दुई दिदी-बहिनीले तीन दिदी-बहिनीको शव उठाउँदाको त्यो क्षण

शुक्रबार, ०८ असोज २०७८, १९ : ४३
18 Shares

गुल्मी । साँझ अबेरसम्म चार दिदी–बहिनीहरु एउटै कोठामा जिस्किँदै फेशबुक चलाउँदै र गफ गर्दा–गर्दै मिठो निद्रामा पर्दछन् । रातको त्यस्तै साढे ११ बजेको समयमा एक्कासी पहिरोले घर च्यापेपछि चार मध्ये तीन दिदी–बहिनीहरु ऐया… पनि भन्न नपाई यो संसारबाट बिदा हुन्छन् , बाँचेकी एउटीले तिनै मृतक दिदी बहिनीहरुलाई हेर्दै डाँको छाड्दै गर्छिन्। तीन दिन अघि गुल्मीमा घटेको यस्तो कहालीलाग्दो घटनाको समाचार धेरै सञ्चार माध्यममा आइसकेको छ । तर,पनि यस घटनाका दुई साहसी महिलाको दर्दनाक कथा ओझेलमा परेको छ । यसर्थ ढिलै भएपनि त्यसको उठान गर्न गइरहेका छौं।

घटना हो असोज ५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका-८ थुम्का टोलको । त्यस टोलका तिलक परियारको घरमा त्यस राति अकल्पनिय घटना घट्यो । उनका कल–कलाउँदो उमेरका तिन छोरीहरुलाई माथिबाट आएको पहिरोले निद्रामा परेको केहि बेर मै चुँडेर लग्यो । त्यस यताका दृश्यहरु थप पीडादायी रहेका छन्। २१ वर्षिया छोरी भावना, १४ वर्षिया जुम्ल्याहा दुई छोरीहरु गंगा र जमुना अर्को दिन निर्जिव ढुङ्गा जस्तै बनेर अस्पतालको शवगृहमा राखिएको थियो । राति नै सुरक्षाकर्मीहरुले शव लगेकोले उनीहरुका बाबु आमा र बाँचेकी एक छोरीले शव देख्न समेत पाइरहेका थिएनन्।

अलि तलको घरको दलानमा घुँकुर–घुकुर गरिरहेका उनीहरु मध्ये आमा चाँही अर्धचेत देखिन्थिन् । दिउँसो अबेर तिर अस्पतालबाट शव उठाउँदाको दृश्य थप दर्दनाक बन्यो । तिलक परियारका पाँच छोरीहरु मात्रै थिए । एउटी सुष्मा विवाहित भएकाले तलै बजारमा कोठा गरेर बस्थिन् । घरमा रहेकी साइँली छोरी सुजातालाई बाबुले पहिरोबाट थुतेर बचाए । बाँचेका तिनै दुई छोरी आफूहरुको आँशु लुकाउने र बाबु आमालाई साहस दिलाउने प्रयास गरिरहेका थिए । तर, उनीहरुको आँखामा आँशु रोकिन भने सकेको थिएन।

बाबा आमा हामी तपाइँका छोरी होइनौं छोरा हौं भने । र , दिदी–बहिनीहरुको शव हामीले बोकेर शाहघाटमा पुराउँछौ भन्दै अगाडि सरे । जेठी सुस्माले आँशु पुछिन् ,मुहारमा कठोरता ल्याइन् । उनकी १७ वर्षिया बहिनी सुजाताले अघिल्लो रातसँगै निदाउनु पूर्व दिदी–बहिनीहरुसँगको हाँसी–मजाक सम्झीदै भक्कानो छाड्दै थिइन्।

कलकलाउँदा ती तीन बहिनीको लहरै शव राखेको देख्दा अस्पताल परिसर पुग्ने सारा मानिसहरु रोइरहेका थिए । त्यही क्रममा तिलक परियारका दुई छोरीहरु छोरा बनेर तीन दिदी बहिनीहरुको शव काँधमा बोकेर अगाडि बढे । दृश्य साहसको एक उदाहरण थियो । तर, निकै ह्ृदयविदारक । सुष्मा आँफैपनि कोठर संघर्षसँग जुध्दै आएकी त्यस घरकी छोरी हुन् । यसर्थ पनि उनले परि आएको विपद्सँग जुध्ने साहस देखाइन्। उनीहरुको पुख्र्याैली घर गुल्मीदरबार गाउँपालिका–२ झिरबास हो । त्यस दिन उनीहरु झिरबास मै गए ।

प्रतिक्षारत खुशी पहिरोले चुँड्यो

बाबु तिलक परियार आँफै पनि एक संघर्षशिल ब्यक्ति हुन् । अन्दाजी ४० वर्ष उमेरका उनले झिरबासको सामन्य कच्ची घरदेखि सदरमुकाम तम्घासमा पक्की घर र टेलर पसलको मालिकको यात्रसम्म आइपुग्दा निकै संघर्ष गर्नु पर्यो । पाँच वटै छोरीहरुको पठन–पाठन उनले आफ्नो कपडा सिलाउने पेशाबाटै गरे । गाउँको सिलाउने हाते मेशिनबाट सुरु भएको उनको यात्रा अहिले चार–पाँच वटा आधुनिक सिलाउने मेशिनसम्म आइपुगेको थियो ।

तम्घासको क्याम्पस रोडमा छोरी भावना कै नाममा भावना टेलर पसल सञ्चालन गरेका तिलक परियारले तम्घासको पाखो मानिने थुम्का टोलमा १२ वर्ष अघि घडेरी किनेर एक तले पक्की घर पनि बनाएका थिए र छोरीहरुको विवाह लगाएत क्रमशः खुशीका दिनहरुको प्रतिक्षामा रहेका उनीबाट त्यसै घरले खुशी छिन्यो ।

छोरी भावना त्यस टेलर पसलमा आफूसँगै काम गर्ने सहकर्मी साथी जस्तै थिइन्। अब त्यस पसलको बोर्डमा उनको नाम भावना मात्रै रहने भएको छ । असाध्धै अनुशासित र मिजासीला छोरीहरु पाएका थिए उनले । तम्घासको महेन्द्र नमुना माविमा पढ्दै गरेका गंगा र जमुना निकै प्रतिभाशाली र अनुशासित विद्यार्थी रहेको भन्दै त्यस विद्यालयका शिक्षक रोम बिश्वकर्माले शोक ब्यक्त गर्दै थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागि उनका छोरीहरुको कला–प्रतिभा तम्घासबासीका आँखामा अहिलेसम्म नाचिरहेको छ । त्यस घटनाको दोश्रो दिन दिउँसो शोक ब्यक्त गर्दै गुल्मी उद्योग बाणिज्उय संघले तम्घास बजार बन्द गर्यो । पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष नवराज भुसाल भन्छन् –‘ घटना पछिका दृश्यले थप स्तब्ध पार्याे र ती दुई साहसी छोरीहरुको साहसलाई मान्नै पर्छ ।’

भिडियो : सामाजिक सञ्जाल
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार