ताजा अपडेट »

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र लुम्बिनी सेमिफाइनलमा

आइतबार, १२ पुस २०७७, १७ : ०९
12 Shares

दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । आईतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । लगातार दुई/दुई खेलमा पराजित भएका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् ।

यता प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफकी ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् । भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । त्यसअघि कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् । बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो पारी खेलिन । यस्तै टोलीका लागि शोभा आले ले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । भने रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ । भने दिनको दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफले लुम्बिनीको सामना गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।