July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

आफन्त र छिमेकीले शव न उठाएपछि ...

रुपन्देहीका एक गाउँपालिका अध्यक्ष आँफैले संक्रमितको शव उठाई व्यवस्थापन गरे

5.9K

भैरहवा । कोभिडको दोश्रो लहरमा अहिले नेपाल प्रभावित रहेको छ । यससँगै मुलुककै अत्याधिक प्रभावित जिल्लाको रुपमा रुपन्देही पनि रहेको छ । कोभिडकै कारण यहाँ दैनिक रुपमै स्थानीयहरुको ज्यान गइरहेको छ । कसैले अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाई रहेका छन भने कतिपयको उपचार नै नपाई घरमै ज्यान गई रहेको छ । अस्पतालमा ज्यान जानेहरुको मृतकको आफन्तको समन्वयमा नेपाली सेनाले ब्यवस्थापन गरे पनि घरमै ज्यान गुमाउनेहरुको शव ब्यवस्थापन समेत हुन सकेको छैन ।

रुपन्देहीमा यस्तै एक घटना भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर २ कर्मडाँडाका ५१ वर्षिय चन्द्र बहादुर गुरुङ्गको कोभिडको कारण सोमबार बिहान मृत्यु भयो । ३ भाई, १ श्रीमती र छोरा समेत कोभिड संक्रमित भएका उनको परिवारमा उनको शव उठाउन सक्ने कोही भएन । घरमा शव उठाउने कोही नहुदा टोल छिमेकले पनि यसमा चासो राखेन । कोभिड बिरामी गुरुङ्गको शव घरबाट निकाल्न नै स्थानीयहरु डराए । उनको घरमा पस्ने समेत कसैले हिम्मत गर्न सकेनन् । ‘मर्दा–पर्दा छिमेकी नै काम लाग्ने’ भन्ने उखान यहाँ लागू हुन सकेन । कोभिड संक्रमितको शव छुँदा आफूपनि संक्रमित हुने र आफ्ना बालबच्चा समेत जोखिममा पर्ने त्रासले गुरुङ्गका छिमेकीहरु उनको घर पनि जान सकेनन् ।

शव बारे ओमसतिया गाउँपालिकामा खबर भयो । गाउँपालिकाको स्वास्थ्य संयोजकले पनि शव ब्यवस्थापनको लागि छिमेकीको साथ मागे, तर उनलाई सहयोग गर्न कोही अगाडी आएनन् । शव ब्यवस्थापनका कोही अगाडि नआएपछि स्वास्थ्य संयोजक दिपक ज्ञवालीले यस बारे गाउँपालिका अध्यक्ष हिरा केवटलाई खबर गरे । बिहान साढे ७ बजे खबर पाएका गाउँपालिका अध्यक्ष केवट पनि छिमेकीहरुलाई २ घण्टासम्म शव ब्यवस्थापनमा साथ दिन अनुनय विनय गरे तै पनि कोही छिमेकी आएनन् । कोही अगाडि नसरेपछि केवटले गाउँपालिकाकै ट्रयाक्टरमा राखेर शव ब्यवस्थापन गर्ने प्रयास गरे । ‘पिपिई सेट ल्याएर परिवारको सहयोगमा शवलाई गाउँपालिकाकै ट्रयाक्टरमा राख्यौ।’ केवटले भने ‘ट्रयाक्टरमा शव राखिएकै कारण सो ट्रयाक्टर चलाउन पनि कोही अगाडि सरेन, अन्ततः मैले नै उक्त ट्रयाक्टर हाँकेर कर्मडाडामै लगेर अन्तिम संस्कार गराए ।”

केवटले यसलाई जनयुद्ध र राजतन्त्र बिरुद्धको आन्दोलन भन्दापनि यस समयमा जनप्रतिनिधि हुनुको दायित्व बढी रहेको बताए । जनप्रतिनिधि भएर काम गर्न भन्दा सयौं गुना सजिलो राजतन्त्रको विरुद्ध माओवादीद्वारा संचालित जनयुद्ध थियो । उनले त्यतिबेला सानो ठूलो गरि बिभिन्न ५० भन्दा धेरै युद्ध लडेको र यस्तो युद्धमा एक जना साथीको बलिदानी पछि सयांै साथीहरूले आफ्नो बलिदानको लागि तयार हुने गरेको उनले स्मरण गरे । ‘तर आज एउटा पनि सहयोद्धा यस्तो भेटिएनन् कि साथ दिउन् उल्टै जिम्मेवारी पूरा गरेर नजिक आउन खोज्दा साथीहरू टाढा भाग्ने अवश्यकता भन्दा धेरै डराउने गरे ।’ केवटले भने । उनले थपे ,मेरो पनि परिवार छन् । तर, जनप्रतिनिधि भएर काम गर्दा मेरा लागि सबै भन्दा पहिला देश र जनता हुन् । जनप्रतिनिधि भएकोले मैले आफ्नो कर्तब्य मात्र निर्वाह गरेको हु । ’ गाउँपालिका अध्यक्ष भएर खाएको कसमलाइ शरीरमा प्रण रहुन्जेल आत्मसात् गरि निरन्तर अगाडि बढ्ने प्रण गरेको उनि सुनाउँछन् ।

पछिल्लो अपडेट