ताजा अपडेट »

आधिकारिकताको मुद्दा टुङ्गो लागे पछि मात्र जसपा सरकारमा जाने

मंगलबार, २९ असार २०७८, १९ : १०
46 Shares

काठमाडौँ। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेको आधिकारिकताको मुद्दा टुङ्गो लागे पछि मात्र सरकारमा जाने भएको छ।मङ्गलवार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता महेन्द्र यादवले बताए । ‘आधिकारिकता सम्बन्धी मुद्दा अहिले निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ’बैठक पछि यादवले भने,‘यो मुद्दाको छिनोफानो भए पछि हामी सरकारमा जान्छौ ।’

देउवा सरकारलाई आफूहरूको पुरै सहयोग र समर्थन हुने उनले बताए । ‘यती दुख गरेर सरकार बनाएका छौ । यो सरकारलाई हाम्रो पुर सहयोग र समर्थन हुन्छ’यादवले भने । जसपाको आधिकारिकताको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ । आफ्नो पक्षले आधिकारिकता पाउनु पर्ने दाबी गर्दै महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । यसको छिनोफानो लगाउन आयोगले इजलास समेत गठन गरेको छ ।

आयोगले आधिकारिताको मुद्दा छिनोफानो लगाउने बित्तिकै आफूहरू सरकारमा जाने यादवले बताए । अहिले नै आफूहरू सरकारमा नजाने भए पछि मन्त्रालय बाँडफाँड सम्बन्धी छलफल नभएको पनि उनले भने । उनले भने,‘मन्त्रालय बाँडफाँड त्यति ठुलो समस्या होइन । सरकारमा जाने बेला फाँडाफाँड गर्छौ ।’

स्रोतका अनुसार उपेन्द्र यादव पक्षबाट महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, इस्यिाक राई, मृगेन्द्रसिंह यादव, रेणु यादव,प्रदीप यादवले सरकारमा जान चासो देखाएका छन् । यस पटक अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान चासो नदेखाएको स्रोतले बतायो । स्रोतले भने,‘अहिलेसम्म अध्यक्ष ज्यु सरकारमा नजाने नै कुरा भएको छ । पछि के हुन्छ भन्न सकिन्न ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।