ताजा अपडेट »

ब्रिटिस म्यानेजमेन्ट कलेजको मनायो दोस्रो वार्षिकोत्सव

शुक्रबार, २९ पुस २०७९, १७ : ३८
24 Shares

बुटवल । बुटवलमा रहेको ब्रिटिस म्यानेजमेन्ट कलेजले दोस्रो वार्षिकोत्सवको अवसरमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । संस्थापक अध्यक्ष डा.शालिकराम पौड्यालको अध्यक्षता, बुटवल बहुमुखी क्याम्पसका डा. सूर्य रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजबाट एसिसिएमा नेपाल दोस्रो हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

त्यस्तै एसिसिएको विभिन्न तह सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरुलाई खादा, माला र टीका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा वार्षिकोत्सवका सन्दर्भमा आयोजित चेस, क्यारेम, फुटसल लगायतका खेलमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ब्रिटिस म्यानेजमेन्ट कलेजले बुटवलमा व्यावसायिक विषय एसिसिएको पठनपाठन सुरु गरेर उद्यमशील जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गरेको भन्दै डा. सूर्य रानाले बधाई ज्ञापन गरे । एसिसिए व्यावसायिक विषय भएको र यसको अध्ययनले व्यक्तिलाई रोजगारी र स्वरोजगारीको अवसर प्रदान गर्ने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, प्रहसन लगायतका विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । कलेजका सञ्चालक रोशन नेपालले स्वागत गर्दै बुटवलमा व्यावसायिक शिक्षा दिने उद्देश्यबाट यस क्षेत्रका शैक्षिक व्यक्तित्वहरुको पहलमा एसिसिए र सिएको पढाइ सुरु गरेको र यसले सक्षम जनशक्तिको उत्पादन हुने विश्वास व्यक्त गरे । सञ्चालक प्रकाश कंडेल र कपिल चापागाईले बधाई ज्ञापन गर्दै व्यावसायिक शिक्षामा एसिसिएको पढाइले योगदान दिएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन व्यवस्थापक सुशील कुंवरले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।