ताजा अपडेट »

सैनामैनामा कृषि यन्त्र उपकरण वितरण

शुक्रबार, ०६ चैत्र २०७७, २१ : २१
6 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आज कृषकलाई करिब रु २२ लाख बराबरको कृषि यन्त्र उपकरण वितरण गरेको छ । नगरपालिकाका सबै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा ती उपकरण नगरप्रमुख चित्रबहादुर कार्कीले स्थानीय किसानहरुलाई वितरण गरे । नगरपालिकाले मिनी-ट्रीलर ३१ थान, पावर–टीलर एक थान, महमदानी एक थान, बेसार पिस्ने मेसिन एक थान, थ्रेसर दुई थान, ड्रील मेसिन एक थान, इलेक्ट्रिक मोटर १३ थान, धान मेसिन रिपर दुई थान र पम्पसेट आठ थान वितरण गरेको थियो ।

सो उपकरण लिन नगरपालिका परिसरमा किसानको भीड लागेको थियो । सो अवसरमा नगरप्रमुख कार्कीले कृषि यन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए । कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवालाई कृषिमार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिँदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने युवालाई नगरपालिकाले प्रोत्साहनस्वरुप सहयोग गरिरहेको बताए ।

उनले कृषि उत्पादनको बजार व्यवस्थापनलाई नगरपालिकाले विभिन्न ठाँउमा हाटबजारको समेत व्यवस्था गरेको बताए। नगरपालिकाका कृषि शाखा प्रमुख सिर्जना सुवेदीले किसानका विभिन्न खेतीमा यान्त्रिकीकरणको प्रयोग बढ्दो भएको उल्लेख गर्दै किसानहरुको उत्पादन बढाउन पनि कृषि यन्त्र तथा उपकरणले सहयोग पुर्याएको बताए । नगरपालिकाका किसानले विगत लामो समयदेखि परम्परागतरूपमा तरकारीखेती र धानखेती गर्दै आएका थिए तर पछिल्लो समय व्यक्तिगत लगानीमा खेतमा ट्र्याक्टरको प्रयोग हुँदा खेतीमा लागत सहभागिता महङ्गो भएको थियो ।

रासस
लेखकको बारेमा
रासस