ताजा अपडेट »

प्रेमविवाहको १४ महिनामै पाल्पाकी सरस्वती घरमै मृत फेला

बुधबार, ३० असार २०७८, १२ : ०६
6 Shares

बुटवल । दुई दिनअघि पाल्पामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक युवतीको १४ महिना अघि मात्र प्रेम विवाह भएको र मृत्यु घटना रहस्यमय रहेको माइतीजनले बताएका छन् । पाल्पा प्रहरीका अनुसार असार २८ गते साँझ करिब ८ बजेको समयमा तानसेन नगरपालिक–५ सेतीपोखरीकी १९ वर्षिया सरस्वती नेपाली आफ्नै घरको माथिल्लो तल्लाको बलोमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीको विवरणमा सेतीपोखरी लेखिएपनि त्यस स्थानको नाम शिवपोखरी रहेको मृतकका परिवाजनले बताए ।

पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार उक्त घटनाको जानकारी पाउन साथ प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी घटना स्थलमा पुगेको थियो र घटनाको थप अनुसन्धान भइरहेको छ । उनको माईती घर तानसेन नगरपालिका–११ बन्दिपोखरा भएको र १४ महिनाअघि त्यस शिवपोखरीका सुशिल नेपालीसँग प्रेम विवाह भएको उनका दाजु सागर थडराईले जानकारी दिए । दाजु थड्राई भन्छन् –‘बहिनी दिदीकोमा एक रात बसेर फर्किएको बताइएको छ । तर, त्यस दिन दिदीहरु तानसेनमा रहेको कोठाबाट यता घर आउनु भएको थियो, तलको कोठामा श्रीमान सुतेको र माथिको तलमा बहिनी त्यस्तो अवस्थामा फेला परेको बताइन्छ ।’

दाजु थड्राईले बहिनी सरस्वतीको मृत्यु रहस्यमय रहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । उनका अनुसार प्रेम विवाह गरेर गएदेखि सरस्वती माइती घर फर्केकी थियनन् र उनीहरुको ढोँग–भेट पनि भएको थिएन । त्यस घरमा सरस्वती र उनका श्रीमान मात्रै बस्ने गरेको थड्राईको भनाई छ । मृतकका श्रीमान सुशिल नेपालीसंग सम्पर्क राख्दा असार २७ गते तानसेन कैलास नगरमा रहेकी दिदीको घरमा उनी बस्न जान्छु भनेर आफु खुशी हिँडेकी थिइन् । उनी भन्छन्–‘आज नजाउ पछि दुबै जना संगै जाउँला भनेर भनेको थिएँ । उनी नमानेर आफू खुशी गइन् ।

अर्कोदिन विहान साढे ८ बजेतिर आइन् । एक डेढ घण्टा तल कोठामा सँगै बस्यौं । त्यसपछि उनी घाँस काट्न जान्छु भन्दै हिँडिन् । धेरै बेरसम्म नआए पछि फोन हाने । चार पाँच पटकसम्म फोन नउठेपछि उनी घाँस काट्न जाने गरेको स्थान तिर खोज्न गएँ । उनकी मिल्ने साथीसँग पनि सोधपुछ गर्न गएँ । फेरी पनि फोन हाने । फोन नउठेपछि केहिसिप नलागेर आँटीमा गइछन् कि भनेर खोज्न गएँ, माथि दुई वटा कोठा छन्, वल्लो कोठामा देखिन, पल्लो कोठामा हेर्दा झुण्डिएको अवस्थामा देखें, साँझ त्यस्तै छ बजेतिर हो ।’

उनले श्रीमती र आफू बीच कुनै किसिमको मन–मटुवा नभएको बताए । आफ्नो उमेर ३१ वर्ष भएको र उनीसँग गत वर्षको जेठ २१ गते प्रेम विवाह गरेर भित्राएको उनले सुनाए । सरस्वतीले माइतीले ढोग–भेट फुकाई दिए माइत जान पाउने थिएँ भन्ने गरेको उनी बताउँछन् । आमासँग त्यस बारे उनले फोनमा कुराकानी गर्ने गरेको बताउँदै उनले भने–‘ढोग–भेट फुकाउने कुरा चल्दा–चल्दै सात महिना अघि मेरी आमाको मृत्यु भएर रोकिएको थियो। उनले के कारणले आत्माहत्या गरिन् भन्ने कुराको अड्कल काट्नै सकेको छैन्।’

गत वर्ष सरस्वतीले एसईई उत्तिर्ण गरेकी थिईन् । तानसेनको बसन्तपुर स्थित जनता उच्च माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने तयारी भइरहेको बेला यस्तो घटना भएको उनका श्रीमान सुशिल नेपालीले बताए ।

https://www.globalaawaj.com/archives/120017
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार