ताजा अपडेट »

अन्तत: बार्सिलोनाबाट बाहिरिए मेस्सी

शुक्रबार, २२ साउन २०७८, ०७ : ४०

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । क्लबका अध्यक्ष जोन लार्पोतोले गएराति पत्रकार सम्मेलन गरि मेसीसँग भएको छलफल र सम्झौता हुन नसकेको विषयमा जानकारी गराएका थिए ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ ।
मेसी अन्तराष्ट्रिय ड्यूटी र त्यसपछि परिवारसँग छुट्टी मनाएर केही दिन अघि मात्रै बार्सिलोना फर्किएका थिए । अघिल्लो सिजनको अन्त्यसँगै बार्सिलोनासंगको सम्झौता सकेका मेसीले नयाँ सम्झौताका लागि क्लबको नयाँ नेतृत्वसँग बार्ता गरेका थिए । सो क्रममा सहमतिमा पुग्न नसकेको र एउटा दुखद अन्त्यको घोषणा गर्नुपरेको बार्सिलोनाले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । बार्सिलोनासँगको यात्रा टुङ्गिएसँगै मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) वा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ। पीएसजीले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ। त्यहाँ उनका मन मिल्ने साथी नेयमार र एन्जल डि मारिया छन्।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।  मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।