ताजा अपडेट »

‘जातको आधारमा गरिने विभेद् अन्त्य हुनुपर्ने

मंगलबार, ०१ माघ २०७५, १३ : ०९
6 Shares

माघ १,
बुटवल । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले माघे सक्रान्तिको अवसरमा भेट्घाट तथा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । तिलोत्तमास्थित वनवाटिकामा आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बोल्दै जातको आधारमा गरिने विभेद् अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले उँच, निच र जातको कारण कुनै पनि क्षेत्रमा विभेद् नगर्न सबैसंग आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकाले समुदायको विकासका लागि समावेशीपूर्ण ढंगबाट अगाडि बढ्ने समेत उहाँको भनाई थियो । विशेष गरि मगर र थारु समुदायले मनाउने माघेसकराती पर्वलाई सबै समुदायले सद्भावको रुपमा मनाउने भएकाले माघेसकराती पर्वले एकआपसमा मित्रता बढाउने विश्वास व्यक्त गर्नुभयो । साथै मेयर घिमिरेले मौलिक पर्वहरुलाई रचनात्मक ढंगबाट मनाउन पनि सुझाव दिनुभयो ।


नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा नेता झम बहादुर गुरुङ, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष गीता सारु, सचिव कमल थापा, नेपाल मगर बुद्ध सेवा समितिका अध्यक्ष पूर्ण बहादुर थापा, समाजसेवी छत्र दर्लामी लगायतले बोल्दै चाडपर्वलाई आफ्नो मौलिकतासंगै जागरण र चेतना वृद्धि गर्ने अभियानको रुपमा मनाउनु पर्ने धारण राख्नुभयो । चाड भन्ने बित्तिकै खानेपिउने मात्र नभई सकारात्मक रुपमा समाज रुपान्तरणका लागि काम थालनी गर्ने दिन भएको उहाँहरुको धारणा थियो । उपाध्यक्ष लिलमाया राना मगरको स्वागत तथा सचिव टिकाराम पुनको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ लोकदोहोरी कलाकारहरुले आफ्नो प्रस्तुती दिनुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।