ताजा अपडेट »

ज्येष्ठ नागरिक हाम्रा ‘मार्गदर्शक’

शनिबार, २१ माघ २०७९, ०६ : ००
16 Shares

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यले विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ भनी लेखिएको पाइन्छ । ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६१ अनुसार ६५ वर्षमाथिका ब्यक्तिलाई नेपालमा ज्येष्ठ नागरिक भनिन्छ ।

प्रत्येक वर्ष अक्टोबर १ तारेखलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने चलन छ । सन् १९९१ देखि यो दिवस निरन्तर विविध कार्यक्रमका बीच मनाउने परम्परागत चलन कायमै छ । जनगणना २०६८ का अनुसार नेपालमा ६५ देखि सय वर्ष भित्रका नेपाली नागरिकको संख्या १३ लाख ९७ हजार ५ सय ५३ रहेको भेटिन्छ । अर्थात् राज्यमा ८ दशमलव १ प्रतिशत् ज्येष्ठ नागरिक छन् ।

ज्येष्ठ नागरिकलाई विभिन्न उपमा दिइन्छन् । उनीहरु देशका जिउँदा इतिहास हुन् । राज्यका गहँना हुन्, हाम्रा असल अभिभावक हुन् । आस्थाका केन्द्र हुन् । सिकाइका प्रतिविम्व हुन् । उल्लेखित उपमा अनुसार ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा, सुरक्षा, खानपान तथा स्नेह प्रदान भएका होलान् कि नाइँ ? नेपाल सरकारले स्वास्थ्यकर्मीहरुलाई ज्येष्ठ नागरिकहरुका घरदैलामा पुगेर स्वास्थ्य सेवा दिने भनेकै छ । उनीहरुलाई घरदैलामा पुगेर आधारभूत स्वास्थ्य सेवा दिनु, स्वास्थ्य संस्था र स्वाथ्यकर्मीहरुको नैतिक दायित्व हुन आउँछ ।

उमेर ढल्दै जाँदा शरीरका अंगहरुले काम कम गर्दै जान्छन् । उमेर अनुसारका पोषिला खाना, सेवा, सुविधा बढी चाहिन थाल्छन् । त्यतिबेला भौतिकमात्र होइन मानसिक तथा मनोवैज्ञानिक साथ र सहयोगको खाँचो पर्छ । माया, ममता, स्नेहको जरुरत पर्छ । उमेर पुगेपछि हिँडडुल गर्न सहारा चाहिन्छ । खान, बस्न र सुत्न पनि सहयोगको खाँचो पर्न सक्छ । त्योभन्दा पनि उनीहरुका कुरा सुन्ने मानिस चाहिन्छ । उनीहरुले अह्राउँदा सुन्ने ब्यक्ति नजिकै हुनुपर्छ । छिनछिनमा खान मन लाग्छ, चिसोतातो बस्तुको खाँचो पर्छ त्यतिबेला झिझो मान्नु हुँदैन ।

तर अहिले ज्येष्ठ नागरिकहरुलाई वृद्धाश्रम पुराइएको छ । ज्येष्ठ नागरिक केन्द्रमा लगेर छाडिएका छन् । छोराछोरी घरमै भएर पनि उनीहरुका गुनासामा बतास लगाइएका छन् । आफूले खानेबेला बाहेक अरुबेला सोधनीपुछनी भएका छैनन् कतिपयका । बिरामीहुँदा स्वास्थ्यकेन्द्र लगिएका छैनन् । सधैं स्वास्थ्यकर्मीहरु पनि नपुग्न सक्छन् । वृद्धाका विरह सुन्नेहरु परदेशिएका छन् । उनीहरुलाई कुर्ने मानिसहरुको अभाव हुँदै गएका छन् । गाउँघर छाडेर शहर जानेहरुले ज्येष्ठ नागरिकहरुलाई उतै प्यारो भो शहर आउन मानेनन् भनेर ढाँटिरहेका छन् होला । उमेर ढल्केकाहरुले (ज्येष्ठ नागरिकहरु) पनि घाँस, दाउरा अनि आफ्नो स्याहार आफै गर्नुपरेको यथार्थता नौलो होइन ।

ज्येष्ठ नागरिकका अनेकन समस्याहरु होलान् र छन् पनि । तिनका समाधान राज्यले मात्र गरेर सम्भव होला, नहोला तर पनि घरपरिवारले बेसी ध्यान दिनुपर्ने देखिन्छ । ज्येष्ठ नागरिक दिवसमा मात्र होइन अन्य समयमा समेत उनीहरुका समस्याहरु सुनिदिने, गुनासालाई सम्बोधन गरिदिने हो भने पनि ज्येष्ठ नागरिकहरुका दीर्घायूपना बढ्न सक्छ ।

२०५१ सालको मनमोहन सरकारले ज्येष्ठ नागरिक (उतिबेला ७५ वर्षदेखि)लाई सय रुपैयाँ सुरक्षा भत्ता दिन थालेको थियो । यो भत्ताको रकम अहिले चार हजार पुगेको छ । गत आर्थिक वर्षदेखि शेरबहादुर देउवा सरकारले ६८ वर्ष उमेरकालाई भत्ता दिन थालेको छ ।

ज्येष्ठ नागरिकहरुलाई उक्त भत्ता लाख भएको छ । कतिपयले आफ्नो जीवन सहजै गुजारेका छन् । कतिपयले छोरीज्वाइँलाई टीकाटालो गर्न भ्याएका छन् । कतिपयले आफ्ना नातीनतिनाहरुलाई खाजा खर्च दिन पुराएका छन् । कतिपयले उक्त भत्तालाई तीर्थव्रत गर्ने स्रोत बनाएका छन् । कतिपयका लागि ओखतीपानी गर्ने माध्यम बनेको छ । जे होस्, हामी स्वास्थ्यकर्मीहरुले राज्यका गहँना, इतिहास, प्रतिविम्व भनेका ज्येष्ठ नागरिकहरुलाई सक्दो रुपमा सहयोग गर्न उनकै घरदैलामा पुगेर स्वास्थ्य परीक्षण गरेका छौं । आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध र विरामीको आवश्यकताका आधारमा ओखतीपानी गरेका छौं । उनीहरुका स्वास्थ्य समस्यालाई सम्बन्धित निकायसम्म पुराउन सहजीकरण गरेका छौं । उनीहरुलाई स्नेहभावले स्वास्थ्य सेवा दिन पाएकोमा गर्वानुभूति हुन्छ ।

त्यसो गरिरहँदा हामीले आफ्नो जिम्मेवारी अतुलनीय ठान्छौं । कर्तव्यबोध अनुभव गछौैं । देश र ज्येष्ठ नागरिकप्रतिको भक्तिभाव अनुभूत गर्दछौं । उनीहरुका गतिला सिकाई र अनुभवहरुलाई राज्य निर्माणका लागि अमूल्य सम्पत्ति हुन सक्छ भन्ने महसुस् गर्दछौं । ज्येष्ठ नागरिक बोझ होइनन् बरु उनीहरु हाम्रा मार्गदर्शक हुन् । उनीहरुको सम्मानले हाम्रो गौरव बढाउने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।