ताजा अपडेट »

चिसो बढेसँगै देशैभर वायुप्रदूषण उच्च, पोखरामा धेरै

विहीबार, २० माघ २०७८, १३ : ४१
10 Shares

काठमाडौं । लगातार न्यूनतम तापक्रममा कमी आएसँगै पछिल्लो सातादेखि देशैभरको वायुप्रदूषणको उच्च बन्दै गएको छ। वातावरण विभागका अनुसार बिहीबार पोखराको वायु प्रदूषण सबैभन्दा उच्च छ ।

विभागको तथ्याङ्क अनुसार देशैभरको वायु प्रदूषणको दर उच्च हुँदा वायु गुणस्तरमा कमी आएको छ । पोखरामा २१२, भरतपुर १९८, दाङ १६६, नेपालगञ्ज १६५, सुर्खेत १६४, संखपार्क १६३ र सिमरा १५७ माइक्रोग्राम प्रति घनमिटर बिहीबार मापन भएको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले भने २५ माइक्रोग्राम प्रति घनमिटरसम्मलाई अन्तराष्ट्रिय मापदण्ड तोकेको छ ।

वातावरण विभागको तथ्याङ्क अनुसार पार्टिकुलेट म्याटर २.५ माइक्रोनको धुलोको प्रदूषण २४ घण्टामा पोखरामा २१२ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यस हिउँदमा पोखरा क्षेत्रको वायु प्रदूषणको दर उच्च भएको छ । अन्य समयमा तराईका मुख्य शहरहरुमा वायु प्रदूषणको दर उच्च हुने गरे पनि यस वर्ष भने पोखराको वायुप्रदूषणको दर मानव शरीरका लागि अति नै हानिकारक भएको हो । देशका अन्य शहरहरुको वायु पनि हानिकारक रहेको पाइएको छ ।

पछिल्लो साता न्यूनतम तापक्रममा कमी आएसँगै वायु प्रदूषण पनि उच्च भएको हो । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस थियो । यता सबैभन्दा कम जुम्लामा ०.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

वायुको गुणस्तर स्वास्थ्यका लागि अति हानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवस्यकता विना बाहिरी क्षेत्रमा हिँडडुल नगर्न अनुरोध गरेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।