काठमाडौँ । सरकारले अर्थविद् डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैङ्कको१८औँ गभर्नरका रूपमा नियुक्त गरेको छ। मङ्गलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णाय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी गराएका हुन ।
आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । समितिबाट पौडेलसहित कामु गभर्नर निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरिएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । राष्ट्र बैङ्कमा डेढ महिना देखि गभर्नर पद रिक्त थियाे । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच पौडेललाई गभर्नर बनाउने पूर्व सहमति भएसँगै समितिको बैठक बसेको थियो। समितिबाट नाम सिफारिस भएसँगै मन्त्रिपरिषद्ले आजै गभर्नर नियुक्तिलाई टुंग्याएको हो।
यो बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अगाडी सारेका थिए । सत्ता साझेदार दलको लामो खिचातानी पछि अन्ततः गभर्नर नियुक्ति हुन सकेको हो ।
को हुन् विश्व पौडेल ?
२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा डा. विश्व पौडेलको जन्म भएको हो । उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गरेका छन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएर समेत काम गरेका थिए ।
त्यस्तै, उनले कोलम्बो प्लान काउन्सिलको अध्यक्ष पनि भएर समेत काम गरीसकेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए ।
प्रतिक्रिया