ताजा अपडेट »

रातिमा दम्पत्ति सँगै नसुत्न र चुम्बन नगर्न उर्दी

विहीबार, २४ चैत्र २०७८, १३ : ५२
10 Shares

सांघाइ । कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।

सांघाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ । सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । 

सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् ।चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।

ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध  पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ । 

यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि  जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन ।  अंगालो हाल्न अनुमति छैन ।  छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।