ताजा अपडेट »

चीनका राष्ट्रपति सी जिनपिङ सोल्टी होटलमा, राष्ट्रपति भण्डारीद्वारा रात्रीभोज

शनिबार, २५ असोज २०७६, २० : ५३
4 Shares

असोज २५ ,

काठमाण्डौं । चीनका राष्ट्रपति सी जिनपिङ एक रात बास बस्ने र काठमाडौंमा उनले सबै भेटवार्ता गर्ने तय भए अनुसार यतिबेला सोल्टी होटलमा बसेका छन् । दुई दिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार अपराह्न नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङको स्म्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गरेकी छन् ।

होटल सोल्टी प्लाजामा आयोजित रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विशिष्टि व्यक्तिहरुलाई निम्ता दिइएको छ । रात्रिभोजमा सीमित उद्योगी व्यवसायी पनि निम्त्याइएका छन् ।सीसँग रात्रिभोजमा सरिक हुन पाउने नेपाली व्यापारीहरुमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकाल, उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहभागी हुने भएका छन् ।

राष्ट्रपति कार्यालयले परिसंघका अध्यक्ष सतिस मोरलाई पनि निम्ता पठाएको थियो । तर, मोर हाल भारतमा रहेकाले उनी सहभागी हुने छैनन् । नाम चलेका व्यवसायीमध्ये विनोद चौधरी, राजेन्द्र खेतान र अजय सुमार्गीलाई भने रात्रिभोजमा बोलाइएको छैन ।

होटल पूरै खाली गरेर ७ स्वीट र २८२ रुम चिनियाँ टोलीलाई

चीनका राष्ट्रपति सी चिनफिङ एक रात बास बस्ने र काठमाडौंमा उनले सबै भेटवार्ता गर्ने तय भएको सोल्टी होटल चिनियाँ पक्षले पूरै रिजर्भ गरेको छ।सोल्टीको व्यवस्थापन स्रोतले जनाएअनुसार होटलका सात वटा स्वीट रुम, २ सय ८२ वटा अन्य रुम र क्यासिनो समेत बुक गरिएको छ। नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा राष्ट्रपति सीले अधिकांश समय यही होटलमा बिताउने छन्। सीको पहिलो नेपाल भ्रमणमा आउने चिनियाँ प्रतिनिधिमण्डल ९० सदस्यीय हुने बताइएको छ।

‘होटलका स्वीटसहित सबै रुम बुक भएका छन् र क्यासिनो समेत तीन दिनका लागि चिनियाँ पक्षले भाडामा लिएको छ’, सोल्टी व्यवस्थापका एक अधिकारीले भने, ‘होटलमा भएका गेष्टहरूलाई अन्यत्र व्यवस्थापन गरेर चिनियाँ प्रतिनिधिमण्डलका लागि पूरै खाली गरिएको हो।’शुक्रबारदेखि नै बन्द गरिएको क्यासिनो सी आउने दिन शनिबार र आइतबार पनि बन्द रहने छ। होटलभित्र रहेका सबै पसलहरु तीन दिन बन्द रहने छन्।

‘सोल्टी होटलमा करिब एक महिनादेखि नै चिनियाँ सुरक्षाकर्मी र अन्य सरकारी अधिकारी रहँदै आएका छन्’, नेपाल प्रहरीका एक अधिकारीले भने, ‘अहिले त सुरक्षाका कारण पनि होटल लगभग सिल गरिएको छ, चिनियाँ र नेपाली सरकारी अधिकारी बाहेक अन्यलाई सामान्यतः प्रवेश नै छैन।’

सोल्टीको रिगल स्वीट ग्रुपमा सात वटा रुम छन्– फेवा, रारा, गोसाइकुण्ड, रुपा, बेगनास, फोक्सुण्डो र तिलिचो। जसमा राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डलका उच्च नेता र मन्त्रीहरू बस्नेछन्।स्वीट रुममा किचेन, सुरक्षागार्ड, बैठक र मास्टर बेडरुम रहेका छन्।नेपाल आउने अधिकांश विशिष्ट पहुना सोल्टीका यिनै स्वीटमा बस्ने गरेका छन्। यसअघि बेलायतकी महारानी एलिजावेथ द्वितीय, राजकुमारी डायना यहीं बसेका थिए।‘एउटा स्वीटको एक रातको मूल्य १८ सय अमेरिकी डलरसम्म रहेको छ, १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट थपिन्छ’, सोल्टीका ती अधिकारीले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।