ताजा अपडेट »

बन्दाबन्दी खुकुलो भएसँगै पाल्पामा पर्यटकीय चहलपहल बढ्दै

बुधबार, २४ असार २०७७, १६ : १६
8 Shares

रामपुर । कोरोनाको कहरले सुनसान बनेका पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन तथा दर्शन गर्न जाने आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयको बन्दाबन्दीले उकुसमुकुस भएका यहाँका नागरिकको जनजीवन विस्तारै सहज बन्दै गएको देखिएको छ । नेपालकै ताजमहलका रुपमा रहेको रानीमहल दरबार, श्रीनगरडाँडा, भैरवस्थान मन्दिर, अम्रिसो खेतीले परिचित निस्दीको काउलेडाँडा वनमा पछिल्ला दिनमा घुम्न जाने क्रम बढ्दैछ ।

त्यस्तै रामपुर नगरपालिकाको तालपोखरा, रामघाट, राम्चे सामुदायिक बन, ज्याग्दी वन, सिद्धबाबा मन्दिरलगायतका पर्यटकीय तथा धार्मिक क्षेत्र अवलोकन गर्न जाने र रमाउनेको सङख्या बढ्दै छ । त्रेतायुगमा भगवान रामचन्द्रले बनबास जाँदा बसोवास गरेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय नगरी रामघाट क्षेत्रमा हिजोआज अवलोकन गर्नेको सङ्ख्या बाक्लिदै गएको छ । बाहिरी जिल्लामा अन्यत्र आवतजावत गर्ने वातावरण नभएपछि अहिले फुर्सदको समय सदुपयोग गर्दै घुम्न आउनेहरु देखिन थालेका लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।कालीगण्डकीको किनारास्थित रामघाट क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्र विकासका लागि दशवर्षे गुरुयोजना अघि बढाइएको छ ।

पौराणिक महत्वका हिसाबले पनि धेरैले यस क्षेत्रको बारेमा चासो लिँदै अवलोकन गर्नुका साथै जानकारी लिने गरेको अध्यक्ष रेग्मीको भनाइ छ । कालीगण्डकीको किनारमा अवस्थित सिद्धबाबा धाम क्षेत्रमा युवायुवती रमाउन जाने क्रम विस्तारै बढ्दो छ । बन्दाबन्दीको समयमा पनि यहाँ केही पर्यटकको आवागमन देखिन्थ्यो । मन्दिर परिसरको बाहिरी भाग जहाँ काली नदीको शान्त र मनोरम दृश्यावलोकन गर्दै प्रकृतीसँग रमाएर फुर्सदको समयको सदुपयोग गर्न धेरैको रोजाइमा सिद्धबाबाधाम नै पर्ने गरेको छ । अहिले वातावरण खुकुलो हुँदै गएपछि सामान्य अवस्था बन्दै गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष विश्व भट्टराईले बताउनुभयो ।

सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको रामपुरको तालपोखरा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै केही समय बन्द गरियो । अहिले तालपोखराको परिसर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । पछिल्ला केही दिनयता तालपोखरा परिसर तथा पार्कमा रमाउने युवायुवतीको जमघट बढ्दै गएको देखिएको छ । यहाँ हाल दैनिकजसो ५० देखि ६० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।“कोरोनाको जोखिमलाई लक्षित गरी करिब तीन महिना तालपोखराको प्रवेशद्वार नै बन्द गरायौँ,” अध्यक्ष देवकोटाले भन्नुभयो, “बाहिरबाट भए पनि ताल तथा पार्क अवलोकन गर्न आउने र फर्कने गरेको पाइएपछि असार लागेपछि प्रवेशद्वार खुल्ला गरेका हौँ, तर डुङ्गा भने बन्द अवस्थामा छ ।”

पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत आव ०७६÷७७ मा प्राप्त रु २५ लाख बजेटबाट तालपोखराको बाहिरी भागमा करिब पाँच सय ५० मिटर लम्बाइ र दुई मिटर २० सेन्टिमिटर चौडाइसहितको क्षेत्रफलमा टायल लगाउने, मर्मत सम्भारका काम भएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो । उक्त कार्यका लागि रु २८ लाख ८० हजार रकम खर्च भएको छ । समितिको नाममा करिब ६६ रोपनी जग्गामध्ये ४८ रोपनी क्षेत्रफलमा तालपोखरा फैलिएको छ भने पानीको भाग ४४ रोपनी रहेको छ । आव २०७७÷७८ का लागि तालपोखरा पर्यटकीय स्तरोन्नति शीर्षकमा पर्यटन बोर्डबाट रु ५० लाख रकम प्राप्त भएको छ । सो रकम बालबगैँचा, बनभोजस्थल सुधार, विवाहमण्डव बनाउने योजना छ । समितिको गुरुयोजनाअनुसार करिब रु तीन करोड जति यसको स्तरोन्नति तथा विकासमा खर्च लाग्ने अनुमान छ ।

वर्षादको पानी जम्मा हुने सामान्य पोखरीलाई तालको रुपमा विकास गर्न विसं २०६६ पुस ११ गते देखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरियो । सो महायज्ञमा जिन्सी र नगद गरी रु एक करोड ७२ लाख सहयोग सङ्कलन भएपछि फागुनबाट तालपोखराको विकासको काम शुरु गरिएको हो । वर्षायाम सकिएलगत्तै पोखरीको पानी सुकाएर चारैतिर चार सय ५० मिटर क्षेत्रफलमा पर्खाल लगाउने योजना छ । पर्यटकीय तथा धार्मिकस्थल राम्चे सामुदायिक वनको रमणीय वातावरणसँग रमाउन जाने दिन प्रतिदिन बढ्दैछन् । गत चैत ११ गतेदेखि जेठ मसान्तसम्म अवलोकनका लागि बन्द गरिएको भ्युटावर असार लागेपछि खुल्ला गरिएको छ ।

यहाँको भ्युटावरबाट रामपुर बजारसहित कालीगण्डकी उपत्यकाका दृश्यावलोकन गर्न पाइने भएपछि फोटो खिचाउने र सुन्दर प्रकृतिसँग रमाउने आउने क्रम बढ्न थालेको बन समूहका सचिव राधिका भण्डारी बताउनुहुन्छ । यसका लागि यहाँ प्रतिव्यक्ति रु दश प्रवेश शुल्क रहेको छ । भ्युटावरका साथै यहाँ पानीको फोहरा, फूल बगैँचासहितको क्यारी, भ्यु टावरसम्म पुग्ने सडकमा सिँढी निर्माण, वनभोजस्थलका लागि तीनवटा ट्रस्ट, सडकको स्तरोन्नति गरिएको छ । चार सय मानिस अट्ने क्षमताको सभाहल पनि यो आयोजनामा छ ।

यहाँ मृग, खरायो, कालिज, चितुवालगायतका वन्यजन्तु, चराचुरुङ्गीसँग रमाउने र मनलाई आनन्दित पार्ने गर्छन् । बेझाड बजार नजिकै रहेको यस क्षेत्रमा गर्मीयाममा शीतल हावासँग रमाउन सबै उमेर समूहका पुग्ने गर्छन् । कालीगण्डकी किनारको तटमा रहेको ज्याग्दी वनमा यस क्षेत्रमा नै आकर्षकका रुपमा निर्माण हुँदै गरेको पर्यटकीय संरचना हेर्न जाने बढिरहेका छन् । कालीगण्डकीको मनोरम दृश्यावलोकन गर्दै सुन्दर प्राकृतिक वातावरणमा रमाउने र विशेषगरी यहाँ निर्माण गरिएको काठको पुल आकर्षकको पुलमा रहेको छ ।

जनजीवन सामान्य बन्दै

कोरोनाको कहरले लामो समयसम्म बन्दाबन्दी हँुदा नागरिकको जनजीवन कष्टप्रद बन्यो । व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सवारीसाधन, बजार ठप्प हुँदा नागरिकले बन्दाबन्दीको समयमा निकै समस्या भोग्न बाध्य भएका थिए । अहिले विस्तारै बन्दाबन्दी खुकुलो हँुदै जाँदा दैनिक जीवनयापन सहज बनेको छ । नागरिकहरु आ–आफ्नै पेशा तथा व्यवसायमा विस्तारै फर्कन थालेका छन् । आयस्रोत जुटाउने तथा जीविकोपार्जन कार्यमा नागरिकको दिनचर्या बित्ने गरेको छ । श्रमिक मजदूर सडक तथा भवन निर्माण, सडक, नाली निर्माणलगायतका विभिन्न कार्यमा सक्रिय बन्न थालका छन् ।

बन्दाबन्दी खुकुलो हुन थालेपछि लामो समयसम्म ठप्प रहेका व्यापार व्यवसाय पुनःसुचारु भएका छन् । तीन महिनासम्म बन्द रहेको व्यवसाय वातावरण खुकुलो हँुदै गएपछि सुचारु गरिएको नमस्ते होटल पाल्पाका सञ्चालक कमल पाण्डेय बताउनुहुन्छ ।“वातावरण खुकुलो बन्दै जान थालेपछि ग्राहकले नै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेपछि पुनःसुचारु गरियो, व्यापार पहिलेको तुलनामा अत्यन्तै कम छ तर दिनप्रतिदिन विस्तारै बढ्दै भने गएको छ” – सञ्चालक पाण्डेयले भन्नुभयो ।

सीमा नाका खुकुलो

प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पा र स्याङ्जा जिल्लाको विभिन्न सीमा नाकामा आवतजावत सहज पारिएको छ । कालीगण्डकी नदी वारपार गर्ने सबैजसो झोलुङ्गे पुलमा बन्दाबन्दीका समय मानिसलाई आवतजावत गर्न नमिल्ने गरी लगाइएको बार अहिले मानिस वारपार गर्न मिल्ने बनाइएको छ । पुलबाट सहज रुपमा वारपार गर्न पाएपछि खेतीपाती लगाउन जान, मेलापात गर्न तथा अन्य प्रयोजनका लागि पनि सहज भएको छ ।

कृषि उत्पादनको ढुवानी सहज

पछिल्लो समयमा नेपाल सरकारले बन्दाबन्दीमा केही खुकुलो नीति लिएसँगै तरकारी, फलफूल, अण्डा, दूध ढुवानी गर्न सजिलो परेको छ । निर्वाध रुपमा कृषकले आफूले उत्पादन गरेका वस्तु बजारमा सजिलैसँग बिक्री गर्न पाएपछि खुशी छन् । ढुवानीकै समस्याले बजारमा दूध बिक्री गर्न नपाएर भँैसीलाई नै दूध खुवाउन बाध्य भएको रामपुरका भैँसीपालक किसान नरनारायण अर्यालले बताउनुहुन्छ । अहिले फार्ममा उत्पादन भएको दूध सजिलै बजारमा पु¥याउन पाउँदा उहाँ र यहाँका अरु सबै किसान खुशी हुनुहुन्छ ।

बन्दाबन्दी खुकुलो भएसँगै अण्डाले बजार पाएको रामपुर एग्रो सेन्टरका सञ्चालक भुवन अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, –“पहिला बिहान साँझ नगरपालिकाले तोकेको समयमा मात्र बिक्री गर्नुपर्दा सबै ग्राहक समक्ष पु¥याउन पाइँदैनथ्यो र उनीहरुले माग गरे अनुसार भन्ने वित्तिकै पु¥याउन नसक्दा समस्या थियो, अहिले बिक्री गर्ने वातावरण धेरै सहज बनेको छ ।”कोरोना भाइरस सङ्क्रमण ९कोभिड १९० को जोखिम बढ्दै गएका अवस्थामा यहाँका सर्वसाधारणले घरबाट बाहिर निस्कदा स्यानीटाइजर र मास्कको प्रयोगलाई निरन्तरता दिएका छन् । पछिल्ला दिनहरुमा बन्दाबन्दी खुकुलो भएसँगै सर्वसाधारणहरुले पनि आफ्नो दैनिकीलाई सहज बनाउने प्रयत्नमा छन् । त्यस्तै सेवा क्षेत्रका व्यवसायीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने विषयमा ध्यान दिएको देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।