ताजा अपडेट »

नेपालबाटै निवारण भए पनि रुपन्देहीमा अझै कुष्ठरोगी

आइतबार, १८ माघ २०७७, १३ : १५
6 Shares

भैरहवा । नेपालबाटै कुष्ठरोग निवारण भए पनि लुम्बिनी प्रदेशको सबैभन्दा सुगम जिल्ला रुपन्देही अझै पनि कुष्ठरोगकै चपेटामा रहेको छ । देश कुष्ठरोगबाट निवारण भए पनि रुपन्देहीमा अझै पनि कुष्ठरोग निवारण गर्न बाँकी नै रहेको छ ।

२०६६ साल माघ महिनामा नेपाल कुष्ठरोग निवारण भएको देशको रुपमा आफूलाई घोषणा गरेको थियो । सामान्यतः जिल्लामा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम गर्ने लक्ष्य रहेको नेपालले यो लक्ष्य प्राप्त गरि मुलुक कुष्ठरोग निवारण भइसकेको छ । तर रुपन्देहीमा यो दर १ दशमलव १९ रहेकाले कुष्ठरोग निवारण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भनाई छ । राष्ट्रिय स्तरमा यो दर शुन्य दशमलव ६९ रहेकोले नेपाल कुष्ठरोग निवारण घोषणा गरि सकिएको छ । रुपन्देहीमा आर्थिक बर्ष २०७६/०७७ को अन्त्य सम्ममा १ सय २६ जना कुष्ठरोगका बिरामीहरु उपचारमा रहेको स्वास्थ्य कार्यालयका क्षय/कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीले जानकारी दिए । उनले गत आर्थिक बर्षमा १ सय २१ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको बताए । यस्तै चालु आर्थिक बर्षका कार्तिक मसान्त सम्ममा ४६ जना नयाँ बिरामी पत्ता लागी सकेका छन् ।

रुपन्देहीमा पनि सबै भन्दा बढी कुष्ठरोगका बिरामीहरु बुटवल उपमहानगर पालिकामा रहेका छन् । बुटवलमा आर्थिक बर्ष २०७६/०७७ मा २१ जना नया बिरामी पत्ता लागेका थिए । यस्तै तिलोत्तमामा २०, सिद्धार्थनगर नगर पालिकामा १३, सैनामैना नगरपालिकामा १० र देवदह नगरपालिकामा ८ जना नया बिरामी पत्ता लागेका थिए ।

“देश नै निवारण भए पनि रुपन्देही जिल्लाले लक्ष्य अनुसार कुष्ठरोग निवारण गर्न सकेको छ्रैन ।” अधिकारीले भने “यसमा बिरामीहरु खुलेर उपचारमा नआउदा र उनिहरुलाई हुने बिभेद पनि प्रमुख कारकको रुपमा रहेको छ ।” समाजमा अहिले पनि कुष्ठरोगलाई नकारात्मक दृष्टिले हेर्ने र बिरामीप्रति हेलाभाव राखेको कारण बिरामीहरु यस बारे खुल्न नचाहेको अधिकारीको भनाई छ ।
अन्य रोग भन्दा कुष्ठरोगक सर्ने सम्भावना धेरै न्यून रहेको हुन्छ । सर्ने मध्येका ९५ प्रतिशतमा रोग प्रतिरोधी क्षमताको कारण यो रोग सर्न सक्दैन । रोग लागे पनि कसैले ६ महिना र कसैले १ बर्ष नियमित औषधी सेवन गरे यो रोगको जिवाणुलाई समाप्त पार्न सकिन्छ र यसबाट मुक्ती पाउने उपाय रहेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले कुष्ठरोग निवारणको लागी यो रोग प्रतिको भ्रम र डरलाई हटाउन समुदाय र परिवारको मानिसलाई सहि जानकारी हुनु पर्ने आवश्यकता औल्याए । अहिले पनि अज्ञानताका कारण यस रोगका बिरामीहरु खुलेर आउन नसकेको कारण जिल्लामा यो रोग देखिएको उनले बताए । यसको निवारणको लागी कुष्ठरोगका बिरामीलाई स्वास्थ्य सेवा पाईने स्थान र सुविधा बारे सहि जानकारी दिएर समुदायले सहयोग गर्नु पर्ने उनको भनाई छ ।

माईक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग औषधीले निको हुन्छ । बिरामीको लामो समय सम्म सम्पर्कमा रहने ब्यक्तिलाई स्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ । रोग सरेको २ देखी ५ बर्षमा मात्र यसको लक्षण देखिने स्वास्थ्य कार्यालयका क्षय÷कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीले जानकारी दिए । शरिरको कुनै भागमा छुदा थाहा नहुने, फुश्रो वा हल्का रातो दागहरु देखा पर्नु सुरुको चिन्ह हो । यस्तै अनुहार र कानका लोतीमा गिर्खाहरु देखिनु, छाला चम्किलो र बाक्लो हुनु, तथा आँखी भौ झरेर जानु पनि कुष्ठरोगका लक्षण हुन ।

कुष्ठरोग दोश्रो चरणमा प्रवेश गरे स्नायुमा असर पर्न गई हात खुट्टा लगातार झमझम गर्ने, छुदा थाहा नहुने र पछि गएर हातखुट्टाका औला कमजोर भई अन्त्यमा अङ्गभङ्ग हुने सम्भावना रहेको हुन्छ । “त्यसकारण प्रत्येकले आफ्नो शरिर आफै अवलोकन गर्न हमीले सुझाव दिने गरेको छौ ।” अधिकारीले भने “समयमै यस बारे थाहा पाए अङ्गभङ्ग हुन पाउदैन ।”

नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा समेत कुष्ठरोगको औषधी निशुल्क पाईने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यति मात्र हैन उपचार पुरा गरेका बिरामीलाई यातायात खर्च बापत १ हजार समेत सरकारले उपलब्ध गराउने गरेको छ ।

रुपन्देही जिल्लाबाट कुष्ठरोग निवारण गर्न यस बर्ष माघ १८ गते ६८ औं कुष्ठरोग दिवस मनाईदै छ । स्वास्थ्य कार्यालय भैरहवाले “कोरोना महामारीमा हाम्रो संयमता, समय मै कुष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने मूल नारा सहित सचेतना मूलक कार्यक्रम गर्ने जनाएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा