ताजा अपडेट »

लुम्बिनीका १२ सहित २८ सहकारीलाई हेफरको कृषि एम्बुलेन्स

मंगलबार, १२ साउन २०७८, १२ : ०८
24 Shares

बुटवल । हेफर इन्टरनेशनल नेपालले लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाका २८ वटा सहकारी संस्थाहलाई कृषि एम्बुलेन्स प्रदान गरेको छ । कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहजताका लागि लुम्बिनी प्रदेशका १२ वटा सहकारीसहित अन्य विभिन्न प्रदेशका सहकारी संस्थाहरुलाई बोलेरो जीप प्रदान गरेको हो ।

हेफर इन्टरनेशनलले साना किसानहरूको दिगो विकासमा सहयोग गर्ने गरी उपलब्ध गराएको कृषि एम्बुलेन्सबाट २० हजार ७५१ बढी कृषकहरुले प्रत्येक्ष लाभ लिन सक्ने भएका छन् । लुम्बिनी प्रदेश अन्तरगत रहेको पाल्पा जिल्लाका ३, अर्घाखाँची, बाँके, दाङ र बर्दियाका २/२ वटा सहकारीहरुले कृषि एम्बुलेन्स प्राप्त गरेका छन् । यसैगरी गुल्मीको एक शहकारीले एम्बुलेन्स प्राप्त गरेको हो । संस्थाले प्रदेश १ को एक सहकारी, प्रदेश २ का ५, बागमती प्रदेशका ६ र गण्डकी प्रदेशका ४ सहकारीहरुले कृषि ढुवानी साधन प्राप्त गरेका छन् ।

शहकारी संस्थाका प्रतिनिधिहरुलाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सवारी साधनको सही प्रयोगका लागि जोड दिए । कृषि सामग्री ढुवानीका लागि प्राप्त गरेका सवारीलाई आवश्यक काममा मात्रै प्रयोग गरी सदस्यहरुलाई सेवा प्रदान गर्न उनले आग्रह गरे । ढुवानीको साधनले कृषकहरुलाई बजारीकरणमा समेत सहजता प्रदान गर्ने बताउँदै उनले परम्परागत खेतीबाट व्यवसायिकता तर्फ उन्मुख हुन कृषकहरुलाई सुझाव दिए ।

कृषि प्रधान मुलुक भनिए पनि कृषिमा नै निर्भर बनेका नागरिकहरुनै गरिबी मारमा पर्ने समस्यालाई समाधान गर्न आवश्यक रहेको उल्लेख गरे । नेपाल कृषिको तुलनामा श्रम निर्यात गर्ने मुलुकका रुपमा विकास हुँदा समस्याहरु थपिदै गएको बताउँदै उनले युवाहरु विदेशीँदा पारिवारी तथा सामाजिक समस्याहरु र परम्परामा नै समस्या उत्पन्न हुने गरेको उनले उल्लेख गरे । हालका समस्याहरु समाधानका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याए ।

लुम्बिनी प्रदेशका कृषि तथा शकारी मन्त्री विजयकुमार यादवले कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारहरुको निर्माण तथा कृषकहरुको क्षमता विकासका कार्यक्रमहरुलाई जोड दिएको जानकारी गराए । कृषि अनुदानका माध्यमबाट प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउनका लागि आवश्यक प्रोत्साहनका कार्यक्रमहरु समेत ल्याउने बताए । सोही अवसरमा बोल्दै प्रदेशकी पूर्व भूमिव्यवस्था तथा कृषि तथा शहकारी मन्त्री आरती पौडेलले आफ्ना पालामा समेत कृषकहरुलाई आत्मनिर्भर बनाउनेगरी अनुदानका कार्यक्रमहरु ल्याउनुका साथै कृषकको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिएको उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज शुवेदीले प्रदशका सबै कृषि उत्पादनहरुलाई एकीकृत गरी बजारीकरण गर्नेगरी भौतिक संरचना निर्माणको तयारी भइरहेको उल्लेख गरे । मूल्य श्रृङ्खला अनुसार सबै कृषकहरुलाई जोडेर प्रदशमा उत्पादन भएका कृषि उत्पादनहरुले बजार नपाउने समस्या अन्त्य गर्ने गरी उत्पादनलाई विश्व बजार पठाउन संरचना निर्माणको तयारी भइरहेकोबताए । बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि पहिलो प्राथमिकताका रुपमा कृषि उत्पादन, उत्पादनको एकीकृत व्यवस्थापन र बजारीकरणलाई समेत जोडिएको उनले उल्लेख गरे ।

हेफर इन्टरनेशनलले नेपालमा कृषकहरुको दिगो विकासका लागि विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत रहेर सहकारीहरुलाई कृषि एम्बुलेन्सका रुपमा ढुवानीका साधन प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक डा. तिर्थराज रेग्मीले जानकारी दिए । परियोजना अन्तर्गत मूल्य शृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्यसहित ढुवानीका साधन प्रदान गरिएको उनले बताए ।

कृषि बजारीकरणको क्रममा नियमित दुवानी सेवाको उपलब्धता प्रमुख समस्याको रूपमा देखा परेका कारण संस्थाले कृषि एम्बुलेन्स उपलब्ध गराएको बताउँदै रेग्मीले यसबाट कृषि उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालका विभिन्न सहकारी संस्थाहरुसँग हेफर ईन्टरनेशनलले आर्थिक साझेदारका रुपमा काम गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।