ताजा अपडेट »

सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सोमबार, २९ कार्तिक २०७८, १३ : ११
6 Shares

जुम्ला । पछिल्लो समयमा जुम्लामा मधुमेहका बिरामी बढेका छन् । जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सहरिया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेह फैलिएको बताए । ‘मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। यसलाई नियन्त्रणमा नराखे दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ,’ उनले भने ।

‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले’ भन्ने मूलनाराका विश्व मधुमेह दिवसको अवसरमा आइतबार जनस्वास्थ्य सेवा कार्यालयले जुम्ला बजारमा एक सय ८८ जनाको मधुमेह परीक्षण गरेको थियो । जसमध्ये २६ जनामा मधुमेह भेटिएकोमा सातजनाले परीक्षण गरेर औषधि खाँदै गरेको र १९ जनाले कुनै थाहा नभएको जनाएका थिए ।

‘यो एकदिने तथ्यांकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छन् भन्ने देखाउँछ । मधुमेह नियन्त्रण गर्न जरुरी छ,’ उनले थपे, ‘समयमै परीक्षणको दायरामा नआएमा यसले जटिल अवस्था निम्त्याउन सक्छ ।’ ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले मधुमेह देखिन थालेको चिकित्सकहरूको भनाइ छ । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ । 

ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन् । खानपानमा परिवर्तन, माछामासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको सापकोटाले बताए । ‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ,’ उनले भने, ‘जो गाउँमा बस्नुहुन्छ, सबैले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्‍याे ।’

जुम्लामा ४० वर्षदेखि माथि उमेर समूहमा बढी मधुमेहको समस्या देखिएको छ । घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सापकोटाकोे सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनले बताए  । ‘खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ,’ सापकोटाले भने । मधुमेह भएपछि खानपान, व्यायाम र औषधिको सहायताले सुगर (चिनी) लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनको भनाइ छ । 

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत गर्दैनन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन, यसले मधुमेह बनाउँछ ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।