ताजा अपडेट »

उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

शुक्रबार, ०४ असार २०७८, १० : ५७
6 Shares

काठमाडौँ । काठमाडौं उपत्यका भित्रिने सवारी साधनबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरुमा काठमाडौँ महानगरपालिकाले एकीकृत व्यवस्थापनका लागि चारवटै नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना गर्ने भएको छ ।
कामपाले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यस विषयलाई समटेको हो । अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लिनिङ सेन्टर निर्माण गरी आर्थिक वर्ष २०७८/२०७९ मा नै आरम्भ गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
उक्त सेन्टर स्थापनाको लागि काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि कामपाको नेतृत्वमा उपत्यकाका स्थानीय तहहरू समेतको सहभागितामा सार्वजनिक निजी–साझेदारीअन्तर्गत निजी क्षेत्रसँग सहकार्य हुनेछ ।


कामपाले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि कामपाले नीति लिएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरे । विद्युतीय सवारी करमा शतप्रतिशत छुट कामपाले नेपाल सरकारको निर्णयानुसार मासिक रु २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गर्ने नीति लिएको छ । नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भनिएको छ ।
त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा सडक सुरक्षा कार्ययोजना तर्जुमा गरी सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा मापदण्डले निर्दिष्ट गरेका उपायको अवलम्बन गर्न भनिएको छ ।

रासस
लेखकको बारेमा
रासस