Mar 28, 2023
न्युयोर्क (अमेरिका)। न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ। परिवारिक स्राेतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्। उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए।
स्रोतका अनुसार, उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो। लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ। मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आएका थिए।
‘अकल्पनीय घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा हामीलाई निकै दुख लागिरहेको छ ’ आङ गेलु लामाका दाइ लातेन लामाले बताउनुभयाे। न्युयोर्कमा परेको अविरल वर्षाका कारण एक दर्जन भन्दा बढीको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको छ।
यसैबीच, न्युयोर्कस्थित शेर्पा किदुंगले मृतक लामाको परिवारको दुखद निधनप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गरेको छ। अमेरिकास्थित नेपाली दूताबासले भने यस विषयमा न्युयोर्क आधिकारीक जानकारी गराएकाे छैन। स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीकाे मृत्यु भएकाे समाचार प्रकाशित गरेकाे छ।
प्रतिकृया दिनुहोस्