ताजा अपडेट »

विवाहको २७ औं दिनमा पोखराकी बिनिताको रुपन्देहीमा मृत्यु

मंगलबार, १८ जेठ २०७८, १७ : ११
78 Shares

बुुटवल । जसले आफू बेहुली सिंगारिने कपडा–लत्ता, श्रृंगार–पटारका सामग्री आफैले रोजी–रोजी खरिद गरिन् । बेहुलालाई लगाई दिने स्वयम्वरको औंठीदेखि दाइँजोसम्म आँफै किनेर आफ्नो विवाहको तयारीमा आँफै जुटिन् । गत वर्षको कार्तिक–मंसिर महिनामै मगनी भएका जोडीसँग विवाह गर्ने तयारीमा थियो ।

तर, त्यति बेहुलाका हजुर बुवाको मृत्यु भएका कारण विवाह रोकिन पुगेकी थियो । त्यसैले यसपाली लगनको महिना बैशाखमा विवाहको तयारी गरिएकोमा भ्याई–नभ्याई थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री ) लाई मगनी गरि दिएकी थिइन् रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग ।

गत वर्ष मगनी भई सकेपछि उनीहरुबीच भेटघाट , कुराकानी हुँदै नजिकको सम्बन्ध झाङ्गिदै गइसकेको थियो । हुनेवाला बेहुला पोखरास्थित हुनेवाला ससुरालीमा पनि जाने आउने गर्दै आएका थिए । प्रदिप भट्टराई त्यस घरका एक मात्र छोरा हुन् । लामो समय मुम्वई बसेर आएका , घर परिवार पनि राम्रै । उनी पनि खाइलाग्दो आकर्षक युवा । यसर्थ हुनेवाला बेहुली बिष्णुृले हुनेवाला बेहुलालाई आफ्नो जीवनसाथीका रुपमा मन–मस्तिष्कमा सजाई सकेकी थिइन् । शरिरको नशा–नशा र कण–कणमा भिजाई सेकेकी थिइन् ।जसका कारण विवाह पूर्व नै उनी प्रदिपलाई भेट्न समेत आएकी थिइन् ।

उनकी आफन्त र एकदम नजिककी साथी मद्रानी गाइघाटकी अर्चना गौतमका अनुसार उनले प्रदिपलाई दिने मायाको सिमा थिएन । तर, प्रदिप कम बोल्ने र बेला बेलामा झर्किने गर्दथे । कहिले काँही झडगा गर्दै मैले तिमीलाई विहे गर्ने मेरा लगि होइन , घरमा आमा बुवा र दिदीकाका लागि हो भन्दै तिखो वचन लगाउने पनि गर्ने गरेको उनै बिष्णुकी साथी अर्चना गौतमको बुझाई छ । र, पनि बिष्णुमा उनीप्रतिको समपर्ण र जिवनसाथी बनाउने सपना , जप्न र तड्पन कायमै थियो । उनले गत वर्ष मगनी नहुनु अघिसम्म पोखराकै एक वित्तिय संस्थामा काम गर्थिन् । त्यसपछि त्यो जागिर छाडेर बसेकी थिइन् । पोखराकै पृथ्वी नारायण क्याम्समा स्नातक तेश्रो वर्षमा अध्यानरत बिष्णु त्यस घरका चार छोरीहरु मध्ये कान्छी छोरी हुन् ।

त्यस घरको विवाह पनि कान्छो विवाह थियो । बाबु लेखनाथ बराल गाडी दुर्घटनामा परी थला परिरहेको बेला २०६५ सालमा मृत्यु भएको थियो । त्यतिबेला उनी सानै थिइन् । घरमा दाजु भाई थिएनन् । यसर्थ आमा तारादेवी बरालको अविवाहित एक मात्र छोरी, छोरा सरहको बुढेशकालको साहारा थिइन उनी । तर, के गर्ने छोरीको जात अर्का घर गर्नै पर्ने रीति यसर्थ गत बैशाख १७ गते तिलोत्तमाको दुर्गा मन्दिरमा भब्य विवाह भयो । पार्टी प्यालेसमा विवाह गर्ने टुङ्गो लागे पनि प्रशासनद्वारा निषेधाज्ञा जारि भएकोले ठाउँ सार्नु परेको थियो । विवाहमा झण्डै १५ लाख खर्च गरिन् उनकी आमा तारादेवीले ।

‘बिवाह कै दिनदेखि दाइँजोको कच–कच सुरु’
उनलाई मगनी गर्ने मद्रानी गाइघाटकी पार्वती गौतमले भनिन–‘ बेहुलाकी आमाल विवाह कै दिन देखि दाइँजोका बिषयमा कचकच सुरु गरेकी थिइन् ।’ घर परिवारका सबै आफन्त महिलाहरुलाई औठीदेखि छड्के तिलहरी सम्मका गहना दिइएकै हो ,जेठानी दिदीहरु सम्मलाई गहना दाईजो नदिएको भन्दै फानेमा समेत आफूसँग कराइएको थियो । यो कुरा मैले पोखरास्थित माइजुलाई (बेहुली बिष्णुकी आमा ) पनि भनेकी हुँ ।’ उहाँले हुन्छ १५ लाख त विवाहमा खर्च गरें भने अझै ५ लाख खर्च गर्छु , उनीहरुको दाजु भाइकाको कसको छोरी बुहारीलाई गहना दिनुपर्ने हो, लिष्ट मागेर पठाउनु हामी किनेर दिउँला भन्नु भएको थियो। उनका अनुसार बेहुली बिष्णुले पनि घरमा दाइजोको कचकच हुने गरेको सुनाउने गरेको गौतमको भनाई छ । उनका अनुसार बिष्णुलाई बिवाह गरेर लगेदेखि बेहुलाले खासै वस्ता गर्दैन्थे । बोल्दै नबोल्ने खाली मोवाइल खेलाउँदै बस्ने गर्दथे ।

बेहुली बिष्णुलाई माइतीजनसँग लाउडस्पिकर ओपन नगराई बोल्न नदिने गरेको उनकी साथी अर्चना गौतमले बताइन् । फोन गर्याे भने विस्तारै सासैसासले बोल्ने गर्थिन् । उनको मोबाइल जति बेला पनि नववेहुला प्रदिपकै हातमा हुने गरेको बिष्णुले बताउने गरेको गौतमले बताइन् ।घरमा उनी माथी एकदम दमन हुने गरेको उनको बुझाई छ । उनी विवाह पश्चात् पोखरास्थित माइती घरमा धुर्पाईलो फर्काउन पनि जान पाइनन । रुपन्देही मै रहेकी सानीमाको घरमा धुर्पाईलो फर्काउन गएको माइतीजन बताउँछन ।
जेठ १४ गते त्यस्तै बिहान १० बजेदेखि साढे १० बजेको बीचमा पोखरास्थित आफ्नी दिदी पवित्रा अर्याले वराल संग भिडियो कल गरिन र बहिनी बिष्णुले दिदीसँग निकै खुशी प्रकट गरिन् । दराजको कपडाहरु देखाउँदै मम्मीले जस्तै कसरी मिलाएर राखौं दिदी भनेर भनिन् । खै त ज्वाँई भनेर सोध्दा यहि हुनुहुन्छ भनिन् । ‘ त्यस दिन भिडियो कलमा उनको मुहारमा निकै खुशी र मुस्कान थियो ’– दिदी पवित्राले भनिन–‘ बहिनीमा खुशी देख्दा हामीहरु पनि खुशी भयौं ।’

त्यसरी खुशी प्रकट गर्दै दिदी र अन्य आफन्तसंग पनि फोनमा कुरा गरेकी बिष्णुको जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा निकै अप्रिय र अकल्पनिय दुःखद खबर आयो घरबाट माइती पक्षलाई । विवाहको २७ दिनको कुरा थियो त्यो । पहिला मगनी गर्ने पवित्रा गौतमलाई फोन आयो । उनी भन्छिन्–‘ पहिला बिष्णुलाई पखला लागेको छ भनियो । मैले पखला लागेको मान्छेलाई अस्पताल लैजानेकी हामीलाई भेट्न बोलाउने ? भनेर झर्किएँ । पछि त घरको माथिल्लो कोठामा आफ्नै सलको पासो लगाई झुण्डिएर मृत्यु भयो ।’ भने पछि हामी छाँगाबाट खसे झैं भयौं ।

घरको माथील्लो तल्लामा श्रीमान श्रीमती सुत्ने कोठा खुल्ला छ । संगैको कोठामा श्रीमान मोवाईल खेलाउँदै बसेको बताइन्छ । माथि कोठामा गएर हेर्दा झुण्डिएको देखे पछि आफूहरुले पासो फुकाएर मुखमा पानी राखी दिएको परिवारले जनाएको गौतमले बताइन् । उनी भन्छिन–‘ दिनको दुई,साढे दुई बजे घरमा खाजा नास्ता बनाउने बुहारीको समय थियो । त्यसबेला परिवारले बुहारीलाई किन खोजेनन् ? मनमा पीडा र तनाव भई दिएको भए केहि बेर अघिसम्म माइतजन, दिदी–बहिनीहरुसँग किन खुशी साट्थिन् ? यस्तो सवाल पनि माइतीजनले उठाएका छन् ।

मगनी गरी दिने गौतमदेखि उनका हरेक माइतीजनले उनी आफँैले आत्महत्या गरेको हुन सक्ने कुरा स्वीकार्दै स्वीकारेका छैनन् । गौतम भन्छिन–‘ उनी आफै आत्माहत्या गरेकी भनेर त हामी एकरत्ती पत्याउन सक्दैनौं । रहश्यमय रुपमा उनको विवाह भएको २७ दिनका दिन ज्यान गएको छ । सत्यतत्य छानविन र न्यायका लागि सञ्चार माध्यमले आवाज उठाई दिन पर्यो ।’यस सम्वन्धमा मृतकका घर परिवार संग सम्पर्क राख्दा विवाहको २७ दिनमै विदुर बनेका प्रदिप भट्टराई घर देखि बाहिर गएको परिवारजनले बताए । त्यस पछि उनकी फुपुसँगग कुराकानी भयो । प्रदिपको आमा बुहारीको मृत्युले बेला बेलामा अचेत हुने र पानी छ्यापेर जगाउने गरेको उनले बताइन् । त्यस पछि उनै आमा कुर्तु भट्टराईसँग कुरा गर्न सुरु गरे पछि उनी रुँदै आफूहरु ठुलो शोक–पीडामा रहेको बताइन ।

उनले भनिन–‘ अष्टे«लियामा रहेकी मेरी छोरी प्रविणा भट्टराई कार्की र मेरी बुहारीको पहिल्लैदेखि मेलमिलाप थियो । मेरी छोरीले बुहारीलाई असाध्धै माया गर्थिन । त्यस दिन दिउँसो बुहारीले आमा दिदीका फोटाहरु हैरौंन भनेर एल्बम मागिन् । उनी र हामी एलबमहरु पल्टाउँदै फोटाहरु हेर्दै थियौं । मेरो छोरा माथि कोठामा थिए । पानी आएको थियो । एकछिन पछि बुहारीले ए रेष्ट गर्छु है मम्मी भन्दै माथी रुममा सुत्न गइन् । त्यसको केहि बेर अर्को कोठामा बसेको मेरो छोराले किन मलाई बोलाईनन भन्दै हेर्न जाँदा झुण्डिएको देखेछन र अत्तालिदै र दौडिदै तल आए पछि हामी माथी हेर्न जाँदा झुण्डिएको देख्यौं । खुट्टा छाम्दा तातै भएकोले बचाउन सकिन्छ कि भनेर चुङ्गिको पासो फुकाई दिएर भुँईमा राखेर पानी खुवाउने गरेका हौं ।’

माइतीजनले उनको रश्यमय रुपमा ज्यान गएको आरोप लगाएका छ नि ? भन्ने प्रश्नमा उनले माईतीजनका आरोपहरु झुटो भएको बताइन् । मैले बुहारी होइन,छोरी बनाएर ल्याएकी थिएँ र छोरीलाई जतिकै माया दिएर राखेकी थिएँ । त्यत्रो रहरले विवाह गरेर ल्याएकी बुहारी विवाहको केहि दिन नपुग्दै गुमाउनु पर्दा हामी ठुलो शोकमा छौं’– उनले रुँदै भनिन । विवाहको दिन देखि तपाईहरुले दाईजोका लागि किचकिच गरिरहेको आरोप पनि लगाईका छन नि ? भन्ने अर्को प्रश्नमा उनले भनिन–‘ मैले के को दाईजोका लागि किचकिच गरुँ , मसँग सम्पत्ति सबै कुरा यहि छ । मलाई दाईजो चाहिएको छैन । हामी २७ वर्षसम्म मुम्बईमा बसेर ३ वर्ष देखि यहि हाम्रो पुर्खेयौली घरमा आएर बस्दै आएका छौं । बिबाह पछि छोरा बुहारीहरु निकै खुशी थिए । भर्खर बिहे गरेकी श्रीमती गुमाउँदा छोरा ठूलो पीडामा छन् । माइतीजनले लगाएका आरोप गलत हुन्।’

छोरी आउने दिन गनिरहेको बेला शव बुझ्न बोलाइयो
माइतीमा छँदा बिष्णु बरालका रुपमा चिनिने उनलाई बिवाह पश्चात् श्रीमानले नयाँ नाम विनिता भट्टराई राखि दिए । त्यही आईडिको फेशबुक पनि खोलियो । त्यस आईडीमा मृत्युको दुई दिन अघि विनिताले आफ्नी साथी अर्चना गौतमसंग च्याट कुराकानी गरेकी छन् । ए होर ? भनेर साथी अर्चनाले रिप्लाई गरेकी छन् । यो आइडी मैले भन्दा धेरै प्रदिपले युज गर्नु हुन्छ भनेर बिष्णुले भनेकी छन् । ए शोः भन्दै अंकलले त ( बिष्णुका श्रीमान ) ले त रिक्वेस्ट एकसेप्ट नै गर्नु हुन्न त भनेर अर्चनाले रिप्लाई दिएकी छन् । जुन हामीलाई प्राप्त भएको छ ।

बिष्णु उर्फ विनिताका माइतीमा दाजुभाई कोही नभएकोले उनका आमाका भानिज पर्ने रुपन्देहीको तिलोत्तमा –६ गोरकट्टाका गोबिन्द क्षेत्रीले उनको सहोदर दाजुसरह विवाहको चाँजोपाजो मिलाउनमा प्रमुख भुमिका खेलेका थिए । ‘घरको एक मात्र छोरा राम्रै लाग्यो र मागेर आफुहरुले विवाह गराइयो ’– लकडाउन भएकोले रोकाईएको पार्टी प्यालेस पनि क्यान्सिल गरेर दुर्गामन्दिरमा लगेर विवाह गराइयो । तर, दुर्भाग्य बेहुली बनाएर बठाएको २७ दिनका दिन हामीले उनको शव पो देख्नु प¥यो ।’

उनी थप्छन–‘ त्यस घरमा माईतीजनको तर्फबाट उनको शव हेर्न पहिला जाने मैं । बिष्णुका श्रीमानको कुरा बाँझिएको छ । उनले श्रीमतीको मोवाईल आफुले प्रयोग गर्ने गरेको कुरा उनका साथीसँगको च्याट कुराकानीले स्पष्ट हुन्छ । तर, उनले मृत्यु पश्चात आफूलाई फोन प्याटनको पिन कोड आफूलाई थाहा नभएको बताउँदा कुरा बाँझिएको छ । अर्को कुरा घटना स्थलको प्रकृति पनि शंकास्पद छ । उनलाई पखला लागेको थियो भन्ने कुरामा पनि उत्ति कै शंका छ । भोली पोष्टमार्टम रिर्पोट आउँछ भनेर कुरेर बसेका छौं । भोलि जस्तो सुकै रिर्पोट आओस् हामी किटानी जाहेरी दिने छौं। नाम नबताउने सर्तमा मृतकका घर तर्फका नजिकका मानिसहरुलै नववेहुलीको मृत्यु रहश्मय रहेको र प्रहरीको अनुसन्धानवाला कुकुर नै त्यस घरमा तत्काल लगेर अनुसन्धान गर्न पर्नेमा नगरिएको बताएको जनाइएको छ ।

यस सम्वन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,डिएसपी प्रतित सिंह राठौरको ध्यानकृष्ट गर्दा ,आफुसहित प्रहरीको टोली घटना स्थलमा पुगेर मुचुल्का तयार पारिएको र पोष्टमार्टम रिर्पोट नआई सकेकोको बताउँदै प्रहरी अनुसन्धान जारि रहेको प्रतिकृया दिए । उनले ति महिलाको विवाह गरेको धेरै दिन नभएको र मृत्यु हुनुको केहि घण्टा अघि परिवारजनसँग नाचेर टिकटक बनाएर पोष्ट गरेको समेत पाईएकोले अरु कसैबाट तनाव सिर्जना गरिए जस्तो पनि नपाइएको बताए।

‘उनको शरिर तातो थियो, नजिकपर्नै नसकिने’
आमासँग कुरा गरेको केहि बेरपछि उनै विवाहको २७ दिनका दिन बेहुली गुमाएर बिदुर बन्न विवस प्रपिद भट्टराइको फोन आयो । उनी ५ महिनाको हुँदा बाबु आमासंग मुम्वई गएको र २७ वर्षसम्म उही हुर्के पढेर ३ बर्ष अघि आएकाले नेपाली राम्ररी नबुझ्ने र नेपाली भाषा–ट्यून पनि खासै नजान्ने भएकोले उनीसंग हिन्दी भाषामा पनि कुरा गरियो । उनले सविस्तार आफ्नो कुरा यसरी सुनाए–‘हाम्रो सम्बन्ध राम्रो थियो । मैलै कुराकानी खासै गर्दिन। मतलव नर्मल–नर्मल कुराहरु गर्दिन । मम्मी पापा यस्तो कुरा गरेछन् । हाम्रो लभ म्यारिज त थिएन नि । म म ड्याडको रफ्तारमा हिड्ने हो । अरुलाई मन परे विवाह गर्न सक्थे । जे मम्मी पापाले भन्ने त्यही गर्ने हो । भेट्ने, फोटा खिच्ने , हामी एकदम नजिक भएका थियौं । उसको म्यासेज आइराख्थ्यो , म कम फर्काउँथे तर, माया त लाग्थ्यो ।’ म उनलाई भेट्न विवाह अघि पनि स्कूटी लिएर पोखरा गएको थिए । उनी पनि मलाई भेट्न यहाँ आएकी थिइन् । विवाहपछि पनि हाम्रा सम्बन्धमा कुनै किसिमको दरार थिएन । मैले कपडा धुने लगायतको काममा हेल्प गर्थे उनलाई । मम्मीले खान पकाउन पनि उनलाई हेल्प गर्नु हुन्थ्यो ।’

अनि कसरी त्यसरी आत्मा हत्या गरिन भन्ने लाग्छ ? भन्ने प्रश्नमा उनले भने–‘ मैले पछि बुझ्दै जाँदा उनले आफ्नो हेल्थ प्रोवलम कै कारण त्यसो गरेको भन्ने लाग्यो । उनीसंग पहिलो रात थाह पाएँ । उनको शरिर एकदमै तातो न तातो । म नजिक पर्ने नसक्ने एकदम तातो शरिर रहेछ उनको । उनी रातीमा चिच्चाउने घबराउने गर्थिन् । त्यसपछि उनलाई हेराउन पनि लगियो । अर्को चोटी पनि हेराउन लगेको हो । सुत्दा एैठन नपरोस् भन्नका लागि सिरानी पनि ऐठन नपर्ने वस्तु पनि राखियो । विवाहको चार दिनका दिनमा उनलाई मिन्स भयो । म माथि सुतेँ उनी तल भुँइमा सुत्थिन् । त्यस दिन विहान हामी खान खायौं ।उनी , मेरो मम्मी र मेरो फुपु मेरो विवाहको फोटाहरु हेर्दै हुनुहुन्थ्यो । म माथी ( सुत्ने कोठा ) मा गएर मोबाइल खेलाउँदै थिएँ ।’

उनले थपेँ, यतिका बेरसम्म किन आइनन् माथि भनेर फेरी म तल झरें । उ हाँसेर एल्बम हेर्दै थियो । फेरी म माथी गएँ । त्यो टाईम पछि उ माथि आई कुराकानी गरी बिहानदेखि खुट्टा बज्रेछ हेनुस् त भनेर देखाई । रेस्ट गरेर बस के यता –उता काम नगर के भनेर मैले भने । उनी भित्र रेस्ट गर्न गईन । बाहिर पानी परेको थियो । पापले ट्याङकी सफा गर्दै हुनुहुन्थ्यो । पाप संग कुरा गरे । अनि पाप तल जानु भयो । अनि म त्यही रुममा बसें। हामी बस्ने रुम संगै अर्को रुम सटेको छ । मलाई वल्लो कोठामा बोल्दा पनि किन मलाई नबोलाएको होला भनेर भने । मलाई पानी तिर्खा पनि लागेको थियो । हाम्रो भित्रको कोठामा ढोका लगाउँदैन्थ्यौं । त्यस दिनले हल्का ढोका लगाएको देखे । चुक्कुल भने लगाएको थिइन् ।हामीले कहिल्लै ढोका लगाउँदैन्थ्यौं आज किन ढोका लगाएको होलिन् भनेर अचम्म परेर यसो हेरैं । भित्र हेर्दा उनी त्यस्तो अवस्थामा देखेपछि म भागेर आएँ र मम्मी पापालाई भनेर माथि गएर पापाले खुट्टामा काँध थापेर बचाउने प्रयास गर्दा गर्दै डोरी फुकाउनु भएको हो ।’

तपाइँको श्रीमतीले दुई दिन अघि उनको साथीसँगको च्याट कुराकानीमा मेरो मोबाइल जति बेला पनि तपाई संगै हुन्छ भन्ने च्याट गर्नु भएको छ । फेरी अँस्ती उनको मोवाईलको प्याटन खोल्नुस भनेर भन्दा त्यसको पिन नम्वर नै थाह छैन भन्नु भयो रे नि माईतीजनसंग ? भन्ने प्रश्नमा उनले श्रीमतीको मोबाइल कहिल्लै नचलाउने गरेको दावी गरे । अनि विवाहको १४ दिनमा तपाइँले किन आफ्नो मोवाईलको सिमकार्ड चेञ्ज गर्नु भयो त ? भन्ने अर्को प्रश्नमा उनले श्रीमती कै हातबाट मोवाइल खसेर पानीमा परेर सिम बिग्रेका कारण चेन्ज गर्नु परेको जवाफ दिए । उनले विवाह छिटो गर्न भनेका कारण पोखरामा गएको बेला सामन्य झगडा परेको बताए । स्वास्थ्य समस्या कै कारण आत्मा हत्या गरेको हुन सक्ने भनेर तपाईको ज्वाँईले भन्नु हुन्छ नि ? भन्ने प्रश्नमा स्वास्थ्यको कारण हुनै नसक्ने पोखरास्थित मृतक बिष्णुकी आमा तारादेवि बराल बताउँछिन । उनले भनिन–‘ ज्यूँदा मान्छेको शरिर तातै त हुन्छ नि । त्यसरी कहिल्लै तात्दैनथ्यो उनको शरिर सधै मसंग सुत्थिन् । हो उनि कहिले काँही एक्लै सुत्दा चिच्चउने,घबराउने गर्थिन् र मैले बुटी बाँधि दिएको हुँ । तर, कुनै किसिमको बिमार थिएन उनलाई ।

मेरा चार वटै छोरीलाई मैले कुनै बिमार लागेर अहिले सम्म अस्पताल लैजानु परेको छैन । स्वास्थ्यका कारण आत्माहत्या गरिन भन्ने कुरा यो गलत हो । एक त उनले आत्मा हत्या गरेकै छैनन् । गरेकै भए के कुरामा बाध्य पारियो भन्ने लागेको छ ’– आमा वरालले भनिन । मृत्युको दुई दिन अघि मात्र छोरीले आफूलाई भिडियो कल गरेर खुशी प्रकट गरेको उनी बताउँछिन् । ‘अस्ती फोन गरेर आमा नआत्तिनुस हैं , म छिट्टै आउँछु भनेर हामीलाई खुशी दिलाएकी थिइन् ।’ उनले भनिन् ।

छोरीज्वाँईसँगै बसेर कुराकानी गर्थे । कान्छी छोरी र घरको कान्छो विवाह मन फुकाएर खर्च गर्दै बेहुली सिंगारेर पठाईयो तर, मेरी छोरी धुर्पाईलो फर्काउन माइतपनि आउन नपाई हामीले विवाहको २७ दिनमा शव बुझ्न जनुपर्यो । दिदी पवित्रा अर्यालले पनि त्यस दिन बहिनीको मुहारमा त्यो खुशी सम्झीदै र डाको छाड्दै भन्छिन –‘ मेरो बहिनीले आत्माहत्या गर्ने सक्दिनन्,उनी साहसी थिइन् । बहिनीलाई कसैले मारेर झुण्डाएको हुनु पर्छ , खोज तलास गरि दिने हाम्रा दाजु भाई कोही छैनन् , तपाईहरुले न्याय दिलाई दिनका लागि तपाईहरुले पहल गरि दिनुपर्यो । ’

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार