ताजा अपडेट »

नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन

आइतबार, ०३ असोज २०७८, १६ : ४६
8 Shares

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (मसाल) प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत उनको आईतबार १०४ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको बताएका छन् । खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउदै महामन्त्री सिंहले एक सच्चा, निडर आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अबिचलित योद्वाको रुपमा स्मरण गरेका छन् ।

वि.सं. २००७ सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल विसं २०१० मा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक संस्थापक सदस्य हुन् । नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेका थिए ।

खगुलाल २०१५ सालको आमनिर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाब लडेका थिए ।

त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४ मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपुर्ण भुमिका खेलेका थिए । विसं १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल गौमुखि गाउँपालिकाको रजवारामा) जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

गतवर्ष लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट गुरुङलाई सम्मान गरेको थियो । उनी आफै वितरण समारोहमा पुगेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलबाट पदक लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।