ताजा अपडेट »

रुपन्देहीकी २७ वर्षिया सिता मृत्यु प्रकरण : हत्या कि आत्महत्या !

सोमबार, २८ भदौ २०७८, ०७ : ४८
16 Shares



बुटवल । रुपन्देहीकी एक युवतीको रहश्यमय मृत्यु घटनाले एक सातादेखि तनावग्रस्त बनेको छ । दुई वर्ष अघि मात्र विवाह भएकी रुपन्देहीको तिलोत्तमा–८ मणिग्राम स्थित ४ नम्बर टोल माइती घर र त्यस नगरपालिका–५ कफी कम्पनी नजिकै घर भएका ४३ वर्षीय टीका पौड्यालकी २७ वर्षीया श्रीमती सिता भण्डारी पौड्याल भदौं २० गते आफ्नै घरको कोठामा रहश्यमय रुपमा मृत फेला परेकी थिइन् । छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइयो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि अदालतले म्याद थप गर्न मानेन भन्दै उनीहरुलाई प्रहरीले छाड्ने संकेत गरेपछि थप आन्दोलनहरु भए । फिर्ता गर्न खोजेको आत्माहत्य दुरुसाहनको मुद्दा अहिले अदालतले म्याद थप गरि दिदी र भाई प्रहरी हिरासतमा रहेको छन् ।

मृतक युवतीका माईतीजनको पुर्ख्याैली घर गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु हो । उनका श्रीमान टीका पौड्यालको परिवारजनको पुर्ख्याैली घर पनि गुल्मी कै हुँगा हो । आराेपित श्रीमानका सहोदर काका अनन्तराम पौड्याल नेपाली कांग्रेस गुल्मीका जल्दा–बल्दा नेता हुन् । आफू शव भेटिएको दिन भदौ २० गते रुपन्देही गएको र निष्पक्ष छानविन होस् भन्ने पक्षमा रहेको उनको भनाई छ । कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारी पनि पौड्याल परिवारका छिमेकी हुन् । नेता भण्डारीले पनि निष्पक्ष छानविन होस् भन्ने पक्षमा रहेको प्रतिकृया दिए । आईतबार सातौ दिनसम्म पनि शव उठ्न सकेको छैन । आइतबार तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले भेट गर्न नदिएका कारण मणिग्राम चोकमा चक्काजाम गरिएको मृतकका मामा आकाश पोखरेलले जानकारी दिए । माथिको ठूलै शक्ति हत्या घटनालालाई झ्यासमिस पार्न लागेको भन्दै माइती पक्षले कहिले ईलाका प्रहरी कार्यालय, कहिले अदालत घेराउ गर्दै विभिन्न प्रकारका दबावमूलक कार्यक्रमहरु गर्दै आएका छन्।

घटना यसरी सुरु हुन्छ
भदौ ६ गते तीज समेत माइती मै मान्ने गरि माइतीमा उनै श्रीमानले छाड्न आएका थिए श्रीमती सिता भण्डारी पौड्याललाई । माइतीमै रहेकी श्रीमतिलाई श्रीमान टीका पौड्यालले एक्कासी भदौ १९ गते दिउँसो घरमा भतिजीको बर्थडे छ तिमी घर जाउ म पनि साँझ घर आउँछु भनेर पाल्पाबाट फोन गरेका थिए । त्यस पछि उनी त्यसै दिन दिउँसो घर पुगिन् । अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ भनेर माईतीलाई बोलाइयो । पुग्दा उनी मृत फेला परिन् ।

प्रत्यक्षदर्शी माईती पक्षका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते विहान मृत फेला परेकी थिइन् । उनी तीज मान्न केहि दिन अघि नै माईती घर आएकी थिईन् । उनका श्रीमान पौड्यालले पाल्पा तानसेनको होलाङदी जानेबाटोमा दि दरबार कटेज एण्ड रिसोर्ट सञ्चालन गर्दै आएका थिए । उनले त्यहीबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए । त्यसपछि उनी भदौ १९ गते दिउँसो करिव २ बजेको समयमा माइतबाट घर हिँडेकी थिइन् ।

यस कारण घटना योजनाबद्ध भएको आशंका
मृतक सीताका मामा आकाश पोखरेल भन्छन् –‘त्यसै दिन साँझ करिब साढे ६ बजेको समयमा सिताका श्रीमान ससुराली आउँछन् र मेरो घरमा आई तपाईकी छोरी अव वितारा पर्ने भई । मैले त आनन्दको जीन्दगी जिउछु भनी धम्कीपूर्ण कुरा गरी अरु केही नवोली गाडीको ढोका जोडले लगाउँदै हुँईकिदै त्यहाँबाट हिडेका हुन् । मेरी भान्जीको घर र मेरो पसलसँग–सँगै छ । उनले मदिरा पिएको आभास हुन्थ्यो । त्यस लगत्तै मैले पटक पटक भान्जीलाई फोन हाने । साँझ ७ बजेदेखि साँझ ९ बजेसम्म भान्जीलाई फोन हान्दा पनि फोन उठेन।

अर्को दिन बिहान ५ बजेर २५ मिनेट जाँदा उनका श्रीमानको ८ सेकेन्ड मात्रै मिसकल आयो । हिजो जाँड रक्सी पिएर केहि बोलियकी भनेर एस्क्यूज गर्न होला भनेर मैले कल ब्याग गरिन । त्यस लगत्तै भाईलाई फोन आए छ । उनले मेरो घर आउनुस् भन्नुको सट्टा मेरो घरमा जानु भनेछन् । के भयो र भनेर सोद्धा केही भएको छैन एउटा काम छ भने छन् । त्यस सासु ससुरालाई फोन गरेर पनि मेरो घर छिट्टै जानुस भने छन् । कारण सोद्धा केहि भनेर मात्र आइहाल्नु पर्ने भयो, अति जरुरी काम पर्यो भने छन् । त्यस पछि मृतककी आमा आर्थत् मेरो दिदी मेरो पुनम भण्डारी, भाईहरु पदम पोखरेल र लक्ष्मण पोखरेल पहिला त्यस घरमा पुगेछन् । म पछि मात्रै गएको हुँ ।

उनिहरुले त्यहाँ पुगे हामीहरुलाई किन हतार–हतारमा बोलाउनु भएको हो ? मेरी छोरी कताछन् भनी सोध्दा घरमा भएका सासु ससुराले कुनै जवाफै दिएनछन् । त्यति बेलासम्म ज्वाँई घरमा थिएनन् । त्यसको करिव २० मिनेटपछि घरमा ज्वाँई बाहिरबाट आई तपाईहरुको छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी उनको दिदी जो चितवनबाट माइत आएकी थिइन् । (विष्णु पौडेल)उनलाई औला ठड्याउँदै कराउन थाले । त्यस पछि मृतका बाबु , आमा छोरी जिवित छैनन् भन्ने ठानेर बेहोस् भई त्यही ढले । साथमा गएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले घरभित्र गई हेर्दा एट्याच कोठाबाट बाथरुममा पस्ने ढोकामाथी काटिएको चुन्नी झुण्डिई रहेको, सितालाई भुइँमा घोप्टोपारी सिरानीमा टाउको राखिएको, मृतकको दुवै कोखामा निलडाम रहेको, मुखबाट रगत बगी अनुहारमा लत्पत्तिएको र घाटीको दायाँ छेउमा गाठो पारिएको चुन्नीले कसेको अवस्थाम फेला पारेका थिए ।

यस्ता छन् सवालहरु
घटना राती २ बजे देखि ५ बजे भित्रको भएको देखिन्छ । एउटै कोठामा सुतेकी श्रीमती यदि आत्माहत्या गर्न लागेको भए श्रीमान चाँहीले बचाउने प्रयास गर्न पर्ने कि नपर्ने? बचाउनकै लागि डोरी पासो काटिएको हो भने श्रीमतिको ज्यान गईसकेपछि परिवारका सदस्य र टोल छिमेकलाई खबर गर्ने कि घर छाडेर भाग्ने ? विहान ५ बजे पछिको कलले नै स्पष्ट पार्छ कि उनी त्यति बेलैदेखि घरबाट बाहिर निस्की सकेका छन् । घटनाको अबेर सम्म पनि प्रहरीलाई स्वयम् श्रीमान वा परिवारका सदस्यहरुले खबर गर्न किन चाहेनन् र माईतीले नै प्रहरीलाई सुचित गर्नु पर्यो ? ससुरालीमा पुगेर अघिल्लो साँझ दिईएको धम्की के किरो कराउनु बाख्रो हराउनु जस्तै हो ?

उनले भदौ ६ गते नै तानसेनबाट गाडीमा बोकेर श्रीमतिलाई तीज मान्ने गरि माइतीमा छाड्न आएपछि फेरी एक्कासी किन बोलाए त्यस साँझ ? कतै योजनाबद्ध त थिएन ? झुण्डिएर मृत्यु हुने मानिसहरुको प्राय मुखबाट रगत बगेको नदेखेको जानकारहरु बताउँछन् । तर, सीताको मुखबाट रगत निकै बगेको देखिन्छ । शरिरका विभिन्न ठाउँहरुमा निला डामहरु देखिन्छ । झुण्डिएर कि घाँटी कसिएर मारियो ? डाक्टरले झुण्डिएर आत्माहत्या गरेको रिर्पोट दिएको भन्दै त्यसैमा टेकेर प्रहरीले किटानी जाहेर लिन मानेन । कतै माथिल्लो दवाव त छैन ? माइतीजनले यस्तो आशंका गरेका छन् । श्रोतका अनुसार आरोपी ज्वाँईका एक जना आफन्त नेपाल प्रहरीको माथील्लो पोष्टमा रहेका छन् । आरोपित परिवार निकै पैसावाला पनि छन् ।

झुक्काएर धेैरै उमेर–अन्तर कान्छीलाई विवाह
माइतीजन भन्छन् ‘दुई वर्ष अघि मागी विवाह गरियो । स्टिल बडि भएको हेर्दा उमेर पुगे जस्तो नलाग्ने, केटा कन्य नै होला भन्ने ठानियो । तर, पछि बुझ्दै जाँदा उनले पहिला नै विवाह गरेका रहेछन् । पहिलाकीसँग सम्वन्ध बिच्छेद गरेर यता अविवाहित हुँ भन्दै झुक्काएर २५ वर्षकी हाम्री चेलीलाई ४० वर्ष नाघेका उनले विवाह गरेको थाहा पाईयो । मृतक सिताका बाबु हरिप्रसाद भण्डारी भक्कानीदै भन्छन्‘ मेरी छोरीलाई मारे कै हुन् । उसले आमासँग भन्ने गर्थि रे’– साँझ रक्सीले टिल परेर आएपछि बसी खानु हुन्न आमा ।’ प्राप्त जानकारी अनुसार प्रहरीले आत्माहत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि धर्ना कार्यक्रम तितर विवतर भएको छ । तर पनि माइतीजन सन्तुष्ट छैनन् । उनीहरु कानूनी सल्लाह लिँदै र आजदेखि विभिन्न सरोकारवालहरु कहाँ डेलिगेशन जाने कार्यक्रम बनाएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्माहत्या दुरुसाहनको मुद्दा दर्ता गरिएको र हत्याको पाटोबाट पनि अनुसन्धान हुने बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार