ताजा अपडेट »

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी

आइतबार, १९ चैत्र २०७९, १७ : २२
6 Shares

सिरहा। सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसईई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ । १७ चैतबाट देशैभर सञ्चालनमा रहेको एसईईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएको पाइएको हो ।

निजी विद्यालयले सरोकारवाला निकायसँगको आर्थिक सेटिङमा एसईईमा चिट चोरी गराउने गरेका छन् । जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सबैलाई आर्थिक प्रभावमा पारेर परीक्षामा चोरी गराएको पाइएको छ । जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापक मात्रामा चिट भेटिएको छ । आइतबारको गणित विषयको परीक्षा सकिएलगतै पुगेको सञ्चारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा चिट फेला पारेको छ । 

यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया  लिँदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्याप बनाएको पाइएको बताए । उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन,  मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुईजना विद्यार्थीले चिटसमेत तयार पार्दै गरको पाइएको थियो । अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कारबाही सिफारिस गर्दै छु ।’

केन्द्राध्यक्ष दासले सबैैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भाव नै नभएको बताए । परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग चिट बनेको छ ।  यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो इंग्लिस बोर्डिङ स्कूल, मनोकामना इंग्लिस बोर्डिङ स्कूल, प्यारागन इंग्लिस बोर्डिङ स्कूल, शारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ । 
यहाँ जम्मा २२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । ६ वटा कक्षा कोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए । 

त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष राम ईश्वर यादवले बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आफैँले मोबाइल दिने गरेको पाइएको छ । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा निजी विद्यालयको आर्थिक सेटिङमा मोबाइलको माध्यमबाट चिट चोरी भएको छ । सो केन्द्रमा जिल्लामा नाम चलेका निजी विद्यालयहरु सिरहा पब्लिक, बुढा निलकण्ठ, बालविकास आवासीय माध्यामिक विद्यालय, द डायनामिक सेकेन्ड्री इ.वोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयको परीप्क्षा सेन्टर रहेको जनाइएको छ । 

यो दुई विद्यालय मात्र नभई गोलबजार ८ स्थितको जनता माध्यमिक विद्यालय चोहर्वा ,जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डा , सरस्वती माध्यमिक विद्यालय जम्दह, नमुना माध्यमिक विद्यालय गोलजार–४ लगायतका परीक्षा केन्द्रहरुमा पनि व्यापक चोरी भएको पाइएको छ । यी सबै परीक्षा केन्द्रहरुबाट परीक्षा सुरु भएको ५ मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको थियो । जमावि चोहर्वामा परीक्षा सुरु गरेको ५ मिनेटनमै मोबाइलको माध्यमबाट प्रश्नपत्र आउट भएको हुन सक्ने एकजना शिक्षकले बताए । उनले भन्ने, ‘निजी विद्यालयहरुले केन्द्राध्यक्षको सेटिङमा मोबाइल र फल्याप समेत चलाउने गरेकोले यसमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेका छन् । 

प्रश्नपत्र आउट भएको सूचना पाएलगतै केन्द्राध्यक्षले परीक्षा हलभित्रै सर्च गरेपछि परीक्षार्थीबाट  चारवटाभन्दा बढी मोबाइल बरामद गरेका थिए । यता जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामवृक्ष महतोले मोबाइल र फल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको छु ।  उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फल्याप पाएनौँ, पाइए काडा कारबाही गर्ने छौँ ।’ 

योवर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी १७१ विद्यालयबाट चार हजार ६९२ छात्रा र पाँच हजार ४५८ छात्रसहित १० हजार ६५० विद्यार्थी सहभागी भएका छन् । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट ३४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।